coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बुद्ध पूर्णिमामा ध्यान दिवस

सिकागो – वैशाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको अवसरमा यो दिनलाई अमेरिकाको भर्जिनिया राज्यमा ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’को रूपमा मनाइने भएको छ। भर्जिनियाको स्पिङफिल्ड सहरमा हालै आयोजना गरिएको एक कार्यक्रममा बुद्ध पूर्णिमालाई ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’का रूपमा मनाउने घोषणा गरिएको हो। 

‘इन्टरनेसनल मेडिटेसन डे’ नामक घोषणापत्रमा भर्जिनिया सिनेटर, हाउस डेलिगेट, लाउडन काउन्टीका प्रतिनिधि, ओशो तपोवन नेपालका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणले हस्ताक्षर गर्दै ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ घोषणा गरेका थिए। वैशाख पूर्णिमा बुद्ध जन्मेको मात्र नभई बुद्धले निर्वाण प्राप्त गरेको र शरीर छोडेको दिन पनि हो। 

कार्यक्रममा राज्य सिनेटर जेनिफर बोयस्को, हाउस डेलिगेट जन जे बेल, लाउडन काउन्टीका बोर्ड अफ सुपरभाइजर फिलिस जे र्‍यान्डल, बोधिसत्व आनन्द अरुण, नेप्लिज एजुकेसनल कल्चरल सेन्टरका मेडिडेशन संयोजक एवं ओशो सन्यासी सुर्वण पन्त र नेपाली समुदायबाट समाजसेवी हरि शर्माले घोषणापत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रम आनन्द अरुणको पहल तथा भर्जिनियास्थित ओशो सन्यासी र नेपाली समुदाय, राज्य तथा काउन्टीको समन्वयमा भएको थियो।
सिनेटर बोयस्काले आफुले वर्षौदेखि नियमित रूपमा ध्यान गर्दै आएकाले यसको महत्व थाहा भएको बताइन्। उनले भर्जिनियाका विद्यालयको पाठ्यक्रममा समेत ध्यानलाई समावेश गर्ने योजना रहेको खुलाइन्। डेलिगेट जे बेल र बोर्ड अफ सुपरभाइजर र्‍यान्डलले भर्जिनिया राज्यको लागि ध्यान अपरिहार्य रहेको बताउँदै यसको विस्तारमा नेपाली समुदायसँग सहकार्य गर्ने जनाए। 

आनन्द अरुणसँग सिनेटर, डेलिगेट तथा काउन्टी प्रतिनिधिले ध्यान दिवसलाई कसरी अगाडि बढाउने भन्ने कुरामा छलफल गरेका थिए। आनन्द अरुणले नेपाल आमन्त्रण गरेपछि उनीहरूले नेपाल आउने प्रतिबद्धता जनाएका थिए। 
कार्यक्रममा आनन्द अरुणले दश मिनेट ध्यान गराउँदै विगत तीन वर्षदेखि नै बुद्ध पूर्णिमालाई ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ बनाउने एजेन्डा अगाडि सारेको बताए। ‘यहाँको राज्यबाट यो घोषणा भएकोमा मेरा लागि ऐतिहासिक दिन हो। मेरो इच्छा भनेको संयुक्त राष्ट्र संघबाट नै यसलाई घोषणा गरियोस् भन्ने हो’, उनले भने, ‘यसबाट बुद्धसँगै नेपालको अन्तर्राष्ट्रिय गरिमालाई पनि बढाउँछ।’ भर्जिनियामा केही वर्षदेखि ओशो ध्यान सञ्चालन गर्दै आएका सुवर्णले बुद्ध पूर्णिमामा अन्तर्राष्ट्रिय ध्यान दिवस पनि मनाउन पाउनु नेपालीका लागि ठुलो उपलब्धि भएको बताए।

नेपालमा करिब एक सय ओशो सेन्टर र कम्युन स्थापना गरेका आनन्द अरुणले अमेरिकामा समेत एक कम्युनसहित एक दर्जन भन्दा बढि ओशो ध्यान सेन्टर स्थापना गरेका छन्। उनी हरेक ६ महिनामा अमेरिका र क्यानाडाका दर्जनौ सहरमा ओशो ध्यान शिविर सञ्चालन गर्दै आएका छन्।

 

प्रकाशित: ९ फाल्गुन २०७५ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App