नागरिक खोज

'मिठाई प्याकेटमा ७८ लाख घुस'

बिहिबार, ०९ फागुन २०७५, १० : १४ केपी ढुंगाना  | @kpdhungana

काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको भिडियो त सार्वजनिक भयो तर कसले खिच्यो ? खिच्नुको प्रयोजन के ? रहस्यमै रह्यो। सञ्चार माध्यममा नाम त आए तर परिर्वतित। ‘शुक्रवार’ ती व्यक्तिसम्म पुग्न सफल भयो मंगलबार। उनी थिए एकजना राष्ट्रिय खेलाडी। 

उत्तर आयो, ‘अहिले नबोलौँ।’
उत्तर निराशाजनक आयो। 

दोहोर्‍याएर गरेको अनुरोधमा उनी भेट्नसम्म तयार भए तर पाठकको बदमासीको पोल खुलाउन गरिएको फेहरिस्त खुलाउँछन् या खुलाउँदैनन् अन्योल थियो। भेट्ने लोकेशन पछ्याउँदै अनामनगर पुग्दा चौरमा चिया खाँदै साथीहरुसँग गफिँदै थिए उनी। छोटो भलाकुसारीपछि नजिकैको आफ्नै कार्यालयमा लगे। 

‘गोप्य भिडियो खिच्दाको अनुभव बाँडौँ न ?’
उनी अक्मकाउँदै साथीतिर हेरे र सर्तसहित राजी भए। सर्त थियो, नाम नखुलाउने, अनुहार देखिने फोटो नखिच्ने। दुवै शर्त स्वीकारेपछि उनी राजनारायणको घुसको कहानी सुनाउन तयार भए। ६ महिना लगाएर गरेको स्टिङ अप्रेशनको नालीबेली उनकै शब्दमा।

मेरा एक जना मित्र हुनुहुन्थ्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकका भाइ शुभनारायण पाठक ती साथीलाई भेट्न आए। उनले भेटमा  पूर्वाञ्चल विश्वविद्यालयको डिन बन्ने इच्छा राखेछन्।

‘डिनमा सिफारिस गराइदिनुपर्‍यो, डिन बनेपछि तपाईंलाई एउटा इन्जिनियरिङ कलेजको सम्बन्धन दिन्छु’ भनेछन्। ती साथीको सहयोगमा उनी डिन पनि बने तर डिन भएपछि उनको व्यवहार बद्लियो, सम्बन्धन दिएनन्। उता साथीको लगानी भइसकेको थियो। 

'अख्तियार–आयुक्त पाठकको गोप्य भिडियो खिच्ने एकजना राष्ट्रिय खेलाडीको बयान'

साथीले ‘यत्रो सहयोग गर्दा पनि किन सम्बन्धन नदिएको’ भन्दा शुभनारायणले ‘मेरी छोरी बंगलादेशको ढाकामा एमबिबिएस पढ्न जाँदैछ। मलाई केही खर्च चाहिन्छ, १५ लाख दिनुस्, म सम्बन्धन पनि दिन्छु’ भनेछन्। लगानी भइसकेकाले ती साथीले पैसा दिए। 

भक्तपुर, चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजको विवाद चल्यो। सञ्चालक थिए लम्बोदर न्यौपाने। सम्पत्तिको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो, राजनारायणले शिक्षा क्षेत्र हेर्थे। 

मेरा साथी इन्जिनियरसमेत भएकाले चाँगुनारायणस्थित सो कलेजको विवाद उनीसम्म आइपुग्यो। लम्बोदरलाई मेरो साथी र राजनारायण पाठकका भाइ शुभनारायण बीचको सम्बन्ध थाहा रहेछ। 

न्यौपानेले साथीलाई ‘अख्तियारका आयुक्त राजनारायण पाठकको भाइसँग तपाईंको राम्रो सम्बन्ध छ। भाइमार्फत् अख्तियारमा रहेको मेरो मुद्दा तामेलीमा लैजानुपर्‍यो’ भन्ने प्रस्ताव राखे। 

मेरा साथी राजी भए। राजनारायणसँग सम्पर्क गर्दा उनले घरमा बोलाए। आयुक्त राजनारायणले ‘भाइमार्फत् रोकिएको सम्बन्धन पनि दिलाइदिन्छु र नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिन्छु’ भन्दै मुद्दा तामेलीमा राख्न एक करोड ६५ लाख मागे।  डिल पनि भयो।

'मिठाईको बट्टामा ७८ लाख'

सहमति एकै पटक सबै रकम दिने थिएन। पहिलो पटक ४० लाख दिए। राजनारायणले फेरि मागेपछि दोस्रो पटक ३८ लाख बुझाए। दुवै पटक पैसा लैजाँदा अरुले चाल नपाऊन् भनेर मिठाईको बट्टामा ल्याउनु भने। रामेश्वर स्विटको मिठाईको प्याकेटमा पैसा राखेर बुझाइयो। दोस्रो खेपको पैसा लिएपछि पनि उनले काम गरेनन्। उनले डिल भएको एक करोड ६५ लाखमध्ये बाँकी ८७ लाख ५ दिनभित्र दिन दबाब दिन थाले। ‘मुद्दा तामेलीमा राख्ने प्रयास अगाडि बढिसक्यो, अब पाँच दिनभित्रमा बाँकी पैसा नदिए, म पनि चुप, तिमीहरु पनि चुप। काम थाँति राखिदिन्छु’ भन्न थाले। 

७८ लाख गइसक्यो। काम गर्दिन पो भन्छन् ! 

उनले भनेअनुसार काम गरिदिएनन्। मेरो साथीलाई जसले पैसा दिएका थिए उनले ‘काम नहुने भए पैसा फिर्ता चाहियो’ भन्न थाले। पटक–पटक राजनारायणलाई ‘कि काम, कि पैसा फिर्ता’ भन्दा टारेको टार्‍यै गर्ने !  मेरा साथीले राजनारायणसँग मोबाइलमा भएको कुराकानी रेकर्ड गरेका रहेछन्। तनाव बढेको बढ्यै भएपछि उनी मेरो सम्पर्कमा आइपुगे। के भयो भनेर सोध्दा उनले फोन रेकर्ड सुनाए। 

रेकर्डमा राजनारायणले प्रस्टै पैसाको बार्गेनिङ गरेका थिए। कुराकानीमा ७८ लाख लिएको र बाँकी पैसा दिन दबाब दिएको प्रस्टै सुनिन्थ्यो। यसरी भ्रष्टाचार नियन्त्रण गर्ने ठूलो निकायका आयुक्तले नै घुसको कारोबार गरिरहेको सुनेपछि सहनै सकिनँ। अडियो सुन्दा भाउन्नै भयो।

ती साथीले भने, ‘सहयोग गर्न खोज्दा आफैँ फँसे, यसलाई कार्बाही गराउनु पर्‍यो।’ कतै भनेको मानी पो हाल्छन् कि भनेर एक पटक राजनारायणसँग भेटेर कुरा गर्ने योजना बनाएँ। त्यत्तिकै भेट्न खोज्दा नमान्ने सम्भावना थियो। शिक्षा क्षेत्रमा काम गरिरहेको व्यक्ति र विवाद आएर पैसा फँस्न लाग्यो भन्दै सहयोग माग्दा पक्कै भेट्छन् भनेर फोन गरेँ। मोबाइल आफैँले उठाएः

‘हेल्लो, सर नमस्कार’

‘को हो ?’

‘हजुर म ..........।’

‘ए, के काम थियो ?’

‘हजुरले अख्तियारमा शिक्षा क्षेत्र हेर्नु हुँदोरहेछ। मेरो पनि एउटा कलेज छ। विवाद आएर हैरान भएँ। सहयोग पाउँछु कि भनेर भेट्न खोजेको।’

कुनै विवाद भन्नासाथ उनी ‘पैसा आउने मुर्गा फेला पर्‍यो’ भन्ने सोच्ने रहेछन्। तु. भेट्न राजी भइहाले।

भोलिपल्ट अख्तियारको कार्यालयमै बोलाए।

‘ठ्याक्कै १ बजे आइपुग्नु नि, ढिला भए त भेट्दिनँ’ भने।

‘हस्’ भनेँ।

कालो सुटपिस, हातमा ब्रिफकेस
म खेलकुद क्षेत्रको व्यक्ति। राजनीतिमा पनि सक्रिय छु। आफ्नो जस्तो हुलिया हो, त्यस्तैमा गयो भने त उनले पत्याउने सम्भावना थिएन। ठूलै मुर्गाको भ्रम दिन गेटअप चेञ्ज गर्नैपर्‍यो। त्यसपछि चट्ट परेको थ्रिपिस कालो सुट ल्याएँ, कालै ब्रान्डेड चश्मा किनेँ र ब्रिफकेस पनि भिआइपीवाला बोकेँ। २०७४ माघ १४ गते तोकिएकै समयमा अख्तियारको गेटमा पुगेँ। नाम र पेशा उनलाई जे भनेको थिए त्यही टिपाएँ र सरासर उनको च्याम्बर बाहिर पुगेँ। नाम टिपाएको केही समयमै भित्र बोलाइहाले। 

कोठामा पुगेलगत्तै उनले खुब नियालेर हेरे। सोफामा बस्न इशारा गरे। कोठामा अरु पनि थिए। सायद ती कार्यालयका कर्मचारीहरु थिए क्यार ! केही समयमा उनले सबै कर्मचारीलाई कोठाबाट बाहिर पठाए र म बसेको सोफा नजिकै बसे।

‘ल भन्नुस् म के सहयोग गर्नसक्छु ?’ उनले कुरा शुरु गरे।

‘तपाईंले मलाई हैन, मैले तपाईंलाई सहयोग गर्न आएको हुँ’ भनेँ। 

उनी अक्क न बक्क भए। 

उनले ‘हैन के भन्नुहुन्छ ? तपाईंले मलाई के सहयोग गर्नसक्नहुन्छ र ?’ भने।

मैले कुरा शुरु गरेँ।

‘तपाईंलाई भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको विवादबारे थाहा छ ?’

टाउको हल्लाउँदै थाहा छैन भने। 

मैले मेरो साथीको नम्बर देखाएर सोधेँ, ‘यो नम्बर कसको हो चिन्नुहुन्छ ?’ 

उस्तैगरी टाउको हल्लाएर नचिन्ने संकेत गरे। 

झोँक चल्यो। 

‘तपाईंको मोबाइलमा यो व्यक्तिको नम्बर छैन त ?’ 

उनले ‘छैन’ भने। मान्छे ज्याद्रै लाग्यो मलाई।

तपाईं ढाँट्दै हुनुहुन्छ। यो नम्बर (साथीको) र तपाईको नम्बरबीच भएको सबै कुराकानी मैले डिभाइस प्रयोग गरेर रेकर्ड गरेको छु। तपाईंले इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिन्छु भनेर घुस खाएको हो कि हैन ? केरेपछि बल्ल उनको अनुहारको रङ बद्लियो। 

उनको छटपटी बल्ल देखिन थाल्यो। कहिले पानी पिउँथे, कहिले शौचालय जान्थे। उनी डराएको संकेत पाएपछि ‘तपाईंले पैसा लिएको स्वीकार गरेर फिर्ता गर्ने कि प्रक्रियामा जाउँ ?’ भनेँ।

‘म यो व्यक्तिलाई चिन्दा पनि चिन्दिनँ, मैले पैसा लिएको पनि छैन’ भन्न थाले तर उनको हात, खुट्टा कामिरहेको देखिरहेको थिएँ। 

त्यहाँ धेरै समय बस्न उचित लागेन। ‘चिने चिन्नु, नचिने नचिन्नु, म तीन दिनको समय दिन्छु, त्यो भित्रमा गल्ती स्वीकार्नु भएन भने जे गर्नुपर्ने हो त्यो गर्छु’ भनेर म निस्किएँ। (राजनाराणय घुस प्रकरणको बाकी कथा आज प्रकाशित शुक्रबार साप्ताहिकमा विस्तृतमा पढ्न सक्नुहुने छ। )








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad