coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सुरेश वाग्ले क्यान्सर केन्द्र निर्माण अलपत्र

काठमाडौं -  दुई वर्षअघि नै त्रिवि शिक्षण अस्पतालमा निर्माण हुने भनिएको सुरेश वाग्ले क्यान्सर सेन्टर अलपत्र परेको छ। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईकै कार्यकालमा शिलान्यास भएको केन्द्रको भवनको निर्माण तीन वर्षमा पूरा गर्ने सम्झौता भए पनि हालसम्म निर्माण पूरा भएको छैन।

भवनको शिलान्यास २०७१ सालमा भएको थियो भने सो केन्द्र खोल्ने प्रस्ताव सरकारले २०६४ सालमै पारित गरेको थियो। नेपालमा २०७२ सालको भूकम्प र त्यसलगत्तै भारतले गरेको एकतर्फी नाकाबन्दीले भवन निर्माण कार्य स्थगित भएको थियो। भवन निर्माण सम्झौताअनुसार भवन गत वर्ष नै पूरा भइसक्नुपर्ने थियो तर रोकिएको भवन निर्माण थपघट बजेट, समय र संरचना प्रस्ताव पारित नभएपछि निर्माण अलपत्र परेको अस्पतालले जनाएको छ। त्रिविको नियमअनुसार भवन निर्माण प्रक्रियाको लागि त्रिवि कार्यकारी परिषद्बाट परिवर्तित प्रस्ताव पारित भएर आउनुपर्छ। निर्माण प्रस्ताव टिचिङले पटक–पटक त्रिवि कार्यकारी परिषद्मा पठाए पनि परिषद्ले स्वीकृत नदिँदा अलपत्र परेको अस्पतालले जनाएको छ। ‘भवन निर्माण विभागले पारित गरिसकेको छ। परिषद्ले पटक–पटक जवाफ माग्दै ढिलाइ गरेको छ,’ टिचिङ अस्पतालका प्रशासक सूर्यप्रसाद अधिकारीले भने। पछिलो पटक परिषद्ले पुनः विशेषज्ञ चिकित्सक र इन्जिनियरसहित प्रस्ताव पठाउन माग गरेको उनले बताए।

टिचिङ अस्पतालले कुनै पनि स्वीकृत प्रस्ताव नपठाएको त्रिविका उपकुलपति तथा कार्यकारी परिषद्का अध्यक्ष तीर्थ खनियाँले बताए। ‘हामी कहाँ फाइल आएको छैन,’ उनले बुधबार नागरिकसँग भने। सोही जवाफ त्रिविका रजिष्टार डिल्ली उपे्रतीले दिए। उनले पनि फाइल आएको जानकारी नभएको बताए। निर्माणको लागि बजेट तयारी अवस्थामा रहे पनि परिषद्ले समयमै स्वीकृति नपठाउँदा निर्माण कार्य अलपत्र परेको अस्पतालका निर्देशक डा. पे्रमबहादुर खड्गाले बताए। ‘निर्माणको लागि बजेट विनियोजन भइसकेको छ, तर काम अघि बढ्न सकेन,’ निर्देशक खड्गाले भने। स्वीकृति नभएकै कारण निर्माण प्रक्रिया अघि बढ्न नसकेको त्रिवि चिकित्सा शिक्षा अध्ययन संकायका डीन प्रा. जगदीशचन्द्र अग्रवालले बताए। ‘स्वीकृति प्रस्ताव फाइल परिषद्मा पठाइसकेको छ। स्वीकृति हुन सकेको छैन,’ डीन अग्रवालले भने।

भवन निर्माण अलपत्र परेसँगै अस्पतालमा खुल्ने भनिएको क्यान्सर सेवा प्रभावित भएको अस्पतालका क्यान्सर सर्जन प्राध्यपक डा. योगेन्द्र सिंहले भने। केन्द्रको अभावमा उपचारका लागि आउने क्यान्सरका बिरामीलाई अन्त रेफर गर्नुपरेको डा. सिंहले बताए। सिहंका अनुसार टिचिङ अस्पताल मेडिकल कलेज भएकाले बिरामीलाई क्यान्सरको उपचार दिनु र क्यान्सर विशेषज्ञ उत्पादन गर्नु दुवै अस्पतालको दायित्वभित्र पर्छ। भवन निर्माण नै अलपत्र परेपछि सञ्चालन प्रक्रिया अघि बढ्न नसकेको सिंहले बताए। केन्द्रको अभावमा अस्पतालले क्षमता भएर पनि सीमित सेवा मात्र दिँदै आएको छ।

अस्पतालमा सबै खालको विशेषज्ञ भएकाले केन्द्रमा खुलेमा क्यान्सरका बिरामीले समेत प्रभावकारी उपचार पाउने सम्भवना रहेको टिचिङ अस्पतालका चिकित्सकहरुको दाबी छ। ‘हामी अहिले शल्यक्रिया गर्न मिल्ने क्यान्सरको मात्र शल्यक्रिया गरेर अन्य उपचारको लागि अन्यत्र पठाइरहेका छौं। यो बिरामीको लागि झन्झटिलो कुरा हो,’ अस्पतालकी सर्जन डा. पलेस्वाँ जोशी लाखेले भनिन्। समयमै सेन्टर नहुँदा देशमा आवश्यक दक्ष क्यान्सर जनशक्ति समेत उत्पादन गर्न नसकेकेको चिकित्सकहरुले बताए।

प्रकाशित: ९ फाल्गुन २०७५ ०६:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App