७ वैशाख २०८१ शुक्रबार
अन्य

काठमाडौंमा डिक्राको डेउडा झंकार

लोकगायिका डिक्रा वादी

सुदूरपश्चिमकी लोकगायिका डिक्रा वादीले शनिबार काठमाडौंमा मायाप्रेम र विरहका डेउडा गीत गाउने भएकी छन्। डेउडा भाकामा उनले दोहोरी र ठाडी गीत गाउने छिन्।  

पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले राष्ट्रिय नाचघरमा आयोजना गर्ने कार्यक्रममा उनले दिउँसो १ बजेदेखि डेढ घन्टासम्म दर्शकलाई मोहित बनाउने आशा गरिएको छ।  

कार्यक्रममा एक दर्जन गीत गाइने छ। दोहोरी गीतमा उनलाई पति कित्थ्या वादी र झुमा लिम्बुले साथ दिँदैछन्। त्यसैगरी संगीतमा परम्परा व्याण्डका शम्भु बानियाँ, हरि गुरुङ, पारसमणि सुवेदी, कृष्ण साउँदेन लिम्बु र सञ्जीव मैनालीले साथ दिँदैछन्। गत शनिबारदेखि उनीहरू सांगीतिक अभ्यासमा जुटेका छन्।  

उनका एक दर्जन एकल एल्बम निक्लेका छन् भने अन्य दर्जनौं एल्बममा फुटकर रूपमा गाएकी छन्। उनले पचासको दशकदेखि ठाडी भाका र दोहोरी गीतका एल्बम सार्वजनिक गर्न थालेकी हुन्। तर, पछिल्लो एक दशकदेखि उनका गीत रेकर्ड भएका छैनन्। 

शनिबार सुदूरपश्चिमकी लोकगायिका डिक्रा वादीले एकल डेउडा गायन कार्यक्रममा दोहोरी र ठाडी भाकाका गीत गाउनेछिन्। 


कञ्चनपुरको कृष्णपुर नगरपालिका–
२ बंक गाउँमा बसोबास गर्दै आएका डिक्रा दम्पतिलाई काठमाडौं झिकाएर कन्सेप्ट नेपालले सम्मान गर्न लागेको हो। यसबाट लोकगायिका डिक्रालाई गायनमा पुनरागमन गराउन मद्दत पुग्ने कार्यक्रमका संयोजक अमृत भादगाउँलेको विश्वास छ। 

पचासको दशकमा उनी निकै चर्चित थिइन्। तिनताका उनले काठमाडौं, मुम्बई, बैंगलोरमा लाइभ गीत गाएकी थिइन्। 
शनिबारको कार्यक्रममा उनको एउटा गीतको तालमा सुदूरपश्चिमकै कलाकार देबु वोराले नृत्य गर्नेछन्। ‘कार्यक्रममा सिंगो सुदूरपश्चिमको लोकसंगीतको झंकार सुनिनेछ,’ कार्यक्रम सफल बनाउन खटिएका कवि एवं सांस्कृतिक अध्येता हेमन्त विवश भन्छन्, ‘डिक्राको स्वरमा आज पनि उस्तै जादू छ।’   

कार्यक्रममा निःशुल्क प्रवेश पाइनेछ। कार्यक्रमका सहआयोजकहरूमा रैथाने संगीत समूह काठमाडौं र अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान पोखरा छन्। 

कार्यक्रमका सहयोगीमा रैका टुर्स एण्ड टेक्सका प्रबन्ध निर्देशक अमरबहादुर शाही, हिमाल डेण्टल अस्पतालका अध्यक्ष डा. राजेन्द्र भट्ट, मनास्लु पदमार्गका अभियन्ता लाक्पाढुण्डुप लामा, प्रगतिशील युवा सशक्तिकरण केन्द्रका अध्यक्ष लिलाराम खड्का, रसुवा टे«क्सका सञ्चालक गगनराज न्यौपाने, कैलाली विद्या निकेतन धनगढीका संस्थापक प्रिन्सिपल टोपेन्द्र शाह, दमौलीका गीतकार सागर उदास, चैतन्य इन्स्टिच्यूट अफ म्यानेजमेन्ट शंखमुलका सिइओ गणेश जोशी, सिद्धार्थ विद्यापिठ गठ्ठाघरकी प्रिन्सिपल दीपिका रिमाल थापा, हिमालय मिलन मावि ताङतिङका प्रधानाध्यापक ओमप्रकाश गुरुङ, करबाकेली इको टे«कका अभियन्ता चामबहादुर पुन, डोट्याली गीतकार हर्क साउद, द आर्ट ग्लो साइन प्रालि सोह्रखुट्टेका प्रमुख कृष्णगोपाल श्रेष्ठलगायत छन्।

प्रकाशित: १० फाल्गुन २०७५ ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App