coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बम्जन प्रकरण : प्रहरी अनुसन्धान अझै निष्कर्षमा पुग्न सकेन

सिन्धुलीस्थित कमलामाई नगरपालिका ८ पैरेमा रहेको बम्जनको आश्रम। तस्बिर : अनिल/नागरिक

सिन्धुली - आफुलाई तपस्वी बताउने रामबहादुर बम्जनकाे विभिन्न जिल्लामा रहेका आश्रमबाट आफन्तहरु हराएको भन्दै जाहेरी परेपनि प्रहरीले हालसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन। अनुसन्धान सुरु गरेको झन्डै डेढ महिना बढी भइसक्दासमेत प्रहरीले ठोस निष्कर्ष निकाल्न नसकेको हो। बम्जनको आश्रमबाट हालसम्म पाँच जना बेपत्ता भइसकेको खुल्न आएको छ।

बम्जनको आश्रमबाट हेटौडा उपमहानगरपालिका १४ मकवानपुरका सञ्चलाल वाइवा, हेटौडाकै फुलमाया रुम्ब, जितपुर सिमरा उपमहानगरपालिका बाराका सुरेश आले, सर्लाही बागमतीकी रीता बोट र नुवाकोटकी कर्मा तामाङ हराइरहेको भन्दै विभिन्न जिल्लामा जाहेरी आफन्तले दिएका छन्। जाहेरी दिएको दुई महिना वित्न लाग्दा समेत प्रहरीले ठोस निष्कर्ष र प्रमाण निकाल्न सकेको छैन।

बम्जनबाट आश्रममा बस्ने आनीहरुमाथि यौनहिंसा भएको तथा आश्रमबाटै अनुयायीहरु बेपत्ता पारेको आरोप लागेसँगै उनी सार्वजनिक नभएका हुन्। बम्जन सार्वजानिक नभएपनि सिन्धुलीकै आश्रममा रहेको उनका अनुयायीहरु बताउँछन्।

सञ्चलाल, फुलमाया र कर्मा सिन्धुपाल्चोकबाट २०७१ सालदेखि हराइरहेको भन्दै सिन्धुपाल्चोक नुवाकोट र मकवानपुर प्रहरीमा आफन्तले जाहेरी दिएका छन्। यस्तै रीता बोटको जिल्ला प्रहरी कार्यालय सर्लाही र सुरेश आलेको जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी परेको छ। जाहेरी परेको लामो समयसम्म अनुसन्धान जारी रहेपनि हालसम्म ठोस प्रमाण भेटाउन नसकिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। 'हालसम्म ठोस निष्कर्ष केही निक्लिएको छैन', उनले नागरिकसँग भने 'वास्तविक घट्नाको तथ्यगत अनुसन्धान भइरहेको छ।' उनले जाहेरी अनुसारको अनुसन्धान भइरहेको बताए। 'तपस्वी रामबहादुर बम्जन कहाँ छन् भनेर खोजी गर्नुभन्दा पनी हामीले आश्रम र जाहेरीसँग सम्बन्धित घट्नाको अनुसन्धान गरिरहेका छौ', उनले भने।

बेपत्ता पारिएकाहरु भेटिने आशमा आफूहरु भौतारिरहेको उनीहरुका आफन्तहरु बताउँछन्। 'छोरा भेटिन्छकी भनेर प्रहरीले जहाँ बोलाउँछ त्यहाँ गएको छुँ', बारा कलैयामा सुरेश आलेमगर हराएको भन्दै उजुरी दिएका उनका बाबु हस्तबहादुर आलेमगरले भने, 'सिन्धुपाल्चोक प्रहरीले बोलायो म त्यही गए, सोधपुछ गरीयो।' उनले प्रहरीले खोज्दै छौं भन्ने जवाफ दिने गरेको बताए। 'छोरो भेटिने आशा राखेको छु, प्रहरीले पनि खोज्दै छौं भन्छन् तर अब हामी कहाँ जाने ?' उनले नागरिकसँग गुनासो गरे। आउँदाे जेठमा छोरो हराएको चारवर्ष पुग्ने उनले बताए।

उता अनुसन्धानमा सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले भने अनुसन्धान जारी रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख मुकुन्द मरासिनीले हराएको जाहेरीपछि बम्जनका आश्रमा पुगेर अनुसन्धान गर्ने काम भइरहेको जानकारी दिँदै हालसम्म कुनै निष्कर्षमा पुग्न नसकेको बताए। 'अनुसन्धान रचनात्मक तरीकाले गर्नुपर्ने भएकाले केही समय लागेको हो।' उनले भने। बम्जन कहाँ छन् भनेर आश्रममा बुझ्ने काम भएको र अनुयायीहरुबाट सिन्धुलीमै रहेको जानकारी भएको उनले बताए। 'बम्जन कहाँ छन् भन्नु भन्दा पनी उनी दोषी ठहरिए जहाँ भएपनि कानुनी कारबाही हुन्छ', एसपी मरासिनीले भने, 'कानुनको हातको दायरा ठुलो छ, कानुनी हातबाट टाढा छैनन्।'

२०६८ साल असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक वनमा अस्थाई आश्रममा बस्न बम्जन सिन्धुली आएका थिए। तर, त्यतिबेला सिन्धुलीमा ३ महिना मात्रै बसेर सर्लाहीको पथरकोट गएका बम्जन पुनः २०७४ साल असोजदेखि सिन्धुलीलाई नै आश्रम बनाएर बसेका छन्। कमलामाई नगरपालिका ८ स्थित पैरे भन्ने स्थानमा ठुलै सुरक्षा घेराभित्र आश्रम बनाई बसेका बम्जनलाई सिन्धुलीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सञ्चारकर्मी कसैले पनी हालसम्म भेट्न सकेका छैनन्। बम्जनबाट आश्रममा बस्ने आनीहरुमाथि यौनहिंसा भएको तथा आश्रमबाटै अनुयायीहरु बेपत्ता पारेको आरोप लागेसँगै उनी सार्वजनिक नभएका हुन्। बम्जन सार्वजानिक नभएपनि सिन्धुलीकै आश्रममा रहेको उनका अनुयायीहरु बताउँछन्। 'बम्जन हालसम्म सिन्धुली आश्रममा छन्, तपाईहरु पूर्णरुपमा विश्वस्त हुँदा हुन्छ', बम्जन सम्बद्ध बोधी श्रवण धर्म संघका केन्द्रीय सदस्य छत्र घिसिङले भने।

बम्जनमाथि विभिन्न आरोप लागेसँगै उनी सार्वजानिक नभएपछि तपस्वी भनिएका बम्जन सिन्धुलीमा नभएको र रातारात अन्यन्त्र गइसकेको स्थानीय बताउँछन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले आफूहरुले नभेटेकाले सिन्धुलीमै छन् भनेर पुष्टि गर्न नसक्ने बताए।

प्रकाशित: १० फाल्गुन २०७५ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App