coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सौर्य एयरलाइन्स ६२ करोडमा बिक्री

काठमाडौं – विमानस्थल प्रयोगबापतको शुल्क नतिरेपछि ग्राउन्डेड गरिएको सौर्य एयरलाइन्स अन्ततः ६२ करोड रुपैयाँमा बिक्री भएको छ। 

गत पुस २० देखि उडान बन्द भएको सौर्य एयरलाइन्स भारतीय कुबेर समूहको क्लव वान कम्पनीले किनेको हो। एयरलाइन्सले यसअघि चीनको एक कम्पनीसँग बिक्री प्रक्रिया अघि बढाएको थियो। उक्त कम्पनीसँग कुरा नमिलेपछि भारतीय कम्पनीलाई ६२ करोड रुपैयाँमा कम्पनीको पूर्ण स्वामित्व बिक्री गरिएको हो। 

भारतीय कम्पनीले नेपाली व्यवसायीसँग साझेदारीमा कम्पनी खरिद गरेको सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार बिक्री प्रक्रियाको आवश्यक दस्तावेजमा हस्ताक्षर भइसकेको छ। रकम भुक्तानी बाँकी छ।

चार वर्षअगाडि जेट इन्जिन विमानबाट आन्तरिक उडान थालेको यो कम्पनीले बजार विस्तार गर्न नसक्दा आर्थिक संकट भोग्दै आएको थियो। यससँग दुईवटा विमान छन्। ऋण चुक्ता नगरेको भन्दै गत पुस २७ मा सौर्य एयरलाइन्सको नाममा जनता बैंकले रकम भुक्तानीका लागि ३५ दिने सूचनासमेत प्रकाशित गरेको थियो। नोक्सानी बढ्दै जाँदा कर्मचारीलाई तलब समेत खुवाउन सकिरहेको थिएन।
कम्पनीले सिआरजे–२०० जहाजबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा नियमित उडान गर्दै आएको थियो। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेबापतको बक्यौता नतिरेपछि विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले विमान ग्राउन्डेड गराएका थिए। 

एयरलाइन्सले विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ। सोही बापत कम्पनीले विमानस्थललाई चार करोडभन्दा बढी रकम बुझाउन बाँकी छ। क्षेत्रीका अनुसार पेनाल्टी थप भएर अहिले यो रकम बढेको छ। कम्पनी जसले खरिद गरे पनि बक्यौता नबुझाएसम्म नछोडिने उनले बताएका छन्। भारतीय समूहले अप्रिल ४ बाट विमान नियमित उडान गर्ने योजना अघि सारेको छ।

प्रकाशित: १० फाल्गुन २०७५ ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App