८ वैशाख २०८१ शनिबार
अर्थ

खाद्य स्वच्छता कायम राख्न होटेल तथा रेस्टुरेन्टलाई आग्रह

बनेपा – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले काभ्रेसहित  सिन्धुपाल्चोक र दोलखा जिल्लाका सामान्य होटल, रेस्टुरेन्ट, रिसोर्ट तथा सरकारी क्यान्टिनका खाद्य सामग्री अनुगमन गर्ने भएको छ।

यसै अनुरुप कार्यालयले प्रथम चरणमा धुलिखेलका रिसोर्ट तथा स्तरीय लजका भान्सा तथा त्यहाँ पाक्ने गरेका खाद्य सामग्री अनुमगन गरेको छ। दोस्रो चरणमा धुलिखेल र आसपासका सामान्य होटल, रेस्टुरेन्ट तथा सरकारी कार्यालयका क्यान्टिनको अनुगमन हुने जनाएको छ।

‘सबै सरोकारवालालाई सुरक्षित खाद्य सामग्री तयार गर्ने र तयारी खाद्य सामग्रीको भण्डारण तरिकाबारे तालिम दिन थालेका छौं। यतिखेर सदरमुकाम धुलिखेलका सामान्य होटल, रेस्टुरेन्ट तथा सरकारी कार्यालयका क्यान्टिन सञ्चालकलाई तालिम दिएका छौं,’ डिभिजन प्रमुख एवं खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले भने, ‘तालिम पाएका व्यक्तिलाई होटल तथा रेस्टुरेन्टको स्तरीकरण मूल्यांकनका सूचकांक पठाएका छौं। यसैको आधारमा उनीहरुले अपनाएको खाद्य सुरक्षास्तर वर्गीकरण गर्छौं। त्यसपछि स्तरीकरण लोगो प्रदानको प्रक्रिया अघि बढ्नेछ,’ उनले थपे।
जिल्लामै पहिलो पटक नमूना (पाइलटिङ)का रुपमा डिभिजनले धुलिखेलका सामान्य होटल, रेस्टुरेन्ट तथा सरकारी कार्यालयका क्यान्टिनलाई खाद्य स्वच्छताबारे दुईदिने तालिम प्रदान गरेको हो। तालिममा नेपाली सेनाको खड्गदल गण, जिल्ला प्रहरी, जिल्ला प्रशासन र शैक्षिक तालिम केन्द्र र काठमाडौं विश्वविद्यालयको क्यान्टिन सञ्चालक र धुलिखेल बजार र आसपासका साना होटल सञ्चालक सहभागी थिए।

तालिमका क्रममा भान्सा र काम गर्ने व्यक्तिको सरसफाइ, पकाएको र नपकाएको खाद्यवस्तुलाई छुट्टाछुट्टै राख्ने, राम्ररी पकाउने, सामान्य सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने, सुरक्षित पानी र खाद्य वस्तुमात्र प्रयोग गर्ने कुराहरु सिकाइएको थियो।

भगवती खाजाघरकी सञ्चालिका उत्तममाया श्रेष्ठले नपकाएको माछामासु जस्ता खाद्यवस्तुलाई छुट्टाछुट्टै राख्नुपर्ने जानकारी तालिमबाटै पाएको बताइन्। ‘खानेकुरा मिसाएर राख्न नहुने रहेछ। साथै नपकाएको खानाका निम्ति प्रयोग गरिने चक्कु, चपिङ बोर्डजस्ता सामग्रीलाई छुट्टाछुट्टै प्रयोग गर्ने, पकाएको, नपकाएको खाद्यवस्तुलाई नमिसिने गरी छुट्टाछुट्टै भाँडोमा राख्नु पर्नेजस्ता धेरै कुराको ज्ञान पाइयो,’ उनले थपिन्।

काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले विगतमा प्रशासनले होटल तथा रेस्टुरेन्ट अनुगमन गर्दै आएको भए पनि जिल्लामा खाद्य निरीक्षक नहुँदा समस्या हुने गरेको बताए। ‘अब अनुगमन गरिरहेकै समयमा समेत खाद्य सामग्रीको गुणस्तरको अवस्थाबारे बताउन सकिने उपकरण र सम्बन्धित प्राविधिक जिल्लामै उपलब्ध हुँदा उपभोक्तामा खाद्य स्वच्छताको प्रत्याभूति हुनेमा विश्वस्त हुन सकिन्छ,’ उनले थपे।

क्षेत्रीय होटल संघकी सचिव जोत्सना सैंजुले अझै पनि  होटल तथा रेस्टुरेन्टमा बिहान पाकेको खाना साँझसम्म पस्किने बानीले एकातिर खाना बिग्रने र अर्कोतर्फ उपभोक्तालाई हानी नोक्सानी गर्ने भएकाले यसतर्फ सचेत रहन आग्रह गरिन्। ‘सामान्य तापक्रममा खानालाई दुई घण्टाभन्दा बढी राख्न हुँदैन। पकाएको र तत्काल बिग्रने खाद्य पदार्थलाई पाँच डिग्री सेन्टिग्रेटभन्दा कम तापक्रममा फ्रिजमा राख्ने बानी बसाल्नु पर्छ। ग्राहकलाई पनि ६५ डिग्री सेन्टिग्रेडमाथिको तापक्रममा तातो खुवाउने गरी व्यवस्था गरेमामात्रै खाद्य स्वच्छता कायम गर्न सकिन्छ,’ उनले सुझाइन्।

यसैबीच, डिभिजनले तालिममा सहभागी भएका होटेल, रेस्टुरेन्ट र क्यान्टिनको धुलिखेल नगरपालिका, धुलिखेल उद्योग वाणिज्य संघ र क्षेत्रीय होटल संघसँगको सहकार्यमा नियमित अनुगमन गर्ने योजना बनाएको छ। चाँडै नै सिन्धुपाल्चोक र दोलखा जिल्लाका होटल र रेस्टुरेन्ट सञ्चालकलाई पनि खाद्य स्वच्छता तालिम प्रदान गरिने भण्डारीको भनाइ छ। ‘स्थानीय तह, उद्योग वाणिज्य संघ र होटल संघको समन्वयमा तालिम प्रदान गर्ने र त्यसपछि अनुमगन प्रक्रिया अघि बढाइनेछ,’ उनले थपे।

प्रकाशित: १० फाल्गुन २०७५ ०१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App