coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मनाङ्लाई पराजित गर्दै भ्याली च्यासल तिलोत्तमा गोल्डकपकाे सेमिफाइनलमा

तस्बिर : विनाेद/नागरिक

रुपन्देही - अफ्रिकी खेलाडी अर्मन्डको गोलबाट लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै भ्याली च्यासल युथ क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

बिहीबार बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा च्यासलका लागि दोस्रो हाफको सुरुआतमै अर्मन्डले एक मात्र निर्णायक गोल गरे। अर्मन्डले ४७औं मिनटमा हेमन्त थापामगरको फ्रिकिक पासमा हेडमार्फत सो गोल गरेका थिए।

सशक्त मनाङसँग च्यासलले कडा प्रतिस्पर्धा गर्दै जित आफ्नो पोल्टामा पार्यो। मनाङले गोलका लागि केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। पहिलो हाफ गोलरहित बराबरी भएपछि दुवै टोली आक्रामक रूपमा मैदान उत्रेका थिए। 

खेलको अन्तिमतिर प्रकाश बुढाथोकीको फ्रिकिक प्रहार बारमा लागेर फर्कनु मनाङका लागि दुर्भाग्यपूर्ण बन्यो। ५ मिनेटको थप समयलाई पनि मनाङले सदुपयोग गरेन। खेलको उत्तरार्धतिर मनाङले प्रकाशलाई इन्ट्री गराएपछि बल्ल गोलका लागि अवसर जुरेको थियो। च्यासल प्रकाशका तीन प्रहारलाई  रोक्न सफल भयो।

खेल सुरु भएको तेस्रो मिनेटमै च्यासलले फ्रिकिकको अवसर पायो। अमिर श्रेष्ठले गरेको सो प्रहारलाई मनाङका गोलकिपरले छोपेका थिए। २९औं मिनेटमा मनाङका हेमन गुरुङको पासमा विदेशी खेलाडी अफेजले हानेको बल सफल भएन।
यस जितसँगै सेमिफाइनलमा पुगेको च्यासलले अन्तिम चारमा नेपाल पुलिस क्लबको सामना गर्नेछ। च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले मनाङसँग डर लागे पनि खेलाडीहरूले राम्रो गर्दा सफलता हात लागेको बताए। उनले भने, ‘खेलाडी पूर्ण तयारीका साथ उतारेका छौं, पुलिसलाई पनि जित्ने विश्वास छ।’

लिग च्याम्पियन बनेको मनाङले पछिल्लो प्रतियोगितामा भने सफलता हात पार्न सकेको छैन। मनाङका प्रशिक्षक सुमन श्रेष्ठले केही खेलाडी रेस्टमा राख्दा असर परेको बताए। उनले भने, ‘सुरुआतदेखि नै आक्रामक खेल्ने र २० मिनेटमा नतिजा निकाल्ने हाम्रो तयारी हो, तर त्यसअनुसार खेल भएन, त्यसैले हारियो।’  पुरानालाई रेस्टमा राखेर नयाँलाई अवसर दिँदा पनि नतिजा निकाल्न कठिनाइ भएको उनले बताए।

बिहीबारको खेलको म्यान अफ दी म्याच च्यासलका गोलरक्षक दिनेश थापामगर घोषित भए। प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो सेमिफाइनल आयोजक लाली रूपन्देही–११ र दाउफिन्स एफसी, क्यामरुनबीच हुनेछ। बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा जिल्ला फुटबल संघ रूपन्देहीको आयोजनामा जारी प्रतियोगितमा विजेताले नगद ८ लाख ८० हजार पुरस्कार, कप, मेडल प्राप्त गर्नेछ। 

प्रकाशित: ९ फाल्गुन २०७५ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App