नेताको गला धान्नै नसक्ने माला

बिहिबार, ०९ फागुन २०७५, १४ : ४३ वसन्त खड्का  | @bashantkdk

1682


काठमाडाैं – नेपाली राजनीतिमा नेताले धान्नै नसक्ने गरी फूलको माला लगाउने र लगाइदिने प्रचलन केही वर्षयता संस्कृतिकै रूपमा विकासित हुँदै गएको छ। राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता, मुख्यमन्त्री र चर्चित युवा नेता धान्नै नसक्ने माला लगाउन पाउँदा दंग हुन्छन्।

यो संस्कृति बुधबार सिमरामा पनि देखियो। बुधबार बिहान बाराको सिमरा पुगेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई स्थानीय कांग्रेस नेताले एक सय ५१ किलोको माला लगाइदिएर माला संस्कृतिलाई निरन्तरता दिए। उक्त माला ३५ हजार रुपैयाँको भएको आयोजक पक्षले जनाएको छ। देउवालाई २०७१ मंसिरमा कैलाली उद्योग वाणिज्य महासंघले पनि १८ किलोको माला लगाइदिएर सम्मान गरेको थियो।

वर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पनि यो संस्कृतिबाट मुक्त छैनन्। उनलाई पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ असोज २६ मा बालकोटस्थित निजी निवासमा ६४ किलोको मालाले स्वागत गरिएको थियो। निर्वाचन अभियानका क्रममा गत वर्ष मंसिरमा झापा पुगेका ओलीलाई गृहनगर दमकमा ४० किलोको मालाले सम्मान गरिएको थियो।

नेकपा अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई २०७३ माघ २९ मा रौतहटमा आयोजित कवि सम्मेलनमा सहभागी हुँदा एक सय २५ किलोको मालाले सम्मान गरिएको थियो। दाहाल प्रधानमन्त्रीका रूपमा रौतहट पुगेका थिए। ०७२ माघ ९ मा मकवानपुर उद्योग वाणिज्य संघले पनि दाहालको गलामा ४९ किलोको माला लगाइदिएको थियो। वाम गठबन्धनका तर्फबाट २०७४ कात्तिकमा निर्वाचन प्रचारका लागि पर्वतको कुश्मा पुगेका नेकपा अध्यक्षद्वय ओली र दाहाललाई पनि धान्नै नसक्ने गरी माला लगाइदिएर सम्मान गरिएको थियो।

नेकपा नेता झलनाथ खनाललाई पनि प्रधानमन्त्रीका रूपमा दाङ जाँदा ४१ किलोको मालाबाट सम्मानित गरिएको थियो। त्यस्तै राजपाका नेता राजेन्द्र महतोलाई पनि २६ पुस ०७३ मा वीरगन्जमा १०१ किलोको मालाले सम्मान गरिएको थियो। उनलाई प्रेस मञ्च नेपालले माला लगाइदिएको थियो।

नेताहरूमा राजाकै प्रतिनिधि ठान्ने प्रवृत्ति र जनतामा अहिले पनि रैतीकै भावना भएकाले माला संस्कृति दुवैको प्राथमिकतामा परेको हो।    – मृगेन्द्र कार्की, निर्देशक, सिनास

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवलाई वीरेन्द्रनगर २१ किलोको मालाले स्वागत गरिएको थियो। उनी २०७० मंसिर २८ मा व्यापार तथा पर्यटन मेलामा सहभागी हुन सु्र्खेतको वीरेन्द्रनगर पुगेका थिए। यसैगरी ०७४ फागुन मा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई वीरगञ्ज उद्योग वाणिज्य संघले एक सय ११ किलोको मालाले स्वागत गरेको थियो।

रौतहटबाट प्रतिनिधिसभा सदस्य भएका प्रभु साहलाई पनि स्थानीयले गत पुस २ गते एक सय एक किलोको मालाले सम्मान गरेका थिए। उनी नेकपा प्रदेश २ का अध्यक्षसमेत हुन्। माला लगाउने संस्कृति पछ्याउनेमा नेपाली कांग्रेसका युवा नेता गगन थापासमेत छन्। उनलाई १२ असोज ०७३ मा नेपालगन्जमा ५१ किलोको माला लगाएर स्वागत गरिएको थियो। यस्तै नेकपा नेता वर्षमान पुन पनि माला लगाउन रुचाउनेमध्येमा पर्छन्।

यी प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। यसबाहेक पनि राजनीतिक दलका कयौं नेता तथा महत्वपूर्ण ओहोदामा बसेका व्यक्ति धान्न नसकिने माला संस्कृतिको पाटो बनेका छन्। यस्तो संस्कृतिको जनस्तरबाट विरोध भए पनि राजनीतिक नेतृत्वले भने ध्यान दिएको पाइँदैन्।

समाजशास्त्री एवं सिनासका निर्देशक प्राध्यापक मृगेन्द्र कार्की माला संस्कृति उपनिवेशवादी मानसिकता (कोलोनियल माइन्डसेट) को उपज भएको बताउँछन्। उनी यस्तो संस्कार नेपालको मौलिक नभएर आयातित भएको दाबी गर्छन्। भारतमा मालिकलाई सेवकले दिने सम्मानकै सिको गर्दै नेपालमा यस्तो प्रचलन भित्र्याइएको कार्कीको तर्क छ।

नेताहरूले आफूलाई राजाकै प्रतिनिधिका रुपमा हेर्ने गरेकाले पनि यस्तो संस्कृतिले प्राथमिकता पाएको उनको भनाइ छ। ‘नेताहरुमा राजाकै प्रतिनिधि ठान्ने प्रवृत्ति र जनतामा अहिले पनि रैतीकै भावना भएकाले माला संस्कृति दुवैको प्राथमिकतामा परेको हो,’ उनले भने। कार्की धान्नै नसकिने माला लगाउने र लगाइदिने दुवैमा समस्या भएको बताउँछन्। ‘यसमा नेतालाई मात्र दोष दिने ठाउँ छैन, जनतामा पनि नेतालाई राजा र आफूलाई रैती ठान्ने प्रवृत्तिले यस्तो समस्या देखिएको हो,’ उनले भने।







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad