६ वैशाख २०८१ बिहीबार
विचार

नेविसंघ २.०

नेपाल विद्यार्थी संघ १२ औँ अधिवेशनको संघारमा उभिइरहँदा यतिखेर एउटा प्रश्न परीक्षणमा छ, के नेविसंघ विद्यार्थीकै हातमा रहन्छ ?  ११ औँ महाधिवेशनले विद्यार्थी नेताको उमेर हदबन्दी ३२ वर्ष तोकेको थियो। दुई वर्षभित्र अर्को निर्वाचन गराएर उक्त हदबन्दी कार्यान्वयन गरिनुपथ्र्यो। विद्यार्थी नेताहरू विद्यार्थीजस्ता भएनन् र समग्र विद्यार्थी आन्दोलन मूल ध्येयभन्दा अन्यत्र मोडियो भन्ने आम चासोलाई उक्त हदबन्दीले तोड्ने ठूलो अपेक्षा थियो। 
समयमै हुनुपर्ने चुनाव वैधानिक हिसाबले थप पाँच महिना थप्दा पनि हुन सकेन। र, ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले राजीनामा दिइसकेको छ। 

अब महाधिवेशन गराउन तदर्थ समिति गठनको तयारी भइरहेको छ। त्यसमा भने ३२ वर्षे हदम्याद लागू नहुने भन्दै पुरानै मर्मको पुनरावृत्ति गर्न खोजिएको छ। त्यस्तो ठान्नेहरूको तर्क छ, तदर्थ समितिका लागि विधानको उक्त व्यवस्था वैधानिक रुपमा बाध्यकारी हुँदैन। तर त्यस्तो नियतमा टेकेर तदर्थवादमा खेल्न खोज्ने झिनो दाउले कतै गतिशील बनाउन खोजिएको हाम्रो लामो दौडको यात्रा त्यो सुरु नहुँदै थला त पर्दैन ?

किन पुरानै मनोवृत्ति ?
११ औँ महाधिवेशनअघि रन्जीत कर्ण नेतृत्वमा एक तदर्थ समिति गठन गरिएको थियो। ६ महिनाभित्र महाधिवेशन गराउने कार्यादेश पाएको उक्त समिति ४ वर्ष लम्बियो। अहिलेको दाउ पनि त्यस्तै नजीरबाट प्रभावित हुने त होइन  ? अब गठन गर्ने भनिएको नेतृत्वमा ३२ वर्षमा थुप्रै केही वर्ष जोडिने पुराना नेताहरूको आँखा गड्दा र पार्टीका केही नेताहरूले समेत तिनैलाई बोकेर हिँड्दा त्यही अवस्थाको पुनरावृत्ति हुने भय व्याप्त छ। 

झन्डै तीन वर्षअघिदेखि नै नेविसंघको सांगठनिक संरचना ३२ वर्षे मर्ममा ढल्न थालिसकेको थियो। हालै १५ जिल्लामा त सोही अनुरुपको निर्वाचित नेतृत्व समेत खडा भइसकेको छ।उतिखेर त्यस्तो विधान बनाउँदा धेरैले आलोचना गरेजसरी गैरविद्यार्थीहरू अनन्त कालसम्म विद्यार्थीका नाममा नेतृत्वमा नरहून् भन्ने पार्टी र नेविसंघ दुवैको ध्येय थियो। राजनीतिक र सामाजिक परिवेश विश्वव्यापी बन्दै गरेको अवस्थामा नयाँ पुस्तालाई नयाँ परिवेशमैत्री नेतृत्वबाटै आकर्षित गर्नुपर्छ भन्ने यसको मर्म हो। नत्र त्यसको असर नवयुवा पुस्ता हाबी हुने अबको राजनीतिमा कांग्रेस हाबी हुन सक्नेछैन भन्ने ‘ओपन सेक्रेट’ हो। पछिल्लो आम निर्वाचनमा त्यसको धेरथोर मार कांग्रेसले खेप्यो पनि। 

मुख्य सवाल, नेविसंघ अब पार्टीले बोक्ने लोकतान्त्रिक समाजवादको विचारलाई अहिलेको पुस्ताले आत्मसात् गर्ने गरी हाँक्ने ‘थिङ्क ट्याङ्क’ बन्ने कि केही नेताका पछाडि लस्कर खडा गर्न सक्ने स्वार्थ केन्द्रित नेतृत्व बन्ने भन्ने हो।
रिमोर्ट वा औँंलाका भरमा हाम्रा विकल्प निमेष–निमेषमा फेरिएजस्तै नेविसंघले आफ्नो बाटोमा स्पष्टता नदेखाए विकल्पमा अब कम्युनिस्ट मात्र रहेनन्, वैकल्पिक शक्ति भनिनेहरूले त्यसको लाभ उठाउने जोखिम उत्तिकै छ।पार्टीले अबको दुई चार वर्ष हेर्ने कि दशकौँका लागि काम गर्ने संस्था बनाउने भन्नेमा यो बहसको चुरो जोडिएको छ।

अबको कार्यभार 
दुई कम्युनिस्ट पार्टीहरू एकजुट भएको पछिल्लो अवस्थामा अब हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नेविसंघका लागि पछिल्लो आमनिर्वाचन जत्तिकै जटिल हुनेछ। एकातर्फ सरकार लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चँदै फासीवादी बाटोमा अग्रसर भइरहँदा युवा पुस्ता सबैभन्दा बढी सचेत र आलोचनात्मक हुनुपर्ने अवस्था छ। अभिव्यक्ति स्वतन्त्रतादेखि प्रजातान्त्रिक मूल्य–मान्यताका अनेकन् स्वरुपहरू संकटमा परेका स्पष्ट लक्षणहरू देखा परिसकेका छन्। जसको नेतृत्व लोकतान्त्रिक जगमा हुर्केको नेविसंघले मात्र लिन सक्छ। त्यसैले अब ६ महिनाभित्र महाधिवेशन गर्ने चुनौती पूरा गर्न अग्रगामी सोच भएको उत्साहित र ऊर्जाशील नेतृत्व नै चाहिन्छ। पछिल्लो महासमिति बैठकबाट अझ बलियो प्रतिपक्षका रुपमा आइरहेको कांग्रेसको धारिलो हतियार भनेकै नेविसंघ हो। 

हाम्रा शैक्षिक संस्थाहरू हुन् वा हाम्रा राष्ट्रिय मान्यताहरू यस सरकारको स्वार्थमा पिल्सिँदै गइरहेका छन्। जुन अझै भयानक दिशातर्फ जाने संकेतहरू देखिँदैछन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले भनेका थिए, ‘सर्टको एउटा टाँक गल्ती हुनेगरी लगाइयो भने बाँकी टाँकहरू पछि चाहेर पनि सही ठाउँमा लगाउन सकिँदैन।’ नेविसंघ अहिले त्यस्तै अवस्थामा छ। हामीले हाम्रा मूल्य र नैतिकताको जग हाल्ने समय हो, यो। वर्षौं लामो र गौरवमय इतिहास भएको संंगठन कुनै व्यक्तिका स्वार्थमा अल्झिन थाल्यो भने उसले देशको ठूलो स्वार्थमा काम गर्न त चुक्नेछ नै आफैँभित्र समेत कमजोर बन्नेछ। पार्टी नेतृत्वले त्यसमा आफ्नो उदारता देखाउने कि संकीर्णता भन्ने परीक्षणको बेला हो, यो। 

संघीय ढाँचामा गएको देशको नयाँ परिवेशमा एउटा प्रमुख राष्ट्रिय दलको सबैभन्दा प्रभावशाली भ्रातृ संगठन नेतृत्वविहीन वा तदर्थवादमा रहनु लोकतन्त्रकै लागि राम्रो सन्देश होइन। त्यसको लाभ पार्टीलेझैँ, छिट्टै नेविसंघ समेत प्रदेश र स्थानीय तहमा गएर उठाउनुपर्छ। कांग्रेसजस्तो लोकतन्त्रको नेतृत्वकर्ता आफ्ना मान्यता हुर्काउने, परिस्कृत गर्ने र फैलाउने नर्सरीलाई उर्बर नबनाई अगाडि बढ्न कदापि सक्दैन। ३२ वर्षमाथिको पुस्ताको आफ्नै योगदान र दायित्व छ। विभिन्न खाले निरंकुशता र चुनौतीविरुद्ध लडेको उक्त पुस्ताको संगठन निर्माणमा विशेष भूमिका थियो। तर लोकतान्त्रिक पार्टीमा नेतृत्व हुर्कने विकल्पलाई अन्य सबै भ्रातृ संस्थातिर उस्तैगरी खुला राखेपछि मात्र यो समग्र प्रक्रिया गतिशील हुनेछ। 

हाललाई नेविसंघमा यो बहस धेरै देखिए पनि यो पार्टीलाई नै जीवन्त बनाउने सवाल हो। देशको मूल राजनीतिक कार्यभार पूरा भइसकेको अवस्थामा पुरानो शैलीको राजनीति कम; शैक्षिक र बौद्धिक बहस, उत्पादनमूलक चिन्तन र वैचारिक स्पष्टता र लोकतान्त्रिक मान्यता परिस्कृत गर्न सक्षम नेतृत्व नेविसंघलाई चाहिएको हो।(जाेशी हालै विघठिन नेविसंघका सहमहामन्त्री हुन्।) 

 

प्रकाशित: ९ फाल्गुन २०७५ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App