८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतले अन्तर्राष्ट्रिय बैठकमा पाकिस्तानविरुद्ध दबाब दिने

नयाँ दिल्ली – आतंकवादीलाई आर्थिक सहयोग गर्ने राष्ट्रको सूचीमा पाकिस्तानलाई पनि राख्न भारतले दबाब दिने भएको छ। 

विवादित कास्मिरमा गत साता भएको आतंकवादी हमलामा पाकिस्तानको संलग्नता रहेकोबारे आफूसँग गतिलो प्रमाण रहेको बताउँदै आएको भारतले पाकिस्तानलाई आतंकवादीलाई आर्थिक सहयोग गर्ने राष्ट्रको सूचीमा राख्न दबाब दिने बताइएको छ।

पाकिस्तान आधारित जैस–ए–मोहम्मद नामक इस्लामिक लडाकु समूहले जिम्मेवारी लिएको सो आक्रमणमा भारतले दोष लगाएजस्तो आफ्नो कुनै संलग्नता नरहेको पाकिस्तानले बताउँदै आएको छ। उसले भारतलाई आफ्नो संलग्नताबारेको प्रमाण देखाउन चुनौतीसमेत दिएको छ भने कास्मिर आक्रमणबारे अनुसन्धानका लागि इस्लामाबादले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

आतंकवादीलाई आर्थिक सहयोग गर्ने राष्ट्रको सूचीमा पाकिस्तानलाई राख्नका लागि भारतले आसन्न ‘द फाइनान्सियल टास्क फोर्स (एफएटिएफ)’ को बैठकमा दबाब दिने तीन भारतीय अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

आतंकवादलाई प्रदान गरिने आर्थिक सहयोगसँग लड्न र सम्पत्ति सुद्धिकरणका लागि स्थापित विश्वव्यापी अंग एफएटिएफ को यसै साता फ्रान्सको पेरिसमा बैठक हुँदैछ। सो बैठकमा पाकिस्तानले भारतको दबाबमा आतंकवादी गतिविधिमा पर्याप्त नियन्त्रण गर्न नसकेको भन्दै सदस्य राष्ट्रहरुको चौतर्फी विरोधको सामना गर्न सक्ने रोयटर्सले उल्लेख गरेको छ।

यस विषयमा काम गरिरहेका भारतका दुई कर्मचारीले भने ४० जना भन्दा बढी अर्धसैनिक प्रहरीको मृत्यु हुने गरी गत साता कास्मिरको पुलवामा जिल्लामा गराइएको आत्मघाती कार बम विस्फोटबारे एफएटिएफलाई जानकारी  गराइएको बताएका छन्।

तेस्रो भारतीय अधिकारीले भने जैस–ए–मोहम्मदले गरेको गतिविधिबारेको विस्तृत जानकारी एफएटिएफलाई  गराइएको बताएका छन्।

गत वर्षको जुन महिनादेखि पाकिस्तान सो संगठनको खैरो सूचीमा परेको छ। पाकिस्तान खराब अर्थतन्त्रसँग जुधिरहेकै बेला खैरो सूचीमा परेपछि उसलाई अन्तर्राष्ट्रिय बजारको पहुँचमा थप अप्ठेरो परेको थियो। सूचीमा परे पनि कुनै कानुनी बाध्यता भने पाकिस्तानलाई छैन। यद्यपि उसले थप अन्तर्राष्ट्रिय निरीक्षणको भने सामना गर्नुपर्ने हुन्छ।

गत साता भारत प्रशासित कास्मिरमा अर्धसैनिक प्रहरी अधिकारी चढेको बसमा विस्फोटक पदार्थले भरिएको कार लगेर ठोकाइएको थियो। बससँग कार ठोक्किनेबित्तिकै विस्फोट भएको थियो। सो आाक्रमण आत्मघाती आक्रमण थियो। आक्रमणपछि परम्परागत दुई शत्रु राष्ट्र भारत र पाकिस्तानबीचको विवाद थप चुलिएको छ।

प्रकाशित: १० फाल्गुन २०७५ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App