८ वैशाख २०८१ शनिबार
अर्थ

सह–अध्यक्ष पौडेलद्वारा १० लाख सहयोग

बागलुङ  – राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडलले गृह जिल्लामा आफ्ना बाबुको स्मृतिमा कृष्णगण्डकी क्याम्पसमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। बलेवा महोत्सवको अवसरमा पौडेलले आफ्ना बाबु भिमनाथको सम्झनामा बुधबार बागलुङ नगरपालिका–११ नारायणस्थानमा रहेको क्याम्पसलाई व्यक्तिगत रुपमा १० लाख एक हजार एक सय पाँच रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। 

क्याम्पसमा कोष स्थापना गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो। बागलुङको अमलाचौरमा जन्मिएका सहकारीकर्मी पौडेलले यसअघि पृथ्वी उच्च मावि अमलाचौरमा करिब १० लाख रुपैयाँको लागतमा भिम पुस्तकालय स्थापना गर्न सघाएका थिए। प्रभु बैंका पूर्वबोर्ड अफ डाइरेक्टर पौडेलले आफ्ना बाबुको सम्झनामा भिमनाथ शर्मा पौडेल स्मृति कोष स्थापना गरेर सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन्। भिमनाथको २०२९ सालमा तत्कालीन प्रजातन्त्र विरोधी समूहले हत्या गरेका थिए।

स्वर्गीय भिमनाथको अर्धकदको शालिक क्याम्पस प्राङ्गणमा राख्ने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कमल जिसीले बताए। महोत्सवमा पौडेलले बलेवाको एयपोर्टलाई सञ्चालन गर्नुपर्ने बताए। उनले बलेवालाई व्यावसायिक हबको रुपमा विकास गर्नुपर्ने धारणा राखे। कालिगण्डकी करिडोले बलेवाका जनताको जीवन परिवर्तन गर्न सक्ने बताए। ‘बलेवा क्षेत्र उत्पादनको हिसाबले उपयुक्त क्षेत्र हो,’ उनले भने ‘यहाँ उत्पादन गरेको उत्पादित वस्तु बजार पुर्‍याएर स्थानीयको जीवनमा परिवर्तन ल्याउनु पर्छ।’महोत्सवको सातौं दिनसम्म विभिन्न संघ संस्था तथा वैदेशिक रोजगारका लागि विदेश गएका नेपालीहरुबाट ४८ लाख रुपैयाँ संकलन भएको छ। 

महोत्सवमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी, रमाइलो मेला, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहेको छ। आन्तरिक पर्यटन प्रवद्र्धनसँगै क्याम्पसको शैक्षिक विकासमा सघाउ पुर्‍याउन महोत्सव सञ्चालन गरेको आयोजकले जनाएका छन्।

प्रकाशित: ९ फाल्गुन २०७५ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App