८ वैशाख २०८१ शनिबार
अन्य

‘रुम टु रिड’ को दैलोमै पुस्तक

डेढ दशकअघि विश्वचर्चित कम्पनी माइक्रोसफ्ट छाडेर नेपालका गाउँगाउँमा पुस्तकालय खोल्ने अभियान चलाएका थिए– अमेरिकी नागरिक जोन उडले। त्यसै अभियानअन्र्तगत ‘रुम टु रिड’ नामक संस्था खुल्यो र त्यसले बालबालिकाहरूका लागि पुस्तक प्रकाशन सुरु गर्न थाल्यो। ‘रुम टु रिड’ को स्थापनापछि आकर्षक चित्रसहितका पुस्तक गाउँगाउँका पुस्तकालयमा पुर्‍याइयो। निजी तथा सामुदायिक विद्यालयमा पनि ती पुस्तकको माग बढ्न थाल्यो। यो अभियान यतिसम्म प्रभावकारी भयो कि कुनैबेला पाठ्यक्रम बाहिरको पुस्तक पढ्न नदिने अभिभावक अहिले आफ्ना सन्तानका लागि बाहिरी पुस्तकको खोेजी गर्न थालेका छन्। 

समाजमा आधुनिकता र मानिसमा चेतना आएसँगै आम बालबालिका मोबाइल र टेलिभिजनको लतमा लिप्त छन्। यसबाट बालबालिकालाई अलग गराउनका लागि पछिल्लो समयमा अभिभावक उनीहरूका रुचि अनुसारका पुस्तक खोजी गर्न थालेका छन्। नेपालका प्रकाशनले पुस्तकको विषयवस्तु मात्र होइन, बाह्य र आन्तरिक सजावटमा पनि ध्यान दिन थालेपछि पुस्तक किन्ने संस्कृतिको विकास भएको छ।

यसरी आम नेपाली पाठकमाझ पठन संस्कृति मौलाइरहेको बेला नेपालकै पहिलो ‘किताब यात्रा’का सहयात्री ऋषिराम अधिकारी र कृपेशकिशोर घिमिरेले नयाँ दिल्लीमा चाटर्ड एकाउन्टेनको पढाइलाई बीचमै छाडेर घरघरमा पुस्तक वितरण गर्न थालेका छन्। यो अभियानलाई सफल बनाउनका लागि विकेश भट्टराइले पनि साथ दिएका छन्।    

‘किताब यात्रा नामक दिइएको यो संस्थाले सबै किसिमका पुस्तक पाठकको घरदैलोमा पुर्‍याउने अभियान सुरु गरेका छ,’ किताब यात्राका संस्थापक ऋषिराम अधिकारीले बताए। ‘हाम्रो संस्थाले एक वर्ष नपुग्दै विश्वका ५८ देश र नेपालका २८ सहरमा बस्ने नेपालीलाई घरमै पुस्तक पुर्‍याउन सफल भएको छ,’ उनले भने। नेपालभित्र फोन गरेको केही घण्टा र विदेशबाट अनलाइन अर्डर गरेको केही दिनभित्रै पुस्तक उनीहरूले दिएको ठेगानामा पुर्‍याउने गरेको अधिकारीले बताए। आफूले मगाएका पुस्तक समयमै उचित मूल्यमा पाएपछि नेपाली पाठकहरू साह्रै खुसी भएको उनले बताए। ‘साना बालबालिकादेखि वृद्धवृद्धासम्म हुने किसिमका पुस्तक अर्डर गरेको क्षणभरमै उपलब्ध गराउन सक्छौं,’ उनले भने।
स्थापना भएको एक वर्षको अवधिमा पच्चिस हजारभन्दा बढी पुस्तक बिक्री गरिसकेको संस्थाले जनाएको छ। ‘पुस्तक अर्डर लिनेमा अधिकांश युवापुस्ता बढी पाएका छौं,’ अधिकारीले भने। साहित्यिक, जीवनी र आध्यात्मिक जस्ता पुस्तक पाठकले बढी रुचाएको उनले बताए। हामीलाई एउटा पुस्तक ग्राहकसम्म पुर्‍याएबापत ५ देखि १५ प्रतिशतसम्म नाफा हुने उनले बताए।  ‘हाम्रो मुख्य खर्च पुस्तक ढुवानी र कर्मचारी व्यवस्थापनमा बढी लाग्ने गरेको छ,’ उनले भने। 

‘ठूलो समूहमा नेपाली बसोबास गर्ने विश्वका ५८ देशमा पाठकलाई आवश्यक परेको नेपाली पुस्तक र कतिपय अन्य भाषाका पुस्तक उहाँहरूकै घर अफिससम्मै पुर्‍याउन थालेका छौंं,’ अधिकारीले भने। संस्थाले बजारमा कुन पुस्तक कहिले आउँदैछ र पाठकलाई कति दिनभित्र उक्त पुस्तक चाहियो भन्ने समेतको सूचना दिने गरेको उनी बताउँछन्। 
‘कुनै पनि पुस्तक विमोचन भएपश्चात लेखकको हस्ताक्षर पछि त्यसै दिन आम पाठकमाझ पुस्तक पुर्याउने गरेका छौं,’ संस्थामा कार्यरत किशोर घिमिरेले भने, ‘यसले गर्दा पाठक र लेखक दुवै खुसी हुनुहुन्छ। र, हामीलाई पनि उत्प्रेणा मिलेको छ।’

आगामी दिनहरुमा यस संस्थाले कारागारमा रहेका कैदी–बन्दीलाई समेत पुस्तक उपलब्ध गराउने योजनामा रहेको संस्थापक अधिकारीले बताए। ‘कारागार सजाय भुक्तानी गर्ने गृहमात्रै होइन, यो सुधारगृह पनि हो। त्यसैले पुस्तकले सकारात्मक उत्प्रेरणा मात्रै जोगाउँदैन उनीहरूको जीवन बदल्न सक्छ,’ उनले बताए।

 

प्रकाशित: १० फाल्गुन २०७५ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App