७ वैशाख २०८१ शुक्रबार
राजनीति

अन्सारीका दुईवटा जन्ममिति

काठमाडौं – मुस्लिम आयोगका अध्यक्षका लागि सिफारिस भएका समीम अन्सारीको फरक–फरक जन्ममिति भएका नागरिकता भेटिएका छन्। संघीय संसदको सुनुवाई समितिको बैठकले अन्सारीविरुद्ध नागरिकता, शैक्षिक योग्यता प्रमाणपत्र, पार्टी सदस्यताका विषयमा छानबिन थाल्ने निर्णय गरेपछि दुईवटा जन्ममिति भेटिएका हुन्।

उनले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा रहेको अभिलेखमा २०३७ साल जन्ममिति भेटिएको प्रशासन स्रोतले जनाएको छ। तर, उनको नागरिकतामा २०३० साल उल्लेख छ। आयोगको अध्यक्ष हुनका लागि संवैधानिक परिषद्ले सिफारिस गर्ने समयमा ४५ वर्ष नाघेको हुनुपर्ने संवैधानिक प्रावधान छ।

अन्सारीको २०७४ सालमा भएको निर्वाचनमा समानुपातिक बन्दसूचीमासमेत नाम रहेको थियो। तत्कालीन नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ उनको नाम निर्वाचन आयोगमा दर्ता भएको थियो। पार्टीको बन्दसूचीमा नाम राखिएका व्यक्तिको नाम सिफारिस गर्न पाइन्छ पाइँदैन भन्ने अर्को प्रश्न उठेको छ।

अन्सारीलगायतका आयोग अध्यक्षलाई बिहिबार संसदीय सुनुवाइका लागि बोलाइएको थियो। अन्सारीका विषयमा छानबिन थालेपछि सुनुवाई आइतबार बिहान सारिएको संघीय संसद सचिवालयले जनाएको छ। संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरिएका अन्सारीविरुद्ध गम्भीर उजुरी परेको भन्दै थप छानबिन थाल्ने सुनुवाई समितिले मंगलबार निर्णय गरेको थियो। समितिले अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्रलगायतका विषयमा छानबिन थालिसकेको छ।

प्रकाशित: ९ फाल्गुन २०७५ ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App