८ वैशाख २०८१ शनिबार
खेल

‘बी’ डिभिजन लिग : खुमलटारको पहिलो जित

काठमाडौं – खुमलटार युथ क्लबले पुलचोक स्पोटर्स क्लबलाई ३–१ गोलले पराजित गर्दै राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बुधबार सम्पन्न दिनको पहिलो खेलमा पुलचोकले लिएको अग्रतालाई उल्टाउँदै खुमलटारले पहिलो जित दर्ता गरेको हो। चौथो खेलमा मात्र जित निकालेको खुमलटारको लिगयात्रा गणितीय आधारमा लगभग समाप्त भएको छ।

खेलमा टीकाराज गुरुङको गोलबाट पाँचाैं मिनेटमै पुलचोकले अग्रता लिएको थियो। तर पुलचोकको अग्रता धेरै समय टिक्न सकेन। २८औं मिनेटमा निरन श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफको बाँकी समयमा दुवै टोलीले गोलका लागि केही राम्रा मुभ बनाए पनि सदुपयोग गर्न सकेनन् र पहिलो हाफ १–१ को बराबरी खेले।

गर या मरको अवस्थामा रहेको खुमलटारले दोस्रो हाफमा आक्रामक खेल देखायो। ५४औं मिनेटमा आशिक परियारले गोल गर्दै टोलीको अग्रता उल्टाए। अघिल्ला तीन खेलमध्ये दुईमा जित निकालेको पुलचोकले बाँकी समयमा खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन। बराबरी गोल गर्न अगाडि बढेको मौकामा खुमलटारले इन्जुरी समयमा काउन्टरमा गोल थप्दै जित सुनिश्चित गर्यो।

समूह ‘बी’ मा रहेको खुमलटारको एक खेल बाँकी रहँदा जारी लिगमा ३ अंक भएको छ। ६ अंक बनाएको पराजित पुलचोक तालिकाको चौथो स्थानमा छ भने समान चार खेल खेलिसकेको टुसालको १० अंक छ। टुसाल समूह ‘बी’ को शीर्ष स्थानमा छ।

लिगअन्तर्गत बुधबारै सम्पन्न अर्को खेलमा सातदोबाटो युथ क्लब र रानीपोखरी कर्नर टिम (आरसिटी) ले गोलरहित बराबरी खेल्दै अंक बाँडे। समूह ‘ए’ मा रहेका टोलीद्वय सातदोबाटो र आरसिटी तेस्रो र चौथो स्थानमा छन्। तालिकामा ६ अंक बनाएको सातदोबाटो आरसिटीभन्दा १ अंकले पछि छ।

लिगमा बिहीबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा बाँसबारी क्लबले श्री भगवती क्लबको सामना गर्दा अर्को खेलमा नयाँ बस्ती युथ क्लबले ब्वाइज युनियसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ९ फाल्गुन २०७५ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App