coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिक्टा सिँचाइ आयोजना पूरा गर्न विज्ञ समूह

परीक्षणको क्रममा भत्किएको सिक्टा सिँचाइको मूल नहर । फाइल तस्बिर : नागरिक

काठमाडौं – परीक्षणकै क्रममा पटकपटक मूल नहर भत्किएर अन्योलमा परेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्ने उपाय खोजी गर्न विज्ञ समूह गठन गरिएको छ। 

कर्मचारी र ठेकेदार कम्पनीको मिलेमतोमा गुणस्तरहीन निर्माण भएको सिक्टाको मूल नहरको केही भागमा घुलनशील माटो समेत देखिएको छ। घुलनशील माटोको उपचार नगरी बर्सेनि बजेट खर्च गर्ने तर सफल नहुने समस्याको अन्त्य गर्न विज्ञ समूह गठन गरिएको सम्बद्ध अधिकारीहरूले बताएका छन्। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागकी महानिर्देशक सरिता दवाडीले सिक्टालाई तोकिएको समयभित्र सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यले विज्ञ समूह गठन गरिएको बताइन्। विज्ञ समूहले सिक्टा चलाउन गर्नुपर्ने उपायसहितको सुझाव सरकारलाई दिनेछ। 

विज्ञ समूहले दिने सुझावको आधारमा सिक्टामा गर्नुपर्ने नयाँ योजना तय गरिने

विज्ञ समूहको सुझावका आधारमा सिक्टामा गर्नुपर्ने नयाँ योजना तय गरिने दवाडीले बताइन्। विज्ञ समूहमा आयोजना र विभागसँग सम्बन्धित कुनै पनि व्यक्तिलाई राखिएको छैन। इन्जिनियरिङ अध्ययन संस्थान, इन्जिनियर एसोसिएसन, आर्किटेक्ट इन्जिनियरिङ समाज लगायत संस्थाबाट प्रतिनिधित्व हुने गरी समूह गठन गरिएको दवाडीले जानकारी दिइन्।  समूहले चाँडै स्थलगत अध्ययन गर्ने उनको भनाइ छ। 

गत साउन ७ मा परीक्षणको क्रममा बाँकेको ढकेरीस्थित चंगाई नालास्थित मूल नहर भत्किएपछि कमसल निर्माण सामग्री प्रयोग गरिएको र गुणस्तरहीन काम भएको धेरैको भनाइ छ। ५० क्युमेक्स पानी अटाउने गरी बनाएको मूल नहरमा त्यतिखेर पाँच क्युमेक्स पानी राखेर परीक्षण गरिएको थियो। 

दुई वर्षअघि पनि परीक्षण गर्दा मूल नहर भत्किएको थियो। मूल नहर पटकपटक भत्कन थालेपछि आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार सिटिसिई कालिका कन्स्ट्रक्सनका सञ्चालक÷प्रतिनिधि तथा प्राविधिक कर्मचारीसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको  छ। 

तीन महिनाअघि दायर गरिएको मुद्दामा आयोगले आठ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरिएको छ। मुद्दा विचाराधीन अवस्थामा छ। आयोगको मुद्दा दर्तापछि मूल नहरको जुन खण्डमा समस्या देखिएको हो, त्यहाँ कुनै काम हुन सकेको छैन। विगतदेखि नै निर्माण कार्यमा ढिलासुस्ती हुँदै आएको उक्त आयोजना मुद्दापछि झनै ढिलो हुने देखिएको छ। 

महानिर्देशक दवाडीले यतिखेर आयोजनाको पूर्वी खण्डको मूल नहर र अन्य स्थानमा शाखा नहर निर्माणको काम जारी रहेको बताइन्। बाँकेको करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य लिइएको उक्त आयोजना अन्तर्गत पूर्वी खण्ड ५३ किलोमिटर लामो छ भने पश्चिम खण्डको दुरी ४५ किलोमिटर छ। जसमध्ये पश्चिम खण्डको मूल नहरको निर्माण कार्य सम्पन्न भइसकेको छ। 

पश्चिम खण्डमो निर्माण कार्य सम्पन्न भएपछि परीक्षण गर्दा नहर भत्कने गरेको छ। आयोजनामा काम गरेका कर्मचारी र ठेकेदार कम्पनीले घुलनशील माटोका कारण नहर भत्कने गरेको दाबी गरे पनि स्थानीयबासिन्दा र नियमणकारी निकाय घुलनशील माटोका कारण मात्रै समस्या सिर्जना भएको मान्दैनन्। 

मूल नहर निर्माणको बेला निार्माण कार्यबारे जानकारी नभएका व्यक्तिहरूलाई पेटी ठेक्का दिइनु तथा गुणस्तरहीन निर्माण सामग्री प्रयोग नगरिनुलाई मूल नहर भत्कनुमा स्थानीय मुख्य कारण मान्छन्। त्यस्तै आयोजनाको डिजाइन गर्दा वर्षातको बेला उत्तरतिरबाट बगेर आउने पानीलाई रोकथाम गर्न कुनै संरचना तयार गरिएको छैन। जसले गर्दा पनि मूल नहर भत्किनलाई सहयोग पुगेको बताइन्छ। 

दुई वर्षदेखि नै मूल नहर भत्कने गरे पनि आयोजनामा खटिएका कर्मचारीले त्यसलाई सुधार गर्ने उपाय खोज्नुको साटो निर्माण कार्य जारी राखेर लगानी थप्दै गएका थिए। कतिपय प्राविधिक दुई वर्षअघि नै मूल नहर भत्केको बेला मूल नहरको उपचार खोजेको भए यतिखेर सिक्टामा विवाद नआउने र  आयोजना ढिलो नहुने तर्क गर्छन्। 

आयोजनाका काम गरेका प्राविधिक कर्मचारीले पटकपटक भत्कने नहरको उपचार खोज्नुको साटो ठेक्का सम्झौतामा मात्र ध्यान दिने गर्थे। आर्थिक वर्ष २०६१/६२ देखि सुरु गरिएको सिक्टामा हालसम्म चौध अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ। आयोजना सक्नु पर्ने लक्ष्य एकपटक गुजारी सकेको उक्त आयोजनको हालको प्रगति ५६ प्रतिशत मात्र छ। दोस्रोपटक संशोधन गरिएको योजना अनुसार अर्को वर्ष आयोजना सम्पन्न गर्ने लक्ष्य छ। सुरुमा सात अर्ब रुपैयाँको लागतमा सम्पन्न गर्ने लक्ष्य लिइएको सिक्टामा हालको अनुमानित बजेट २५ अर्ब रुपैयाँ छ।

प्रकाशित: ९ फाल्गुन २०७५ ००:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App