coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

होम–स्टेले बदलिएको आफर गाउँ

होम–स्टेमा रमाउँदै वीरेन्द्रनगरको प्रतिक्षा मन्टेश्वरीका विद्यार्थी। तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेत – दुई वर्षअघिसम्म वीरेन्द्रनगर–१३ आफर गाउँकी विमला विकलाई चुल्हो बाल्नका लागि पनि श्रीमानको भर पर्नुपर्दथ्यो। श्रीमानले भारतमा मजदूरी गरेर कमाएको पैसाले यहाँ परिवारको दैनिकी चल्थ्यो।

घर–परिवार पाल्न र छोराछोरीको शिक्षाका लागि श्यामबहादुर अधिकांश समय भारतमै मजदूरी गर्थे। अहिले अवस्था फेरिएको छ। विमलालाई दैनिक खर्च चलाउन श्रीमानको भर पर्नुपर्दैन्। श्यामबहादुरलाई कमाउनका लागि भारत गइरहनुपर्ने बाध्यता छैन। ‘दुबै जना मिलेर घरमै मासिक ३०–४० हजार रुपियाँ कमाउँछौं’ विमलाले भनिन्, ‘आम्दानी मात्रै होइन्, समाजका लागि पनि उदाहरणीय बनेका छौं।’

आफर गाउँका शंकर सुनारले दुई वर्षसम्म साउदी अरवमा पसिना बगाए। साउदी जाँदा लिएको ऋण पनि तिर्न नसक्ने अवस्था भएपनि उनी घर फर्के। दुई वर्षको अवधिमा गाउँमा उल्लेख्य प्रगति भइसकेको थियो। ‘गाउँमा गरीखाने मेसो थिएन, मजदूरी गर्न भारत जाने सोचका साथ आएको थिएँ’ शंकरले भने, ‘गाउँमा धेरै परिवर्तन भइरहेको रहेछ, साउदीको भन्दा राम्रो आम्दानी यहीँ गरिरहेको छु।’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारदेखि आठ किलोमिटर उत्तरपूर्वको आफर गाउँमा ६० घरधूरी छन्। तीमध्ये ५८ घरधूरी दलित समुदायका हुन्। २०७३ देखि यहाँका महिलाहरुले नमूना गाउँ निर्माणको अभियान थाले। सँगै आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउनका लागि होम–स्टे (घरबास) सञ्चालनमा ल्याए। ‘गाउँमा पुरुष भेट्नै गाह्रो हुन्थ्यो, अधिकांश कमाउनका लागि भारत जान्थे,’ आफर नमूना गाउँ मूल समितिकी सचिव रचना बाँठाले भनिन्, ‘नमूना गाउँ निर्माण र होम–स्टे सञ्चालन गरिएपछि अहिले यहाँका कुनै पनि पुरुषहरु मजदूरी गर्न बाहिर जानु परेको छैन।’

गाउँका ६० मध्ये १२ घरधूरीले होम–स्टे सञ्चालनमा ल्याएका छन्। गाउँमा उत्पादन हुने कृषिजन्य तथा खाद्यान्न सामग्री अधिकांश होम–स्टेमै खपत हुन्छन्। नमूना गाउँका लागि आवश्यक ३९ वटा सूचक बनाइएका छन्। ती सूचक पूरा गर्नका लागि नौवटा उपसमिति गठन गरिएका छन्। गाउँका सबै घरहरु सिंगारिएका छन्। घर–आँगन र बाटोघाटोमा फोहर देखिँदैन। शिक्षा, स्वास्थ्य, आयआर्जन र सशक्तीकरणमा गाउँ अग्रणी छ। प्रत्येक घरधूरीले अर्गानिक तरकारी खेती गरेका छन्। पशुचौपाया पनि पालेका छन्। स्थानीयले उत्पादन गरेका कृषिजन्य वस्तु खरिद र बजारीकरणको जिम्मा नमूना गाउँ मूल समितिले लिएको छ।

होम–स्टेमा स्वदेशीभन्दा विदेशी पाहुनाको घुइँचो लाग्छ। ‘सात घरबाट सुरु भएको होम–स्टे १२ घरमा विस्तार गरेका छौं, अबको एक वर्षभित्रै सबै घरमा होम–स्टे सञ्चालनमा ल्याउँछौं,’ सचिव बाँठाले भनिन्, ‘होम–स्टेले सिंगो गाउँकै आयआर्जनमा वृद्धि भएको छ।’ नमूना गाउँ निर्माणका लागि समाज जागरण केन्द्र (स्याक नेपाल)ले सहयोग गरेको छ। स्याकले गठन गरेका आफर किशोरी संवाद केन्द्र, फूलबारी किशोरी संवाद केन्द्र र जागृति स्वावलम्बन समूहले नमूना गाउँको अवधारणा ल्याएका थिए।

नमूना गाउँबाट वीरेन्द्रनगर उपत्यकाको दृष्यवलोकन गर्न सकिन्छ। गाउँलाई पर्यटकीय केन्द्र बनाउनका लागि भ्यूटावर निर्माण गर्न लागिएको छ। ‘अहिले होम–स्टेमा आउने पाहुनाका लागि सिस्नोको परिकार, मकै र कोदोको ढिँडोका साथै स्थानीय संस्कृति प्रदर्शन गर्ने गरेका छौं,’ अध्यक्ष डिलबहादुर विकले भने, ‘भ्यूटावर निर्माणपछि आन्तरिक तथा बाह्य पाहुनाको संख्यामा वृद्धि हुने अपेक्षा हामीले गरेका छौं।’

प्रकाशित: १० फाल्गुन २०७५ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App