१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङबेंसी–आरुघाट सडक स्तरोन्नति कछुवा गतिमा

धादिङबेसी–सल्यानटार आरुघाट सडकखण्ड। तस्बिर : सरिता/नागरिक

धादिङ - धादिङबेंसी–आरुघाट सडकखण्ड निर्माणका क्रममा आफ्नो जग्गा र घर गुमाएका पीडितले मुआब्जा पनि पाउन नसकेको गुनासो गरेका छन्। सम्बन्धित निकाय धाउँदा सिन मुआब्जा पाउन नसकेको पीडितले बताए। मुआब्जाका लागि सात÷आठ महिनाअघि निवेदन दिएकामध्ये कसैले पाउनु र कसैले नपाउनु आश्चर्यको कुरा रहेको उनीहरू बताउँछन्।

पीडितका अनुसार एकातिर मुआब्जा पाइएको छैन भने अर्कोतिर ठेकेदारले ढिलासुस्तीले गर्दा सडक स्तरोन्नति (कालोपत्रे) कुछुवा गतिमा छ। नीलकण्ठ नगरपालिका–९ का स्थानीय डिलबहादुर शाक्यको तीन रोपनी जग्गा सडकले हडपेको छ। तर उनले सो जग्गाबापतको मुआब्जा अहिलेसम्म पाएका छैनन्। ‘सडक निर्माण र विस्तारका लागि जग्गा दिन तयार छौं,’ शाक्यले भने, ‘तर तोकिएको मुआब्जा पाउनैपर्छ।’

जग्गाधनीद्वारा मुआब्जामा भेदभाव गरिएको गुनासो

ठेकेदार कम्पनीको मनोमानीका कारण सडक अस्तव्यस्त बनेको छ। पानी परेका बेला त झन् आवातजावतै गर्न नसक्ने अवस्था हुन्छ। स्तरोन्नति गर्ने जिम्मा पाएको लामा कन्ट्रक्सनले काम थालेको दुई वर्ष भइसक्दा पनि अपेक्षाकृत उपलब्धि देखाउन सकेको छैन। काम गुणस्तरहीन हुँदा सडक ठाउँठाउँमा भत्किन थालिसकेको छ। अहिलेसम्म बनिसकेका संरचनामा गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयको आरोप छ। ‘ग्याभिन गरेको जाली बनाउँदाबनाउँदै भत्किएको छ,’ शाक्यले भने, ‘बाटोको अवस्था पनि उस्तै छ, जताततै हिलाम्मे र धुलाम्मे। राम्रो बाटो कहिले बन्ने भन्ने नै थाहा छैन।’

सडक निर्माण र स्तरोन्नति कार्य मुआब्जा विवादले पनि अल्झिएकै हो। सडकमा बनाइएका संरचनाको नियमित अनुगमन नहुँदा ठेकेदार कम्पनीले मनोमानी गर्ने गरेको स्थानीय छन्दकुमारी थपलियाले बताइन्। ‘सडक निर्माण ढिला भएकै छ नि, हामी स्थानीयले दैनिक सास्ती बेहोर्नुपरेको छ,’ उनले भनिन्, ‘सडक मुआब्जाको काम पनि कता अल्झियो कता ?’

सडकको कामलाई तीव्रता दिई नागरिकको समस्या चाँडो समाधान गर्न स्थानीयले पटकपटक आग्रह गरेका छन्। सडकले काटेको जग्गाको मुआब्जा वितरणमा एकरूपता नभएको, सडक बनाउँदा जथाभाबी भल खोलिदिँदा घरभित्र बाढी पस्ने गरेको स्थानीयको भनाइ छ। युएसआइडीको आर्थिक सहयोगमा डेक नेपाल र एफएचआई ३६० द्वारा नीलकण्ठ–९ ज्यामिरेमा आयोजित सार्वजनिक सभामा स्थानीयले मुआब्जा नपाएको गुनासो गरेका हुन्। सम्झौताअनुसार काम भएको भए यतिखेर सडक कालोपत्रे भइसकेर पनि स्थानीयले सहज रूपमा आवातजावत गर्न पाइसक्नुपथ्र्यो। ढुंगा, गिट्टीलगायत निर्माण सामग्री ल्याउन कठिनाइ भएको र पानी परेका कारण निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीले बताउँदै आएका छन्। सडक निर्माण कार्य ढिलो हुँदा धादिङ जिल्लाको उत्तरी भेग, गोरखाको उत्तर–पूर्वी क्षेत्रका ग्रामीण भेगको जनजीवन निकै प्रभावित भएको छ। तोकिएको मापदण्ड र समयसीमाभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए पनि निर्माण कार्य ढिलासुस्ती हुँदा स्थानीयले दुःख पाएका छन्। काम नगरी समय गुजारेको र काममा ढिलासुस्ती हुनुको कारण सरकारलाई दोषी देखाएर जिम्मेवारीबाट पन्छिन नहुने पनि स्थानीयले बताएका छन्।

जिल्ला सदरमुकाम धादिङबेंसीबाट सल्यानटार जोड्ने सडकको २६ किलोमिटर दूरी टारीबेंसीसम्मको सडक स्तरोन्नतिका नाममा जनताले सास्ती बेहोर्नुपरेको छ। दुई वर्षभित्र सम्पन्न गरिसक्नेगरी २०७३ पुस १४ गते सडक निर्माणका लागि सम्झौता भएको थियो। म्याद थप गरी २०७६ असार मसान्तभित्र निर्माण कार्य सक्ने भनिए पनि अहिले ४० प्रतिशत काम मात्र सम्पन्न भएको धादिङबेंसी–आरुघाट गोरखा सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले बताए। कुल ७० करोड ११ लाख ७३ हजार रुपैयाँ भ्याटसहितको रकममा काम सम्पन्न गर्नेगरी लामा कन्स्ट्रक्सनले कालोपत्रे गर्ने जिम्मेवारी लिए पनि वर्षा सुरु हुनासाथ सडक नाजुक बनेको थियो। २६ किलोमिटर कालोपत्रे गर्न दुई खण्डमा छुट्याइएका काम सुरु गरिएको आयोजना प्रमुख श्रेष्ठले बताए। ‘सम्झौताअनुसार निर्माण कम्पनीले काम सम्पन्न गरिसक्नुपर्ने हो,’ श्रेष्ठले भने, ‘अहिले ठेकेदारले काम नगरिदिँदा सडकको काम सुस्त छ।’

यस सडकखण्ड पार गर्दै जिल्लाको त्रिपुरासुन्दरी, गंगाजमुना र ज्वालामुखी गाउँपालिकालगायत उत्तरी क्षेत्रका बासिन्दा आवातजावत गर्ने र सामान ओसार्ने गर्छन्। सडक विस्तार र स्तरोन्नतिमा ढिलासुस्ती हुँदा यस भेगका स्थानीय मारमा परेका छन् । अहिले सडकको चौडा तथा कटिङ र डे«न निर्माण कार्य भइरहेको छ।

प्रकाशित: ९ फाल्गुन २०७५ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App