८ वैशाख २०८१ शनिबार
समाज

बारा घटना : चालक राउतको नाममा करोडौं सम्पत्ति

जीप चालक नारायण राउत कुर्मी।

बारा - बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल सवार जीप चालक अहिले ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा छन्। उनले चलाएको जीप दुर्घटनामा सीडीओ भट्टराई र एसपी पोखरेलको ज्यान गएको थियो। तिनै चालक नारायण राउत कुर्मीकी पत्नी प्रेमशीलादेवीको नाममा करोडौंको घर र जग्गा रहेको खुल्न आएको छ। 

सविक ब्रह्मपुरी १ हाल कलैया उपमहानगरपालिका १७ निवासी कुर्मी सीडीओको गाडी चालक हुनुअघि अन्यत्र पनि चालक नै थिए। उनले सीडीओको गाडी चलाउन थालेको २३ वर्ष भयो। यस अवधिमा उनले पत्नी र आफन्तको नाममा २५ करोडभन्दा बढीको सम्पत्ति जोड्न सफल भएका त्यहाँका स्थानीयले बताएका छन्। उनलाई नजिकबाट चिन्नेहरूले उनले आर्जन गरेको सम्पत्ति जिल्ला प्रशासन कार्यालयको चालक भएपछि कमाएको बताउँछन् । कुर्मीले श्रीमती प्रेमशीलाको नाममा कलैया, उत्तरझिटकैया र ब्रह्मपुरीमा गरी करोडौं मूल्य पर्ने घडेरी र खेत किनेको फेला पर्न आएको छ।

प्रेमशीलाको नाममा साविक कलैया ६ हाल कलैया उपमहानगरालिका १ मोतिबाघमा १२७८ कित्ताको ४ धुर रहेको फेला परेको छ । त्यस्तै कलैया बजार क्षेत्रबहिर रहेका साविक ब्रह्मपुरी २ हाल कलैया उपमहानगपालिका १७ ब्रह्मपुरीमा १ सय ३१ कित्ताको ३ कट्ठा १० धुर, ४ सय ८३ कित्ता २ कट्ठा , साविक वडा नम्बर ३ मा १ सय २२ कित्ताको ७ कट्ठा १५ धुर, १ सय ३४ कित्ताको १२ कट्ठा १० धुर, २ सय ६४ कित्ताको ३ कट्ठा , १ सय ८९ कित्ताको ५ कट्ठा ५ धुर, जग्गा पत्नी प्रेमशीलादेवीको नाममा भेट्टाइएको छ। त्यसैगरी सविक उत्तरझिटकैया १ हाल कलैया १६ झिटकैयामा ८८ कित्ताको १४ कट्ठा १० धुर जग्गा रहेको पनि फेला परेको छ।विभिन्न स्थान र कित्ता नम्बर गरेर प्रेमशीलाको नाममा अढाई बिघा जग्गा फेला परे पनि चालक कुर्मीले अन्य जग्गा आफन्तको नाममा राखेका जानकारहरू बताउने गर्छन्।

‘एउटा प्रमुख जिल्ला अधिकारीको चालकले कुन काम गरेर यत्तिको पैसा कमाउन सक्छ ?’ बारामा भर्खरै आएका प्रजिअ पौडेलले भने, ‘राउतको सम्पत्तिको छानबिन हुनुपर्छ ।’

माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया फर्किंदै गर्दा पूर्वपश्चिम राजमार्गको पसाहा पूल नजिक चालक कुर्मीले चलाएको सवारीमा परी सीडीओ भट्टराईको घटनास्थलमै ज्यान गएको थियो भने एसपी पोखरेलको उपचारका क्रममा निधन भएको हो।

जीप चालक नारायण राउत कुर्मी।
जीप चालक नारायण राउत कुर्मी।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App