coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको प्रश्नः जनताले मन नपराएपछि गीत हटाएछन्, सरकारलाई किन दोष?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति शर्माको गीत हटाउनमा सरकारले कुनै दबाब नदिएको दाबी गरेका छन्।

बुधवार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले मन नपराएपछि गायक आफैंले गीत युट्युवबाट हटाएको दाबी गर्दै विना कारण सरकारको आलोचना गरेकोमा असन्तुष्टि जनाए। 

ओलीले भने, ‘हामी नचाहिने कुरामा रमाउँछौ, उत्ताउलो हुन्छौं, प्रोत्साहित गर्छौ। एउटाले भुलचुकमा गीत बनायो रे! लुट, लुट, गरेर केही काम लाग्दैन, लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्, जनताले मन पराएनौं तिम्रो गीत भनेपछि युट्युबबाट हटाएछन्।’

ओलीले संसदमा कांग्रेस सांसद अमरेशकुमार सिंहले २५ हजार पुरस्कार दिने कुरामा पनि आपत्ति जनाए। ‘अर्को एउटा सांसदले त्यस्तो राम्रो महान गीत, लुटेर खान सिकाउने गीत नेपालीलाई सुहाउँदो, किन हटाएको भनेर राख्नुपर्छ भनेछन्। हाम्रो त बाटै त्यही हो, २५ हजार पुरस्कार दिन्छु भनेछन्। मलाई अचम्म लाग्छ, हामी कता जान खोज्दैछौं’, ओलीले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले गायकले भावनामा बगेर गीत लेखेको आरोप समेत लगाए। ‘भावनामा बगेर गीत लेखे, युट्युवमा हाले, सबैले राम्रो गरेनौ भाई भनेपछि हटाएछन, सकियो नी कुरो’, उनले भने, ‘सरकारले केही भनेको छैन। सरकारको भनाई सुबाटोमा हिडौं भन्ने मात्र हो।’ 

प्रकाशित: ८ फाल्गुन २०७५ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App