coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

होटलमा एक खर्ब लगानी

काठमाडाैं, केशरमहलमा निर्माणाधीन सेराटन हाेटल। तस्बिर: नागरिक

काठमाडौं – २०७२ को विनाशकारी भूकम्पका कारण केही समय सुस्त देखिएको पर्यटकीय होटलको लगानी पछिल्लो दुई वर्षमा एक खर्ब रुपैयाँ हारहारीमा भित्रिएको छ।

पछिल्ला समय देशभर पर्यटकीय गतिविधि बढेसँगै पर्यटक स्तरीयदेखि अन्तर्राष्ट्रिय चेन होटलसम्म गरेर एक खर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको हो।

पछिल्लो समयमा होटल उद्योगमा झण्डै साढे तीन खर्ब लगानीको प्रतिबद्धता आएको थियो। प्रतिबद्धताअनुसार लगानी आइसकेको छैन र मुलुकभरको यकिन तथ्यांक पनि छैन। नेपाल होटल संघ (हान) का पदाधिकारीको अनुमानमा निजी क्षेत्रबाट एक खर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको छ।

पछिल्ला वर्षमा होटलमा लगानीको ओइरो नै लागेको छ। देशभरको अवस्था हेर्दा पर्यटकस्तरीय झण्डै एक सय होटल पछिल्ला वर्षमा निर्माण तथा सञ्चालनको अवस्थामा छन्।

हानका महासचिव विनय शाहका अनुसार अहिलेसम्म पर्यटकीय होटलमा झण्डै १० खर्ब रुपैयाँ लगानी भएको छ। यसमध्ये ३० प्रतिशत पछिल्ला वर्षमा लगानी भएको हो। उनका अनुसार भूकम्पपछि केही समय पर्यटकीय गतिविधि शून्य जस्तै भयो। तर, पछिल्ला वर्षमा होटलमा लगानी गर्नेहरु बढिरहेका छन्। यो लगानी अझै बढ्दो क्रममा रहेको हानमा महासचिव शाहले बताए।

‘होटलमा लगानी थपिनु पर्यटक क्षेत्रलाई खुसीको खबर हो,’ उनले भने, ‘पछिल्ला वर्षमा त ह्वात्तै लगानी थपिएर झनै खुसी हुनुपर्ने अवस्था छ।’ उनका अनुसार पछिल्ला वर्षमा होटलमा लगानीको ओइरो नै लागेको छ। देशभरको अवस्था हेर्दा पर्यटकस्तरीय झण्डै एक सय होटल पछिल्ला वर्षमा निर्माण तथा सञ्चालनको अवस्थामा छन्।

‘पर्यटकीयदेखि अन्तर्राष्ट्रिय चेन होटल थपिने क्रम देशभर नै बढिरहेको छ,’ उनले भने, ‘दुई वर्षयताको तथ्यांक हेर्दा एक सय हारहारीमा त्यस्ता होटल निर्माण तथा सञ्चालनको तयारीमा छन्।’ थपिने क्रममा रहेका सबै होटलको लगानी जोड्दा झण्डै साढे तीन खर्ब हाराहारी पुग्ने हानको अनुमान छ।

पर्यटनमा विमानस्थलपछिको महत्वपूर्ण पूर्वाधार होटललाई लिइन्छ। अहिलेकै अवस्थामा होमस्टेदेखि चेन होटलसम्मको अवस्था हेर्दा झण्डै २५ लाख पर्यटक धान्न सक्ने वातावरण होटल उद्योगले बनाइसकेको हानको दाबी छ। पर्यटन मन्त्रालयका अनुसार पर्यटकस्तरीय होटलमा करिब ४८ हजार कोठा छन्। यी कोठाले २५ लाख पर्यटकको लागि सुविधा दिन सकिन्छ। होटल व्यवसायीका अनुसार पाँचतारे होटल निर्माण गर्दा एउटा कोठाको लागि न्यूनतम एक करोड रुपैयाँ खर्च लाग्छ। होटल दर्ता गर्दा व्यवसायीले जति तारे भनेर दर्ता गरे पनि निर्माणपछिको पूर्वाधार अनुसार सरकारले तारे वर्गीकरण गर्छ। 

लगानी यसरी बढिरहे पनि अघिल्लो वर्ष १२ लाख हाराहारी मात्रै विदेशी पर्यटक नेपाल भित्रिएको तथ्यांक छ। ‘अहिलेकै अवस्थामा हेर्दा होटल उद्योग २५ लाख पर्यटकलाई सेवा दिन सक्ने अवस्थामा छ,’ शाहले भने, ‘अबको दुई वर्षपछि यो संख्या बढेर झण्डै ३० लाख पुग्न सक्छ।’ 

विदेशी पर्यटकलाई मात्रै गणना गर्दा होटलको अकुपेन्सी ५० प्रतिशतमात्रै हुन आउँछ। यद्यपि आन्तरिक पर्यटकको पनि चहलपहल बढ्दो क्रममा रहेकाले होटलहरुको अकुपेन्सी बढाउन सहयोग पुगेको छ। हानका अध्यक्ष अमरमान शाक्यका अनुसार मध्यपर्यटकीय सिजनमा समेत ८० प्रतिशतमात्रै अकुपेन्सी छ। 

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ। त्यसको लागि होटलको समस्या नपर्ने हानको दाबी छ। अझ सन् २०२० भित्र दर्जनभन्दा बढी होटल थपिने छन्। ती होटलमा १५ सय हाराहारी कोठा थपिने अनुमान हानको छ।

सञ्चालनको तयारीमा रहेका होटल झनै स्तरीय छन्। हानका अनुसार सन् २०१९ भित्रै स्तरीय तारे होटल सञ्चालनको तयारीमा छन्। 

सञ्चालन तयारीमा रहेको होलटमध्ये एक हो– जेडब्लु मेरिट। होटलको लागि नागपोखरीमा भवन बनिसकेको छ। उद्योगी शशिकान्त अग्रवालको लागनीमा बनेको पाँचतारे होटल सन् २०१९ भित्रै सञ्चालनको तयारी हुँदैछ। अग्रवालकै लगानीमा केशरमहलमा चार तारे फेयरफिल्ड मेरियट होटल सञ्चालनमा आइसकेको छ। उनले दुईवटा होटलमा सात अर्ब रुपैयाँ लगानी गरेका छन्।

त्यसैगरी, ठमेलमा निर्माण भएको छाया सेन्टरमा पाँचतारे अलफ्ट काठमाडौं ठमेल होटल सञ्चालनको अन्तिम तयारीमा छ। अन्तर्राष्ट्रिय चेन होटल ‘अलफ्ट’ ब्रान्डमा सञ्चालन हुने होटलको लगानी चार अर्बभन्दा बढी रहेको बताइन्छ। यो होटलमा बैंकर पृथ्वीबहादुर पाँडे समूहको लगानी छ।

त्यसैगरी, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको होटल पनि निर्माणको अन्तिम चरणमा छ। केशरमहलमा शेराटन चेन होटल भवन धमाधम बनिरहेको छ। आठ अर्ब लगानीको योजना रहेको यो होटल पनि सन् २०१९ मै सञ्चालनको लक्ष्य राखिएको छ। 

पोखराको प्रसिद्ध होटल बाराहीको चेनको रुपमा केशरमहलमै अर्को होटल पनि निर्माणधीन छ। पोखराका व्यवसायी विप्लव पौडेलको समूहले निर्माण गरिरहेको यो होटल तीन तारे हो। यसमा पनि दुई अर्ब हाराहारी लगानीको अनुमान गरिएको छ।

लाखौं पर्यटकलाई स्तरीय सेवा दिन सकिने गरी होटलहरु थपिने क्रम तीव्र छ। स–साना व्यवसायीदेखि व्यापारिक घरानासम्मले होटलमा लगानी बढाइरहेका छन्। 

चितवन मेघौलीमा ताज सफारी रिसोर्ट, सराय होटल सञ्चालन गरेका व्यापारिक घरना चौधरी समूहले केही साताअघि मात्रै होटल भिभान्ता सञ्चालनमा ल्याएको छ। बुटिक होटलको रुपमा सञ्चालनमा आएको यो होटल जावलाखेलमा छ।

अर्को व्यापारिक घराना जगदम्बा ग्रुपको लगानीमा नक्साल भगवती बहालमा होटल बन्दैछ। साहिल अग्रवालको लगानीमा बनिरहेको उक्त भवनमा डबल ट्री नामको चारतारे होटल सन् २०२० भित्र सञ्चालनमा ल्याउने तयारी छ। 
पर्यटन र एअरलाइन्सको व्यवसायमा जमेका आङछिरिङ शेर्पाले पनि होटलमा लगानी बढाउन थालेका छन्। उनले होटल ली शेर्पा सञ्चालनको लागि लैनचौरमा भवन तयार गरिसकेका छन्। त्यसैगरी, दरबारमार्गमा नेपाल ट्रस्टको जग्गा ३० वर्षको लागि भाडामा लिएर होटल सञ्चालनको लागि धमाधम भवन निर्माण गरिरहेका छन्। शेर्पाले पनि पर्यटन वर्ष २०२० लाई लक्ष्य गरी सन् २०१९ भित्रै होटल सञ्चालन गर्ने तयारी गरेका छन्। 

दुगड समूहले विराटनगरमा ह्यारिसन प्यालेस सञ्चालनमा ल्याएको छ। यो तीनतारे होटल हो।राजधानी काठमाडौंमात्रै नभएर सातै प्रदेशका प्रमुख पर्यटन गन्तव्यमा होटल खुल्ने क्रम तीव्र छ। काठमाडौंपछि दोस्रो ठूलो पर्यटकीय गन्तव्य पोखरामा पनि होटल थपिने क्रम बढेको छ। हानका अनुसार पछिल्लो समय पर्यटकस्तरीय झण्डै डेढ दर्जन होटल पोखरामा थपिने क्रममा छन्। गण्डकी प्रदेशले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै पोखरामा पर्यटकीय गतिविधि बढेको छ। यसले पनि पोखरामा अझै धेरै होटल थपिने अनुमान पर्यटन क्षेत्रको छ। 

चितवन, लुम्बिनी, भैरहवा, नेपालगन्ज, धनगढी, विराटनगर, महेन्द्रनगर, धरान लगायत स्थानमा पनि नयाँ पर्यटकीय तारे होटल थपिने क्रममा छन्। नयाँ होटल सञ्चालनमा प्रतिस्पर्धा नै भइरहेको पर्यटन व्यवसायी दीपक महत बताउँछन्। होटल जसरी थपिरहेका छन्, सो अनुरुप पर्यटक भित्र्याउन नसकिएको महतको भनाइ छ।

भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुन लागेको छ। यो विमानस्थल सञ्चालनसँगै पर्यटकीय गतिविधि ह्वात्तै बढ्ने अनुमान गरिन्छ। यसैले भैरहवामा पनि होटलमा लगानी बढेको छ। बोधिसत्व, रेड सन जस्ता चारतारे होटल हालसालै सञ्चालनमा आएका छन्। म्यान्स जस्ता पाँचतारे होटल पनि सञ्चालनको तयारीमा छ। भवन बनिसकेकाले यो होटल सन् २०१९ भित्र सञ्चालन गर्ने लक्ष्य छ।

नेपालगन्जमा पनि होटल थपिने क्रम उस्तै छ। तातोपानी नाका बन्द भएसँगै मानसरोवर जाने भारतीय पर्यटकले नेपालगन्ज भएर सिमिकोट, हिल्सा नाकाको प्रयोग गर्न थालेका छन्। यसैले गर्दा नेपालगन्जमा पछिल्ला वर्षमा करिब डेढ दर्जन स्तरीय होटल थपिरहेको तथ्यांक हानसँग छ।

त्यसैगरी, पाँचतारे होटल सोल्टी, अन्नपूर्ण लगायत होटल सञ्चालकले पनि देशका विभिन्न ठाउँमा होटलमा लगानी गर्दैछन्। यसरी देशभर थपिइरहेका तथा थपिने क्रममा रहेका होटलको अवस्था हेर्दा ठूलो परिमाणमा रोजगारी सिर्जनासँगै अर्थतन्त्रमा योगदान पुगेको हानको दाबी छ। निजी क्षेत्रले होटलमा लगानी गरिरहेको बेला सरकारी क्षेत्रबाट आवश्यक पूर्वाधार निर्माण नगर्दा होटलको लगानी उत्तिकै जोखिममा रहेको हानका अध्यक्ष अमरमान शाक्य बताउँछन्।

‘पर्यटन विकासको लागि निजी क्षेत्रले तयार गर्नुपर्ने पूर्वाधार विकास गरिसकेको छ,’ उनले भने, ‘अब सरकारले पर्यटन भिœयाउने वातावरण बनाएर निजी क्षेत्रको लगानी सुरक्षित गर्नपर्‍यो।’ उनका अनुसार बैंकबाट ल्याएर होटलमा लगानी गरिएको हुन्छ। होटल डुब्नु भनेको बैंक डुब्नु र बैंक डुब्नु भनेको जनताको पैसा डुब्नु हो। त्यसैले लगानी सुरक्षित गर्न सरकारले आवश्यक पूर्वाधारको निर्माण तथा वातावरण बनाउनुपर्ने शाक्यको भनाइ छ। सरकारले द्रुत गतिमा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचारप्रसार तथा प्रवद्र्धनका काम गर्नुपर्छ। विमानस्थलको विकास र विस्तारसँगै नेपाल वायुसेवा निगमलाई विश्वस्तरमा फैलाउनुपर्ने पर्यटन क्षेत्रको बुझाइ छ। 

नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीका अनुसार पछिल्लो समय होटल उद्योग धेरै आशालाग्दो गरी देशभर फैलिरहेको छ। यो पर्यटन क्षेत्रको लागि अत्यधिक खुसीको खबर हो। निजी क्षेत्रबाट आवश्यक पूर्वाधार विकास हुँदै जाँदा सरकारले पनि त्यहीअनुरुप विकास गर्न जुटेको उनले बताए। ‘सरकार पनि पर्यटन पूर्वाधारको निर्माणमा जुटिरहेको छ,’ उनले भने, ‘पर्यटन बोर्ड पनि पर्यटन प्रर्वद्धनमा लागेको छ।’ सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० पछि पर्यटकीय गतिविधि नेपालमा ह्वात्तै बढ्ने अनुमान जोशीको छ। त्यसैले होटलहरुमा लगानी गर्नको लागि डराउनु नपर्ने उनी बताउँछन्।

पर्यटन मन्त्री रवीन्द्र अधिकारी पनि होटलमा लगानी गर्दा डराउन नपर्ने बताउँछन्। ‘देश विकासको प्रमुख आधार नै पर्यटन हो,’ उनले भने, ‘त्यही अनुरुप सरकार लागिरहेको छ भने होटलमा लगानी गर्न किन डराउनुपर्‍यो।’ उनका अनुसार अब धमाधम विमानस्थल निर्माणको अन्तिम चरणमा छन्। नेपाल वायुसेवा निगम बजार विस्तारको क्रममा छ। राजनीतिक स्थिरता छ। बर्सेनि पर्यटकको संख्या पनि बढ्दो छ। ‘विदेशी पर्यटकको संख्या बढ्दो त छ नै,’ उनले भने, ‘२०२० मा हामीले त्यो संख्यालाई ह्वात्तै बढाएर २० लाख पुर्‍याउने योजना बनाएका छौं। त्यसैगरी, आन्तरिक पर्यटकीय गतिविधि पनि झन्झन् बढ्दो छ।’ 

पर्यटन क्षेत्र सबै हिसाबले आसलाग्दो गरी उदाउँदो छ। निजी र सरकारी क्षेत्र दुवै मिलेर यसलाई दौडाउन लागिरहेको उनले बताए। निजी क्षेत्रले हस्पिटालिटीका पूर्वाधार निर्माण गरिरहेको छ भने सरकारले पनि आवश्यक पूर्वाधार निर्माण गरिरहेको मन्त्री अधिकारीले बताए। 

हाल देशभर डेढ सय हारहारीमा तारे होटल छन्। तीमध्ये ११ पाँच तारे छन्। चारतारे होटल ६ वटा छन्। ३६ वटा तीनतारे र ४७ वटा दुईतारे होटल छन्। ३७ वटा एकतारे होटल छन्। सयौंको संख्यामा पर्यटक स्तरीय होटल रहेको तथ्यांक पर्यटन विभागमा छ।

हानमा देशभरका ११ सयभन्दा बढी होटल सदस्य छन्। पर्यटक स्तरदेखि पाँचतारे स्तरसम्मका होटल तथा रिसोर्ट सदस्य रहेको हानले बतायो। हानको अनुमानमा काठमाडौंमा मात्रै करिब ६ सय होटल छन्। हानको सदस्यता भने करिब दुई सयले मात्रै लिएका छन्।

प्रकाशित: ९ फाल्गुन २०७५ ००:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App