१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ठेकेदारको स्वार्थका कारण दुनै बजार थप जोखिममा

डोल्पा - नदी संरक्षणमा ल्याइएको कार्यक्रमले हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनै थप जोखिममा पर्ने देखिएको छ। कमजोर प्राविधिक एस्टिमेट र मुख्य ठेकेदारको स्वार्थका कारण ‘दुनै बचाउ कार्यक्रम’ अस्तव्यस्त छ। भेरी नदीको उच्च जोखिम रोक्न भन्दै संरक्षणको लागि यो कार्यक्रम ल्याइएको थियो। नदीमा तटबन्ध हाल्ने काममा कमसल र प्राविधिक त्रुटि भएकाले सदरमुकाम दुनै अहिले उच्च जोखिममा छ।

दुनैको बीचबाट भेरी नदी बगिरहेको र यसबाट खतरा रहेका भन्दै नदी किनारमा तटबन्ध हालेर संरक्षण गर्न लागिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत जलस्रोत तथा सिँचाइ डिभिजन नदी नियन्त्रण महाशाखामार्फत नदीमा तटबन्ध हाल्ने काम भएको हो।

११ करोड बढी नाफा लिएर रक्षावर्ल्ड कन्ट्रक्सन फर्मलाई १६ करोडमा उक्त ठेक्का फेरि जिम्मा दिएपछि काम गुणस्तरहीन हुने सहजै अनुमान गर्न सकिन्छ।

दुनै बजार भेरी नदीको किनारमा रहेकाले बर्सेनि वर्षायाममा कटानबाट अपूरणीय क्षति हुँदै आएको छ। कुल २७ करोड लागतमा दुनै बजार संरक्षण गर्न भेरी नदी किनारमा तारजाली हालेर सदरमुकाम जोगाउने कामको थालनी भएको थियो। ठूलीभेरी नदी सदरमुकाम दुनैको बीचमा बग्छ। सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत कन्काई थोदुङ जेबी कन्सट्रक्सनले यसको जिम्मा लिएको थियो। दुवैतिर जाली र ढुंगा राख्ने काम भइरहेको नदी नियन्त्रण महाशाखका इन्जिनियर मनोजकुमार देवले बताए।

निमार्णको सुरुमै ठेकेदारले लागतअनुसार जाली नराखी कमसल काम गरेको र पछि ४ सय थान भरेको जाली सिज भएको समेत समेत इन्जिनियर देवले जानकारी दिए। नदीका कारण कर्णालीमा सबैभन्दा बढी जोखिममा रहेको सदरमुकाम दुनै हो।

दुनै बचाउ कार्यक्रम गुणस्तरहीन,२७ करोडको काम १६ करोडमा गरिँदै
दुनै बजार संरक्षण गर्न भनी केन्द्रीय योजनाअन्तर्गत २७ करोडको ठेक्का लगाइएको थियो। १६ करोडमा मुख्य ठेकेदारले ठेक्का बेचेका थिए। जसका कारण कार्यक्रम गुणस्त हुनेमा स्थानीयले शंका गरेका छन्। जोखिमयुक्त बस्ती किनारबाट तारजाली हालेर काम थाल्नुपर्नेमा ठेकेदार कम्पनीले उल्टो काम गरिरहको स्थानीयको आरोप छ। ‘यस्तो तरिकाले दुनै बजार थप जोखिममा पर्छ,’ ठूलीभेरी नगरपालिका ३ का अध्यक्ष अर्णबहादुर न्यौपानेले बताए। उनले भने, ‘पहिलो आवश्यकता बढी जनघनत्व भएको बजारलाइनलाई दिनुपर्ने हो, त्यसै ठाउँबाट तारजाली हाल्नुपर्ने, तर ठेकेदारले मनपरी ढंगले आफूलाई फाइदा हुने मात्र काम गरिहेका छन्।’ बजारको बायाँ किनारबाट तटबन्ध लगाउँदा जोखिम झनै बढ्ने उनले बताए।

११ करोड बढी नाफा लिएर रक्षावर्ल्ड कन्ट्रक्सन फर्मलाई १६ करोडमा उक्त ठेक्का फेरि जिम्मा दिएपछि काम गुणस्तरहीन हुने सहजै अनुमान गर्न सकिन्छ। नदीको दुवै किनारमा २३ हजार ५ सय ८५ घनमिटर ढुंगा हालेर जाली भर्ने काम भ्याटसहित २७ करोडको हाराहारीमा ठेक्का कन्काई थोदुङ जेबी कन्सट्रक्सनलाई दिइएको थियो। ठेकेदारले कामको सुरुवातीमै कमसल काम गर्न थालेपछि यसको निगरानी र कामलाई गुणस्तर बनाउन स्थानीयस्तरबाटै वडा नम्बर ३ मा अनुगमन समिति बनाइएको छ। अनुगमन समितिले कामलाई लागतअनुसार गर्न सुझाउने र कमसल भए भत्काउनेसमेत गरिने अनुगमन समतिका अध्यक्ष हिमालय शाहीले बताए।

यस कार्यक्रमको सुरुवातीमै गुणस्तर नभएको भन्दै चौतर्फी विरोध भइरहेको थियो। २७ करोडको ठेक्का १६ करोडमा जिम्मा लिएका ठेकेदार मनवीर पुनले नियमानुसार आफूले जिम्मेवारी पूरा गर्ने बताए। काम गर्ने सबै उपकरण आफ्नै भएकोले काम गर्दै जाने क्रममा कहीँ कतै कमसल काम भए पनि सुधार गर्दै नमुना काम गरेर देखाउने उनले दाबी गरे। वर्षायाममा लाखौं क्युसेक पानि बढ्ने गरेकाले सदरमुकाम दुनै बजारका दर्जनौं घर जोखिममा छन्। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App