१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

अस्ट्रेलियामा अध्ययन अल्झन

निष्प्रभ सजी
एआइबिटीमा अलपत्र परेका नेपाली विद्यार्थीहरूको भिडियोले सन् २००७ मा हामीलाई ब्रिसबेनमा परेको विपत्को समय स्मरण भयो। साफ्सटन कलेजमा कोर्स सक्न मात्र दुई महिना बाँकी रहँदा कलेजलाई सरकारले बन्द गर्‍यो। त्यतिखेर नेपाली समुदाय ठूलो थिएन र हामी विद्यार्थी नै मिलेर क्यानबेरामा अपिल गर्‍याँै, विरोध गर्‍यौँ र कलेजले धेरैजसो विद्यार्थीको पूरा शुल्क फिर्ता दियो। त्यसपछि टेफले हाम्रो बाँकी कोर्स पूरा गरिदिएर हाम्रो उद्धार गर्‍यो। त्यतिखेर जस्तो सजिलो अहिले नहुन सक्छ।

कुनै युनिभर्सिटी वा कलेजले अलपत्र परेका विद्यार्थीको पढाइ पूरा गरिदिने जिम्मा नलिन सक्छ। र पनि विद्यार्थीलाई एआइबिटीले कोर्स पूरा गर्न नसेकेकाले कानुनी रुपमा पूरा शुल्क दिने वातावरण बन्छ भन्नेमा म विश्वस्त छु। यदि कलेजले नसके कुनै इन्स्युरेन्स पोलिसी वा फन्डबाट विद्यार्थीको शुल्क फिर्ता गर्ने प्रावधान होला भन्ने आशामा छु। त्यति पनि हुन नसके यो जिम्मेवारी क्यानबेराले वहन गर्नेछ। पक्का पनि एआइबिटीमा नेपाली विद्यार्थी मात्र अलपत्र परेका छैनन्। क्यानबेरालाई यसमा बेवास्ता गर्दा साउथ एसियन देशहरूको अस्ट्रेलियाप्रतिको धारणा बिग्रिन सक्छ भन्ने कुरा राम्रोसँग थाहा छ। यस घटनालाई माइग्रेसन एजेन्ट साथीहरूले शिक्षाका रूपमा लिनु होला। कति साथीहरूले एआइबिटी जस्तो कलेजको भर नभएकाले त्यस्ता कलेजमा आफ्ना विद्यार्थीहरू पठाउनु भएको रहेनछ। खुसीको कुरा हो कि हामीसँग एक दुई जना साथीहरू विद्यार्थीको भविष्यप्रति जिम्मेवार हुनुहुन्छ। दुःखको कुरा हो कि हामीसँग एक दुई जना साथी मात्र जिम्मेवार हुनुहुन्छ।

शैक्षिक संस्थाको मात्र नभएर हरेक व्यापारिक संस्थामाथि निगरानी राख्ने सरकारी संयन्त्र हुन्छ, अस्ट्रेलियामा। आआफ्ना क्षेत्रमा सरकारले वा तोकिएको सरकारी संयन्त्रले तयार गरेका निर्देशिकाअनुसार संस्था सञ्चालन भएको छ कि भनेर कतै हरेक वर्ष कतै हरेक दुई–तीन वर्षमा परीक्षण गरिन्छ, जुन प्रक्रियालाई एक्रिडिटेसन भनिन्छ। कुनै पनि संस्थाले यदि यो प्रक्रियालाई पास गर्न सकेको छैन भने प्रायजसो त्यो संस्थाले उपस्थित साझेदारलाई मात्र पढाउने वा सेवा दिने सल्लाह सरकारी संयन्त्रबाट पाउँछ। एआइबिटी जस्तो साधारण कलेजले दर्तावाल तालिमे संस्थाका रूपमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने अनुमति लिएकै आधारमा विद्यार्थी भर्ना गर्न पाउँछ। र इमिग्रेसनले अरु सर्त पुगेको छ भने भिसाको प्रक्रियालाई रोक्न मिल्दैन। गएको जुलाईदेखि नर्सिङका विद्यार्थीको हकमा भने हेल्थ प्रोफेसनलहरूलाई प्राक्टिस गर्नका लागि रेजिस्ट्रेसन दिने संस्था आप्राले पनि नर्सिङ पढाउने ससाना कलेजमाथि निगरानी गर्न थालेकाले यो समस्या आएको हो। यो क्रम दोहोरिइरहनेछ। यसबाट बच्नका लागि यदि तपाईंको उद्देश्य दुई–चार लाख मात्र नभएर उच्च शिक्षा पनि हो भने कम्तीमा पनि कलेजको सट्टा टेफ वा युनिभर्सिटीमै आउनुहोस्। कुर्नु परे एक सेमेस्टर कुर्नुहोस्। एक वर्ष कुर्नुहोस्। तपाईंहरूको सञ्चार सीप पनि राम्रो छ। तपाईं आफैँले युनिभर्सिटीहरूसँग सम्पर्क गर्न पनि सक्नुहुन्छ किनकि टोल टोलमा शैक्षिक परामर्शदाता छन् जसले आधारभूत ज्ञान पनि लिएका छैनन्। केही ठूला कन्सल्टेन्सीले आफ्ना कर्मचारीहरूलाई नेपालबाटै पनि यताबाट योग्य शैक्षिक एजेन्ट परामर्शदाताको कोर्स गराएर राखेका छन् र सकभर त्यस्ता कल्सल्टेन्टसँग मात्र सल्लाह लिनुहोस्। हाम्रो सरकार अहिले हामीलाई ठूला ठूला समृद्धिका सपना देखाउनमै व्यस्त छ, हामी जस्ता देशमा पेट पाल्न नसकेर पलायन हुन लागेकाको सरोकार राख्ला भनेर भर नपर्नुस्। तपाईंको सबैभन्दा ठूलो भर तपाईं स्वयं नै हो। 
विद्यार्थी भाइबहिनीहरू ! आउनु अगाडि केही कुरामा ध्यान दिनुहोस्। यो त मलाई पनि थाहा छ, तपाईंको पुख्र्यौली अचुक सम्पत्ति छैन भने, तपाईंको परिवारमा कोही भ्रष्टाचारी छैन र कालो धनलाई सेतो बनाउनका लागि तपाईं विदेश आउँदै हुनुहुन्न भने वा तपाईं कुनै ठूलै व्यापारीको घरमा जन्मिनु भएको छैन भने तपाईंको अस्ट्रेलिया यात्रा मैले १२ वर्ष अगाडि तय गरे जस्तै हुनेछ। कम्तीमा पनि पाँच दश वर्ष बस्ने। कोर्स पूरा गर्ने र केही पैसा बचाएर नेपाल फर्किने। प्रविधि र अवसरको आवरण पृथक् छ तर विद्यार्थीको संघर्षको आयतन झनै विशाल हुँदै छ। एक दशक अगाडि अस्ट्रेलियाले नर्सिङ र अन्य विषयमा दक्ष जनशक्ति आफ्नै देशमा तयार गर्न सकिरहेको थिएन। उनीहरूलाई वास्तवमै हामी चाहिएको थियो। अहिले त्यो अवस्था छैन। त्यसैले सरकारले कम्तीमा पाँच वर्ष रिजनल अर्थात् दुर्गम स्थानहरूमा जानैपर्ने वातावरण बनाउँदै छ। तपाईंहरूलाई त्यस्ता ठाउँहरूमा एक्लै बसेर पढ्न र काम गर्न कठिन हुन्छ। तपाईंहरू नेपालबाटै परिपक्क हुनुस्। केही ससाना काम गर्न थाल्नुस्। परिपक्क हुनुहुन्छ भने पार्टनरसँग आउनुस्। जागिर र अन्य समस्याहरू थपिँदै गएकाले सकभर ब्याचलरसम्म पढेर केही अनुभव सँगालेर आउनुभयो भने यताका संघर्षहरूसँग जुध्न सक्नु हुनेछ। म आफ्नो अनुभवको आधारमा मात्र यो सल्लाह दिइरहेको छु। कोही आफन्त छन् भने उनीहरू बसेकै सहरमा आउन खोज्नुस्। नेपालमा ठाक्कठुक्क गर्ने आफन्त पनि यता प्यारो लाग्छ। 
एजेन्टले तपाईंको कोर्स पूरा नभइन्जेल कलेजबाट कमिसन पाउँछन्। त्यसमाथि पनि उनीहरू गैरजिम्मेवार परिदिए भने, जस्तो ठाउँलाई पनि राम्रो हो भनिदिन सक्छन्। विद्यार्थीहरू तपाईंहरू पनि छ महिना ढिलो अस्ट्रेलिया गइयो भने यहाँको रुखमा फल्ने सबै पैसा अरुले टिपिदिन्छन् जस्तो गरेर जस्तो पायो त्यस्तै कोर्समा, जस्तो पायो त्यस्तै कलेजमा, जस्तो पायो त्यस्तै एजेन्टमार्फत नआउनुस्। तपाईंहरूको पुस्ता सबैभन्दा स्मार्ट पुस्ता हो। अलिकति रिसर्च गर्नुस्। अलिकति जिम्मेवार बन्नुहोस्। यो तपाईंको आफ्नै भविष्यको विषय हो। अनि अलिकति रिसर्च गर्दा यो पनि थाहा पाउनुहुनेछ कि अस्ट्रेलियामा वा कुनै पनि देशमा रुखमा पैसा फल्दैन।
अन्त्यमा फेरि दोहोर्‍याउन चाहन्छु, छिटो गलत निर्णग लिनुभन्दा ढिलो सही निर्णय गर्दा जीवन सजिलो हुनेछ। यो देश नराम्रै पनि छैन। अलिकति धैर्य बोकेर सही निर्णय लिनुभयो भने, यो देश तपाईंका लागि पनि अवसरहरूको देश बन्नेछ, होइन भने बर्बादीको।
(अस्ट्रेलियामा स्वास्थ्य सेवामा व्यवस्थापकका रूपमा कार्यरत साहित्यकार सजी १२ वर्षदेखि त्यहाँ छन्।)

प्रकाशित: १० फाल्गुन २०७५ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App