coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘बी’ डिभिजन लिग : नयाँ बस्तीको पहिलो जित

काठमाडौं – नयाँ बस्ती युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार पहिलो जित निकाल्दा बाँसबारी युथ क्लब र श्री भगवती युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न दिनको दोस्रो खेलमा नयाँ बस्तीले ब्वाइज युनियनमाथि २–० को जित निकाल्दै लिगमा पहिलो जित निकालेको हो।

नयाँ बस्तीलाई जित दिलाउन साजन राईले २२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अग्रतापछि दोस्रो हाफमा उत्कृष्ट लयमा रहेको नयाँ बस्तीले ६५औं मिनेटमा दोस्रो गोल गरेको थियो। शनिकुमार चौधरीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए। बाँकी समयमा ब्वाइज युनियनले अथक प्रयास गरे पनि सफल हुन सकेन।

समूह ‘ए’ मा रहेको नयाँ बस्तीले तालिकामा ४ अंक बनाएको छ भने पराजित ब्वाइज युनियनको २ अंक छ। समूह ‘ए’ को अर्को टोली झम्सीखेल युथ क्लब ८ अंकका साथ शीर्ष स्थानमा छ भने समान चार खेल नै खेलेको श्री कुमारी क्लब ६ अंकका साथ दोस्रो स्थानमा छ। लिगमा अन्तिम चरणका खेल हुन बाँकी छ।

यस्तै बिहीबारै सम्पन्न दिनको पहिलो खेलमा बाँसबारी युथ क्लब र श्री भगवती क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। पहिलो हाफमा लिएको अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा श्री भगवतीले अंक बाँड्न बाध्य भएको हो। ११औं मिनेटमा श्री भगवतीका लागि आशबहादुर गुरुङले टोलीका लागि पहिलो गोल गरेका थिए भने ३३औं मिनेटमा कार्लोस बखारियाले  दोस्रो गोल गरेका थिए।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएको भगवतीले दोस्रो हाफमा भने लयलाई निरन्तरता दिन सकेन। ६७औं मिनेटमा पछि परेको बाँसबारी अग्रता छोट्यायो। दिनेश कार्कीले गोल गरेका थिए। पहिलो हाफको तुलनामा दोस्रो हाफमा बढी आक्रामक देखिएको बाँसबारीका महेन्द्र कार्कीले बराबरी गोल गर्दै टोलीलाई हारबाट जोगाए।

लिगमा अन्तिम खेल बाँकी रहेको अवस्थामा पहिलो बराबरी खेलेको भगवतीको ७ अंक छ। समूह ‘बी’ को भगवती तालिकाको दोस्रो स्थानमा छ भने अंक खोसेको बाँसबारीको २ अंक भएको छ। बाँसबारी तालिकाको पुछारमा छ। समूह ‘बी’ मा टुसाल युथ क्लबले समान चार खेलबाट १० अंक जोड्दै शीर्षता कायम राखिरहेको छ।

शुक्रबारबाट लिगका अन्तिम खेल सञ्चालन हुनेछन्। पहिलो खेलमा  झम्सीखेल युथ क्लबले रानीपोखरी कर्नर टिम (आरसिटी) सँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा टुसाल युथ क्लबले पुलचोक स्पोटर्स क्लबको सामना गर्नेछ।

प्रकाशित: १० फाल्गुन २०७५ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App