coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अन्वेषक शिव रेग्मीः एक मौन साधकको अवसान

हरि अधिकारी 
नेपाली साहित्यका एक अप्रतिम साधक, कुशल निबन्धकार, अन्वेषक र नेपाली साहित्यिक पत्रपत्रिकाका सबैभन्दा ठूला संकलक शिव रेग्मीको ७८ वर्षको उमेरमा बुधबार निधन भयो।अनुशासनबद्ध आहार बिहार, नियमित  व्यायाम, उपयोगी औषधिको सन्तुलित सेवन र सार्थक जीवनयापनप्रति सकारात्मकताका बलमा रेग्मीले उच्च रक्तचाप र मधुमेहको दीर्घरोगलाई लामो समयसम्म नियन्त्रणमा राखेका थिए।

झट्ट हेर्दा रेग्मी पनि हरेक मधुमेहको रोगी जस्तो दुब्लो पातलो र कमजोर देखिन्थे तर यथार्थमा उनलाई कुनै कोणबाट पनि कमजोर भन्न मिल्दैनथ्यो। लामो समयदेखि उनका साथी जस्तै भएका ती रोगहरूका कारण उनको अध्ययन अनुसन्धानको व्यसनमा बित्ने दिनचर्याको नियमिततामा खासै फरक आएको थिएन। 

प्राज्ञिक क्षेत्रका यी कर्मयोगी भद्रपुरुष आफ्नो जीवनको लगभग अन्तिम घडीसम्म पनि आफूले हृदयदेखि नै रोजेर आफ्नो जीवनको सार्थकताको आधार बनाएको पुस्तक, साहित्यिक पत्रपत्रिका र अनुसन्धानको दुनियाँमा चुर्लुम्म डुबिरहेका थिए। आफ्नो उमेर पनि निक्कै धेरै भएको र स्मृतिक्षय (डिमेन्सिया) को रोगबाट अस्वस्थ रहेकी पत्नीलाई घरमा एक्लै छोड्न नमिल्ने भएका कारण उनले केही वर्षदेखि घरबाट टाढा गर्ने साहित्यिक र अरूखाले सामाजिक भेटघाटका कायक्रमहरूमा जान भने छोडेका थिए। उनको हिँडडुलमा आएको कमीलाई बिर्सिदिने हो भने उनी स्वस्थसदृश, प्रसन्नचित्त देखिन्थे र आफ्नो काममा पहिले जस्तै सक्रिय थिए। उनको मानसिक स्वास्थ्य अत्यन्तै सबल थियो। महाप्रस्थान गर्नुभन्दा १ दिन पहिले मात्र पनि मधुपर्क साहित्यिक मासिक पत्रिकाका सम्पादक जयदेव भट्टराईसँग उनको लामो अन्तर्वार्ता भएको थियो। मधुमेहको रोगीका लागि उपयोगी मानिने नियमित प्रातः भ्रमण पनि जारी नै राखेका थिए उनले। 

शिव रेग्मी साहित्यिक पत्रपत्रिकाको संकलक मात्र थिएनन् अत्यन्तै गम्भीर पाठक पनि थिए। साहित्यिक पत्रपत्रिकाको उनको संकलन मदन पुरस्कार पुस्तकालयको संग्रहसँग समतुल्य छ।

पत्रपत्रिका र पुस्तकहरूको उत्कृष्ट संग्रहालयमा परिणत भएको काठमाण्डौ बत्तीसपुतलीस्थित उनको घर नेपाली साहित्यका विद्यार्थीहरूका लागि कुबेरको खजाना जस्तै थियो। आफूलाई आवश्यक परेका सामग्रीको खोजमा आइरहने साहित्यकार र साहित्यका विद्यार्थीहरूलाई उनको संग्रहालयमाथि मात्र होइन, संग्रहित सामग्रीका विषयमा उनले राख्ने जानकारीमाथि पनि ठूलो भरोसा थियो। शिव रेग्मी साहित्यिक पत्रपत्रिकाको संकलक मात्र थिएनन् अत्यन्तै गम्भीर पाठक पनि थिए। त्यसैले, उनी कुन लेखकको कुन रचना कुन पत्रिकाको कुन अंकमा छापिएको छ त्यो रिट्ठो नबिराई भनिदिन सक्दथे। साहित्यिक पत्रपत्रिकामा छरिएर रहेका रचनाहरूलाई एकत्रित गरेर पुस्तक निकाल्न खोज्ने साहित्यकारहरूलाई सहयोग गर्न रेग्मी सदैव तत्पर रहन्थे। आफ्ना प्रकाशित रचनाहरू संग्रह गर्नेबारे उदाशीन रहँदै आएको यो लेखकको कविता संग्रह ‘गार्मेन्टकी गायत्री’ का लागि सामग्रीको संकलन गर्ने क्रममा उनले आफूसँग भएका पत्रपत्रिकाहरूबाट खोजेर २० वटाभन्दा बढी कविता उपलब्ध गराएका थिए। मेरा कविताहरूको फोटोकपी मेरो हातमा राखिदिँदा उनको आँखामा फैलिएको सन्तुष्टिको चमक देखेर म अभिभूत भएको थिएँ। 

शिव रेग्मीले विशुद्ध निजी प्रयत्नबाट तयार गरेको नेपाली पुस्तक तथा साहित्यिक पत्रपत्रिकाहरूको संग्रहलाई अप्रतिम मान्नु पर्दछ। साहित्यिक पत्रपत्रिकाको उनको संकलन मदन पुरस्कार पुस्तकालयको संग्रहसँग समतुल्य छ। रेग्मीसँग १ सय भन्दा बढी नेपाली साहित्यिक पत्रपत्रिकाका हरेक अंक संकलित छन्। शारदा, युगवाणी, इन्द्रेणी, मधुपर्क र गरिमाका प्रथमदेखि हालसम्मका सबै अंकहरू उनको संग्रहालयमा छन्। उनको पुस्तकालयमा १० हजार भन्दा बढी पुस्तक छन्। पुस्तक संख्याको हिसाबले रेग्मीको निजी पुस्तकालय देशका ठूला पुस्तकालयकै पंक्तिमा सगर्व उभिन समर्थ छ। नेपालमा रहेका ठूला पुस्तकालयका स्थापनाकर्ताहरू त्रिभुवन विश्वविद्यालय, नेपाल सरकार, केशर शमशेर जबरा, रानी जगदम्बा देवी र डाक्टर डिल्लिरमण रेग्मी आदिका तुलनामा आर्थिक स्रोत र साधनका दृष्टिले कता हो कता निम्छरा, नेपाल सरकारको अवकासप्राप्त मध्यमस्तरीय अधिकारी शिव रेग्मीको यो पुस्तकालयको जति प्रशंसा गरे पनि कम्ति हुन्छ।  

शिव रेग्मीको प्रिय साहित्यिक विधा निबन्ध थियो। निबन्धमा पनि अनुसन्धानकेन्द्रित विषयमा लेख्न विशेष अभिरुचि थियो उनको। हुन त रेग्मीले कविता, कथा र गीत पनि लेखेका छन्। उनले लेखेका केही गीत रेकर्ड पनि भएका छन्। तर पछि गएर उनले बिस्तारै बिस्तारै साहित्यिक अनुसन्धानको क्षेत्रमै आफूलाई समर्पित गरेको देखिन्छ। लुकेका प्रतिभाहरूको खोजी गर्ने, साहित्यका कतिपय विवादित विषयको निर्क्यौलका लागि खोजबीन गरी यथातथ्य प्रकाशमा ल्याउँन प्रयत्न गर्ने र नेपाली साहित्यिक पत्रपत्रिकाहरूको तथ्यात्मक अभिलेख राख्ने काममा संलग्न भएको देखिन्छन् रेग्मी पछिल्लो समयमा।  

साहित्यिक कृतिहरूको संकलक र सम्पादकका रूपमा शिव रेग्मीले नेपाली साहित्यमा केही उल्लेख्य योगदान गरेका छन्। शंकर लामिछानेका निबन्धहरूको पहिलो संकलन र भूपी शेरचनका कविताहरूको संग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ को संकलन सम्पादन रेग्मीले नै गरेका हुन्। नेपालको पुरानो र प्रतिष्ठित पत्रिका गोरखापत्रले सय वर्ष पूरा गरेको उपलक्ष्यमा निकालेको ‘गोरखापत्रका सय वर्षका निबन्धहरू’ को चयन र सम्पादन पनि रेग्मीबाटै भएको हो। यस बाहेक, प्रेस काउन्सिलको एक परियोजना अन्तर्गत उनले ‘नेपाली साहित्यिक पत्रपत्रिकाको इतिहास’ नामक एउटा महत्वपूर्ण अभिलेख ग्रन्थको पनि सम्पादन गरेका छन्। ‘भूमिकै भूमिका’ शीर्षकको केही नेपाली पुस्तकका भूमिकाहरूको संकलन र सम्पादन पनि शिव रेग्मीबाट भएको छ। उनको नाममा प्रकाशित यी ग्रन्थहरू बाहेक शिवको सहयोग र परामर्शमा धेरै जनाले धेरै किसिमका पुस्तकको प्रकाशन गरेका छन्। 

महानगर काठमाण्डौको ठमेलमा जन्मे हुर्केका शिव रेग्मीको वाल्यकाल गरीवीमा बितेको थियो। आफू कलिलै हुँदा बा आमा दुवैको मृत्यु भएपछि बडो मुश्किलसँग जीवन यापनको बाटो बनाएका रेग्मीमा कसरी पुस्तकसँग प्रेम बसेको हो, उनी आफैँ पनि यकीनका साथ भन्न सक्दैनथे। काम खोज्ने क्रममा एक पटक न्युरोड नजिक राष्ट्रिय पुस्तकालयमा पुगेर काम गर्न थालेका उनमा पढ्ने यस्तो लत बस्न गएछ, कालान्तरमा पुस्तक संकलन र पठन संस्कृतिको प्रवद्र्धनलाई उनले आफ्नो जीवनको उद्देश्य नै बनाएको देखिन्छ। नोकरी गर्दै पढाइलाई पनि अघि बढाउँदै लगेका उनले नेपालीमा एम्ए पास गरेका थिए। सरकारी सेवामा उनको खासै ठूलो प्रगति भने हुन सकेन। 

२०५५ सालमा उमेरको हद लागेर जागिरबाट अवकास लिँदा शिव रेग्मी निजामती सेवाको उपसचिव पदमा कार्यरत थिए। शिव रेग्मी शालीनताका जीवन्त प्रतिमूर्ति थिए। अंग्रेजहरूले बडो अभिभूत भएर जसलाई ‘पर्फेक्ट जेन्टल्मन’ भन्छन् नि, हो रेग्मी त्यस्तै सम्पूर्ण रूपले भद्र मानिस थिए। मधुरो बोली, शान्त, भावपूर्ण अनुहार र साहित्यिक प्रयोजनको कुनै पनि काममा कसैलाई पनि सहयोग गर्न सदा उपलब्ध तत्परता संक्षिप्तमा स्वर्गीय रेग्मीको व्यक्तित्व र स्वभावको बयान यिनै शब्दहरूमा गर्नु पर्दछ भन्ने मलाई लाग्दछ। उनी निष्काम कर्मयोगी थिए। पुस्तक र पत्रपत्रिकाहरूको संकलनका क्षेत्रमा त्यत्रो ठूलो काम गरेका थिए उनले तर आजीवन कुनै किसिमको आत्मप्रचार गरेको थाहा भएन। उनले यो सब काम स्वान्त सुखाय गरेका थिए। मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कारले सम्मानित गरेको बाहेक राज्य वा अन्य कुनै सार्वजनिक संस्थाले रेग्मीको सत्कर्मको कदर गरेर उनलाई पुरस्कार वा सम्मान दिएको थाहा हुन सकेको छैन। 

प्राज्ञिक क्षेत्रका यी कर्मयोगी भद्रपुरुष आफ्नो जीवनको लगभग अन्तिम घडीसम्म पनि आफूले हृदयदेखि नै रोजेर आफ्नो जीवनको सार्थकताको आधार बनाएको पुस्तक, साहित्यिक पत्रपत्रिका र अनुसन्धानको दुनियाँमा चुर्लुम्म डुबिरहेका थिए। 

रेग्मी बितेर गएपछि उनले आफ्नो सीमित आम्दानीको रकमबाट अलिअलि गर्दै जम्मा गरेका पुस्तक र साहित्यिक पत्रपत्रिकाहरूको संरक्षण कसरी गर्ने भन्ने प्रश्न खडा भएको छ। रेग्मीको परिवारबाट त्यसको संरक्षण हुनसक्ने अवस्था नहुन सक्छ। त्यसैले रेग्मीले संचयन गरेको त्यो सम्पदाको संरक्षण गर्ने अभिभारा लिन राज्यले अग्रेसरता देखाउँन ढिला गर्नु हुन्न। त्यसको लागि नागरिक समाज, स्वर्गीय रेग्मी निकट परिजन र उनका साथी संगाती सबैसँग परामर्श गरी रेग्मीले जम्मा गरेको त्यो अमूल्य सम्पदाको संरक्षण र संवर्द्धन गर्न व्याबहारिक कार्ययोजना बनोस् भन्ने कामना गर्दछु।  

प्रकाशित: ९ फाल्गुन २०७५ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App