coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘देउता’ बनाउने मान्छे

काठमाडाैं - काठमाडौंमा पहिलो पाइला टेक्दा उदयबहादुर तामाङ १६ वर्षका थिए। अल्लारे उमेर। खाउँ–खाउँ, लाउँ–लाउँ भन्ने उमेर। यसलाई धेरैले मस्ती गर्ने उमेर पनि भन्छन्।

‘उमेरमा मात्र अल्लारे भइयो, जिम्मेवारीले फुक्काफाल हुन कहाँ दियो र!’ तामाङ भन्छन्, ‘रहर त मलाई पनि थियो– घुमेर हिँड्ने, मोजमस्ती गर्ने।’

काम जे भए पनि हुन्थ्यो। बस्, पैसा कमाउनु थियो तामाङलाई। काम पाए ह्यान्डिक्राफ्ट पसलमा। ‘सोलुको एउटा दाइको पसल थियो। उनले मलाई काममा राख्ने भए। खान बस्न, तलब पनि दिने। ढुंगा खोज्दा देउता मिलेजस्तो भयो,’ उनले खुसी हुँदै भने। दिउँसभरि पसलमै बसिरहनुपर्ने। ग्राहकहरूसँग मोलतोल गर्नुपर्ने।

आमा बित्दा तामाङ १२ वर्षका थिए। त्यो क्षण उनलाई प्रस्ट सम्झना छ। ‘आमा भएको भए मेरो संसार अर्कै हुने थियो,’ उनले भने। ७ छोराछोरीमा उनी साइँला। परिवारको आर्थिक अवस्था खासै गतिलो थिएन। अलिअलि भएको जग्गाजमिन पनि गाउँकै साहुले हडपेको थियो। ‘उहिल्यै जिजु बाजेले ६ हजार ऋण लिनुभएको रे साहुबाट। थाप्लामै ऋण राखेर उहाँ बित्नुभयो। त्यो पैसा बाजेले पनि तिर्न सकेनन्। बुवाहरू २ दाजुभाइ, उहाँहरूसँग पनि पैसा भएन,’ तामाङ थप्छन्, ‘साहुले ब्याज बढाएर डरमर्नु बनाएको थियो, कसरी तिर्नू? केही समयअघि हामी छोराछोरी खलक मिलेर तिर्यौं। साहुका छोराछोरीहरूमा त्यही हाम्रो जग्गालाई लिएर मनुमटाव भएपछि ऋण तिर्न सजिलो भयो।’ जग्गा धेरै पनि थिएन । ‘पुर्खाले आर्जेको भनेर मात्र जग्गा लिन मरिमेटेको । नत्र भने त्यहाँ उब्जेको अन्नले २/३ महिना पनि खान पुग्दैन,’ उनले भने।

स्कुले उमेरका तामाङ। आमाले दुःखजिलो गरेर उनलाई स्कुल पठाइरहेकी नै थिइन्। आमा बितेपछि संकट आइलाग्यो। कुन पैसाले पढ्ने, कसरी घर खर्च चलाउने। खानलाउनै समस्या। ‘आमा हुन्जेल घरबार कसरी चल्यो भनेर वास्तै थिएन। फेरि, म त बच्चै थिएँ,’ उनी विगत सम्झन्छन्, ‘आमा बितेपछि बुवालाई घरबारको चासो नै भएन। त्यसपछि हाम्रो बिचल्ली।’ ७ कक्षासम्म जसोतसो पढे उनले। त्यसभन्दा माथि पढ्न पैसा भएन। स्कुल पनि टाढा। अब पढाइ हैन, पैसा कमाएर ज्यान पाल्नुपर्छ भन्ने लाग्यो उनलाई। यही सोचले उनलाई काठमाडौं ल्याइपुर्‍यायो।
एक बिहान उनी सिन्धुपाल्चोक, तालामाराङस्थित घरबाट काठमाडौंतिर लागे। परिवारमा कसैलाई थाहै नदिई भागे। त्यतिबेलासम्म उनका दुई दाइ काठमाडौंमै बस्थे। उनी दाइहरूको कोठामा हैन, ठूलोबुवासँग बस्न गए। त्यहाँ ३/४ दिन बसे। काठमाडौं बस्न हैन, काम गर्न आएका थिए।  ‘त्यसपछि ठमेलको एउटा होटलमा काम पाएँ र त्यहीँ बस्न थालेँ,’ उनले भने।

काम जे भए पनि हुन्थ्यो। बस्, पैसा कमाउनु थियो तामाङलाई। काम पाए ह्यान्डिक्राफ्ट पसलमा। ‘सोलुको एउटा दाइको पसल थियो। उनले मलाई काममा राख्ने भए। खान बस्न, तलब पनि दिने। ढुंगा खोज्दा देउता मिलेजस्तो भयो,’ उनले खुसी हुँदै भने। दिउँसभरि पसलमै बसिरहनुपर्ने। ग्राहकहरूसँग मोलतोल गर्नुपर्ने। ह्यान्डिक्राफ्ट पसलछेउमा एउटा मान्छे सधैं ढुंगामा के–के खोपेर बसिरहेको देख्थे उनी। त्यो मान्छे बोराभरि ढुंगा हालेर बिहानै त्यहाँ आउँथ्यो। त्यसपछि ढुंगमा के–के जाति खोपेर बस्थ्यो। ‘टुक–टुक पारेको सुनिरहन्थेँ म,’ उनको दिमागमा ती दिन ताजै छन्। त्यसरी ढुंगामा छिनो चलाएको नदेखेका उनलाई त्यो दृश्य रमाइलो लाग्यो। तामाङ पनि पसलमा ग्राहक नआएको क्षण बेलाबेला त्यहाँ पुग्न थाले।
पछिपछि स्वयम्भू जाँदा पनि उनले यस्ता ढुंगा खोप्दै गरेका मान्छेको लाइन देख्थे। उनले तिनीहरूसँग कुरा गरे। किनबेचको कुरा गरे। आम्दानी सोधे। ढुंगा खोप्नुको कठिनाइको कुरा गरे। 
त्यसपछि उनलाई लाग्यो, ‘ढुंगा खोप्न जानियो भने भोकै मनुपर्दैन। यो सीप हो।’

‘त्यही पसल अगाडिको दाइसँग ढुंगा मागेर मैले पनि ढुंगा खोप्न थालें,’ उनले भने, ‘खोप्ने छिनो पनि उनैले दिएका थिए।’ उनले रातभरि ढुंगा टुकटुक पार्न थाले। दिउँसो सिक्न भ्याइँदैन थिए, पसलमा काम गर्नुपथ्र्याे। पसलबाट छुट्टी भएपछि उनको कामै ढुंगा खोप्ने बन्यो। टुक्राटुक्री ढुंगामा उनले थरीथरीका चित्र बनाउन थाले। कतिपय ढुंगा खोप्दाखोप्दै फुट्यो। केहीले आकार पाए। ‘यो काम मबाट पार लाग्दैनजस्तो लागेको थियो,’ उनले भने। मेहनत गरेपछि किन नसकिनु! उनले सिकेरै छाडे।

ढुंगामा पहिलो पटक ‘ॐ’ लेख्दा उनको खुसीको सीमा रहेन। ॐ खोपेको त्यो चेप्टो ढुंगा उनले आफू काम गर्ने ह्यान्डिक्राफ्ट पसलको एउटा टेबलमा राखे। कुइरे आएर त्यो ढुंगा खुब हेर्याे। तामाङले सोचे, ‘मैले लेख्न जानेनछु। नत्र भए किन हेरिरहन्थ्यो त्यसले। सिकारुले खोपेको के राम्रो होस्?’ विदेशीले उनलाई बोलाएर भन्यो, ‘कति रुपैयाँ?’ कति–कति? यस्तो ढुंगा कहिले बेचेको भए पो! उनले नसोचिकन दाम भनिदिए– ४ सय। ४ सय रुपैयाँमा आफ्नो परिश्रमलाई तामाङले बेचिदिए। उनलाई लाग्यो– म पनि ढुंगा खोप्न सक्ने रहेछु। त्यसपछि उनले ढुंगा खोप्ने काम नै थाले।
ठमेल खाद्य संस्थान चोक नजिकै उनले यही ढुंगा व्यवसाय गरेका छन्, हिँजोआज। यो पसल खोलेको १२ वर्ष पुग्यो। पसलभरि विभिन्न चित्र कुँदिएका ढुंगा सजाएर राखिएका छन्। धेरै ढुंगामा त ‘ओम माने पेमे हुँ’ लेखिएको छ। हिन्दु देवीदवताको स्केच कुँदिएका ढुंगा पनि थोरै छैनन्। मूर्ति पनि प्रशस्तै छन्। ‘धेरै त मैले देउता नै बनाएँ होला,’ उनले भने, ‘बिक्ने चिज तिनै हुन्।’

चित्र बनाउन उनी धादिङ, कालीदह, भैंसेपाटीजस्ता ठाउँबाट ढुंगा मगाउँछन्। महाराजगञ्जमा त उनको आफ्नै ढुंगा काट्ने मेसिन पनि छ। ११ जना उनीसँग काम गर्ने मान्छे छन्। वर्षमा झण्डै २ ट्रक ढुंगा आफूले बेच्ने गरेको बताउँछन् उनी। 

‘हिँजोआज सबैखाले ढुंगामा चित्र खोप्न सक्छु,’ उनले भने, ‘पहिलेजस्तो गाह्रो हुँदैन। अब बानी परिसकियो।’
ढुंगामा चित्र खोप्ने क्षमता प्रदर्शन गर्न उनी थुप्रै देश पुगिसकेका छन्। एक जना तिब्बती नागरिक ठमेलस्थित उनको पसलमा आइरहन्थ्यो। तामाङको काम ध्यानसित हेथ्र्याे। एकदिन उही तिब्बतीले प्रस्ताव राख्यो, ‘मसँग विदेश जान्छौ?’ तामाङलाई उनको प्रस्तावले छक्क पार्याे। ‘बल्ल बल्ल खान लाउन पुग्ने पैसा कमाउन थालिएको छ, कताको विदेश जानु, सौखिन पल्टेर!’ तामाङले त्यतिबेला फर्काएका जवाफ यिनै हुन्। अन्ततः इटालीको सान्द्रेमामा भएको आर्ट एक्जिबिसनमा तिब्बतीले उनलाई त्यता लाने नै भए।
केही जोर कपडा र झोलाभरि ढुंगा बोकेर उनी इटाली हिँडे। त्यहाँ भइरहेको एक्जिबिसनमा उनले ‘लाइभ’ ढुंगा खोपे। त्यसपछि उनी फ्रान्स, स्पेन, स्विजरल्यान्डसम्म पुगिसकेका छन्, ढुंगा खोप्न। ‘विदेशमा हाम्रो कला खुबै बिक्ने रहेछ। विदेशमा सबै सामान मेसिनले बनाउने, हामीले हातले बनाएको देखेर उनीहरू अचम्ममा पर्थे,’ तामाङ हास्दै भन्छन्। सान्द्रेमामा त नेपालबाट लगेको ढुंगा सकिएर उहीँको समुन्द्रको ढुंगामा चित्र कोरे उनले। भन्छन्, ‘विदेशमा हाम्रा ह्यान्डिक्राफ्ट पठाउन सक्ने हो भने राम्रो व्यवसाय हुन्छ। तर, यहाँ धेरै बाधा छ।’

यस्ता सामानहरूको विदेशमा निकै ठूलो मूल्य देख्छन् तामाङ। सरकारले यस्ता ह्यान्डिक्राफ्ट विदेशमा निर्यात गर्ने वातावरण बनाइदियोस् भन्ने अपेक्षा राख्छन् उनी। ‘हिजोआज उता(विदेश)बाट अर्डर आयो भने पठाउँछौँ। मैले यहाँबाट अर्डरबिना बाहिर लानुपर्याे भने खानी विभागको बिलदेखि दुनियाँथोक बुझाउनुपर्छ,’ झन्झटिलो पक्रिया सुनाउँछन्, ‘हामीले यताबाट लान सके, उता धेरै बिक्री हुन्थ्यो। त्यस्तो छैन। यहाँबाट बाहिर लैजान गाह्रो छ।’

विदेशमा सहजै आफ्नो कला बेच्ने सुविधा दिएको छैन सरकारले। स्वदेशमै त उनले थुप्रै बेचिसके। ‘कति बेचियो, बेचियो। आफूले बनाएका सामान आफैं चिन्न छाडिसकेँ,’ उनी थप्छन्। 

 

प्रकाशित: ९ फाल्गुन २०७५ १२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App