७ वैशाख २०८१ शुक्रबार
खेल

उपाधिका लागि थ्री स्टार र पारो एफसी भिड्दै

फुुुनसोलिङ, भुटान – रुस्लान थ्री स्टार क्लब शुक्रबार फुुुनसोलिङमा जारी जिङ्मे दोर्जे वाङ्चुक मेमोरियल गोल्डकप २०१९ को फाइलमा पारो एफसीको सामना गर्दा सिजनको पहिलो अन्तर्राष्ट्रिय उपाधि भित्र्याउने लक्ष्यमा हुनेछ।

थ्री स्टारले  बुधबार सेमिफाइनलमा कालिङ्पोङको क्लब युनाइटेड ब्रदर्सलाई ३–२ ले निराश पार्दै पारो एफसीविरुद्धको उपाधि भिडन्त पक्का गरेको थियो। पारोले मंगलबार पहिलो सेमिफाइनलमा नेपाल आर्मीलाई १–० ले निराश पार्दै प्रतियोगिताको फाइनल पक्का गरेको थियो। थ्री स्टारका प्रशिक्षक मेघराज केसीले स्वाभाविक लयमा टोली रहेकाले उपाधि जित्नेमा विश्वस्त रहेको बताए।

‘हामी पहिलो खेलमा सडन डेथमा भाग्यमानी बन्दै अघिल्लो चरणमा प्रवेश गरेका थियाैं,’ केसीले भने, ‘वर्षाका कारण त्यस खेलमा हामीले स्वाभाविक खेल खेल्न सकेनौं। तर बुधबार युनाइटेडविरुद्धको खेलमा हामीले स्वाभाविक लय देखाउन सफल भयौं। त्यसैले टोलीको मनोबल बढेको छ।’

‘हामीले प्रतियोगिता अवधिभर आक्रामक रणनीति बनाएका छाैं र त्यही रणनीति शुक्रबार फाइनलमा पारोविरुद्ध पनि लिनेछौं,’ प्रशिक्षक केसीले थपे।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो भएको थ्री स्टारले प्रतियोगिताको उपाधि जिते त्यो वर्षको दोस्रो उपाधि हुनेछ। अन्तर्राष्ट्रिय उपाधि भने यो सिजनको पहिलो हुनेछ। थ्री स्टारले सिजनको पहिलो उपाधिका रूपमा सिमरा गोल्डकप जितेको थियो।

नेपाल आर्मीसँगै सोझै प्रतियोगिताको क्वार्टरफाइनलन पक्का गरेको थ्री स्टारले पहिलो खेलमा भुटानकै उर्गेन फुटबल एकेडेमीलाई सडन डेथमा निराश पारेको थियो। थ्री स्टारलाई अन्तिम ४ मा स्थान पक्का गर्न गोलकिपर एलन न्यौपानेले उर्गेनका दुई पेनाल्टी प्रहार जोगाएका थिए।

फुुुनसोलिङ स्पोर्ट्स एकेडेमीको रंगशालामा निर्धारित समयको खेल १–१ को बराबरी भएपछि नतिजाका लागि सोझै पेनाल्टी सुटआउटको सहारा लिइएको थियो। निरन्तर वर्षाका कारण रंगशालामा खराब प्रकाशका कारण खेल अतिरिक्त समय नखेलाई पेनाल्टी सुटआउट गराइएको थियो।

पेनाल्टी सुटआउटमा समेत ४–४ को बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो। जसम थ्री स्टार भाग्यमानी बनेको थियो। यता पहिलो खेलमा जयगाउँ एफसीलाई २–१ ले हराएको पारोले सेमिफाइनलमा आर्मीलाई १–० ले निराश पारेको थियो।

भुटान, नेपाल र भारतका टोली गरी कुल १२ टोलीको सहभागिता छ। भुटानकै पुरानो प्रतियोगितामध्येको एक जिङ्मे दोर्जे वाङ्चुक मेमोरियल गोल्डकप २००६ पछि पहिलो पटक आयोजना भएको हो।

थ्री स्टारको फाइनल यात्रा
क्वार्टरफाइनल
थ्री स्टार १–१ उर्गेन एकेडेमी फुटबल क्लब (सडन डेथ ५–४)
सेमिफाइनल
थ्री स्टार ३–२ युनाइटेड ब्रदर्स

पारो एफसीको फाइनल यात्रा
प्रि–क्वार्टरफाइनल
पारो एफसी ८–० फुुुनसोलिङ एफसी
क्वार्टरफाइनल
पारो एफसी २–१ जयगाउँ एफसी
सेमिफाइनल
पारो एफसी १–० नेपाल आर्मी

प्रकाशित: १० फाल्गुन २०७५ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App