८ वैशाख २०८१ शनिबार
अन्य

नार्गाजुन नगरपालिका–६ मा यस्ता छन् समस्या

वडाले कुनै कुराको निगरानी गरेको छैन, बिमला खनाल (स्थानीय, सिंगारे पाटी)
खोई यहाँ उदाहरणीय केही काम भए जस्तो लाग्दैन। म २०४६ सालदेखि स्वंयसेवकको रूपमा काम गरेर वडालाई सघाइरहेकी छु। प्रत्येक महिना ३–४ दिन अनिवार्य रूपमा खट्नुपर्ने हुन्छ। महिनाको २९ गते नियमित रूपमा भेला हुन्छ। त्यस दिनको ४ सय ५० रूपैयाँ भत्ताबाहेक केही पाइँदैन। बुहारीहरू काममा जान्छन्। आमा ८० वर्षकी हुनुहुन्छ। बच्चाहरू घरमै छोडेर जानुपर्ने हुन्छ। कहिले ६ बजेसम्म पनि बस्नुपर्ने हुन्छ। जनप्रतिनिधिले स्वंयसेविकाका लागि केही व्यवस्था गर्न सकेको छैन। यहाँ महिला हिंसा बढिरहेको छ। वडामा राति अबेरसम्म भट्टी पसलहरू खुलै हुन्छन्। भट्टी पसलमा अलमलिने र घरमा गई श्रीमतीलाई ‘टर्चर’ दिने र झगडा गर्ने पुरुष धेरै छन्। वडाले महिला हिंसा न्यूनीकरणका लागि कुनै प्रभावकारी योजना ल्याउन सकेकोे छैन। चुनावअघि वृद्धभत्ता बढाइदिने आश्वासन आश्वासनमै सीमित छ। केही भूकम्पपीडितले अझै राहत पाएका छैनन्। वडाले जनतालाई सुविधा दिनुको सट्टा एकोहोरो कर मात्रै बढाएको छ।

जताततै बाटो लथालिंग छ, गमबहादर क्षेत्री (स्थानीय, सिंगारे पाटी )  
चुनावको बेलाचाहिँ निकै काम गर्छन् जस्तो लागेको थियो। तर, भनेजस्तो केही काम भएको छैन। हाम्रो वडा रिंग रोडबाट नजिकै भएर पनि कहीँ पिच भएको छैन। बाटो बनाउने नाममा जताततै लथालिंग पारेर छोडिएको छ। एक–दुई ठाउँको छोटोछोटो ढलान बाटोबाहेक अरू सबै कच्ची बाटो बेहाल छ। मोटरसाइकल पनि चलाउन गाह्रो छ। समस्याग्रस्त नभएको त बाटै छैन। सीतापाइला चोकदेखि सीताराम उच्च मावि डाँडापौवा जाने बाटो, फस्कुदेखि घट्टेखोला जाने बाटो र फस्कुदेखि रामकोट जाने बाटो बर्खामा खेतजस्तै र हिउँदमा धुलाम्मे हुन्छ। धुलोधुवाँले आक्रान्त छ। ठेकदारले एक सिजन काम गर्ने अर्को सिजनमा काम गर्ने चलन छैन। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैंसीपाटीमा हुँदा मैले विद्युत वाइरिङ तालिम, ब्युटीपार्लर तालिम र ढाका सिलाइ तालिम दिलाएको थिएँ। यसले वडावासीका लागि आम्दानीको बाटो खुलेकोे छ। यहाँ बढ्दो सहरीकरणले गर्दा जग्गाको भाउ बढेको छ। एक डोको मकै नफल्ने ठाउँमा एक भारी पैसा फल्ने गरेको छ। यहाँ पैतृक सम्पत्तिको घमन्ड देखाउँदै सिन्का नभाँच्ने पुरुषहरू पनि छन्। त्यसैले यहाँ महिला हिंसा बढ्दो छ। महिला हिंसाप्रति वडा मूकदर्शक बनेको छ।

वडाले एकलौटी ढंगले काम गरिरहेको छ, पुुरुषोत्तम खनाल (स्थानीय, सिंगारे पाटी )
वडामा प्राविधिक कारण केही मतले हारे पनि नगरपालिकामा हाम्रो पहुँच राम्रो छ। वडाले आफ्नो सानो बडी बनाएको छ। त्यही बडीले आफूखुसी काम गरिरहेको छ। यहाँ वडावासी सबैलाई बोलाएर आपसी छलफल गर्ने चलन छैन। नेतृत्व कमजोर भएको हुँदा बाटोघाटोहरू अपूर्ण छन्। वडाले आवासीय र सामुदायिक विद्यालय बीचको खाल्डो हटाउन सकेको छैन। दिनानुदिनु सामुदायिक विद्यालयको आकर्षण घट्दो छ। नमुना वडा भनाइमा मात्रै सीमित भएको छ। यहाँ खासै व्यवस्थित रूपमा केही काम भएको छैन। यात्रुहरू ट्राफिक जाम र मनपरी भाडाको मारमा परेका छन्। वडाले सडक बत्तीको बारेमा केही सोचेको छैन। बरु नागरिकले आफ्नै तरिकाले सडक बत्ती राखेका छन्। जनता कर बुझाउँदा बुझाउँदै हैरान भएको छ। म वडा अध्यक्ष भए खानेपानी, बाटोघाटो, शिक्षा र स्वास्थ्यलाई प्राथमिकताको साथ अगाडि बढाउने थिएँ। पुस्तकालय,   व्यायाम स्थल र रोजगारीको व्यवस्था गर्ने थिएँ। पर्यटकीय क्षेत्रहरूको उचित संरक्षण र प्रचारप्रसार गरी वडावासीका लागि आयआर्जनको बाटो खुलाउने थिएँ।  

‘एक घर, एक धारा’को व्यवस्था गर्नेछौं, राजेन्द्र बुढाथोकी (वडा अध्यक्ष)
हामीले विकासको काम धमाधम गरिरहेका छौं। हामीले गत वर्ष ४ करोड ६४ लाख रूपैयाँमा पूर्वाधार विकासका काम गर्यौं। मुख्य गरी खानेपानी र बाटोको काम सम्पन्न भयो। नगरपालिकाको पूर्वाधार केही पनि तयार नभएको अवस्था हो। हामीले सबै काम ‘जिरो लेभल’ बाट गर्नुपरेको छ। हामीले महिला तथा बालबालिकासम्बन्धी पनि काम गरेका थियौं। जसका लागि १२ लाख रूपैयाँ बजेट छुट्टयाएका थियौं। हामीले पुरुषसरह महिलालाई अगाडि बढाउनुपर्छ भनेर ७० जना महिलालाई उद्घोषण तालिम दिएका थियौं। नियमित रूपमा सुगरप्रेसर आदिको निःशुल्क जाँच र औषधि उपलब्ध गराउने काम भइरहेको छ। भोलि जोसुकै वडा अध्यक्ष आए पनि हामीले यो काम नरोकिने ‘सिस्टम’ बनाएका छौं। हामीले डाँडागाउँमा पोहोर ४३ लाख रूपैयाँको खानेपानी टयाङ्की बनायौं। हामीले चुनावको बेला ‘एक घर, एक धारा’ भनेका थियौं । मेरो कार्यकालमा घरघरमा एक–एक ओटा धारा बनाउने लक्ष्य छ। टौखेलमा पानीको समस्या छ। त्यसैले त्यहाँ डिप बोरिङ गर्नुपर्ने छ। डाँडागाउँमा पानी छ। तर, व्यवस्थित गर्न सकेका छैनौ। अन्य ठाउँमा जस्तो हाम्रो वडामा महिला हिंसा छैन। त्यति विकट ठाउँ पनि होइन। बाटोले गर्दा विकटजस्तो देखिएको मात्रै हो।
प्रस्तुति : श्रीराम राई

प्रकाशित: १० फाल्गुन २०७५ ०४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App