coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डा. केसीले दिए १७ औ अनसनको चेतावनी

काठमाडौं- चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटक पटक सत्याग्रह गर्दै आइरहेका डा. गोविन्द केसीले १७ औ अनसनको चेतावनी दिएका छन्।

वुधबार एक विज्ञप्ति जारी गर्दै केसीले प्रबुद्ध नागरिकहरुको आग्रहमा १६ औं अनसनका कार्यक्रम केही समयलाई स्थगित गरेको बताउँदै उनले चिकित्सा शिक्षा विधेयकमा १५ औं सत्याग्रहको बेला भएको सम्झौता अनुसार नै अगाडि बढ्न सरकारलाई ध्यानाकर्षण गराएका छन्। उनले १५ औ सत्याग्रहमा सहमति गरिएका अन्य माग पनि अबिलम्ब कार्यान्यवन गर्न माग गरेका छन्।

गण्डकी मेडिकल कलेज लगायत अन्य विभिन्न कलेजले विद्यार्थीहरुसँग चर्को अबैध शुल्क असुलेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको डा. केसीले बताएका छन्। 'अबैध शुल्क उठाएको विषयमा विद्यार्थी आन्दोलनमा उत्रिँदा समेत नियमन निकायले ध्यान नदिनु दुर्भाग्यपूर्ण हो। शुल्कको विषयमा हामीसँग सम्झौता भई नेपाल सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क असुल गर्ने कलेज संचालकलाई फौजदारी मुद्दा चलाएर कडा कारवाही गर्न माग गर्दछौं। साथै हाल आन्दोलनरत विद्यार्थीको माग प्रति ऐक्यबद्धता जनाउँदै, उनीहरुको माग अविलम्ब पूरा गर्न जोडदार माग गर्दछौं', विज्ञप्तिमा भनिएको छ।

चिकित्सा क्षेत्रमा अनावश्यक चलखेल गरी २ वर्ष अगाडि नै महाभियोग लगाउन माग गरिएका अख्तियारका आयुक्त राजनारायण सिंह पाठकलाइ सो समयमा कारवाही नगरिएकाले हालको अवस्था आएको केसीको भनाई छ। पाठकको घुस प्रकरण चार महिना अगाडि नै प्रधानमन्त्री खड्ग प्रसाद ओली स्वयमले थाहा पाएर गुपचूप रहनु गम्भीर विषय भएको उनले बताएका छन्। सो विषय बाहिर मिडियामा आएपछि समेत कारवाही गर्नुको सट्टा राजीनामा दिन लगाएर उन्मुक्ति दिन खोज्नु दण्डहीनताको चरम नमुना भएको केसीको भनाई छ। आयुक्त पाठकलाइ कानुनी कठघरामा उभ्याएर कानुन अनुसार कारवाही गर्न उनले माग गरेका छन्। उनले पदीय दुरुपयोग गरी हटाइएका तर कारवाही नगरिएका अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्की तथा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधीश गोपाल पराजुलीलाई समेत कानुन अनुसार कारवाही गर्न माग गरेका छन्।

उनले संसदमा दर्ता भएको  शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा समेत  गम्भीर आपत्ति रहेको बताएका छन्। नागरिकको अधिकार कुन्ठित गर्ने विधेयक स्वीकार्य नभएको भन्दै उनले सो विधेयक संसदबाट पारित गरेमा यसको विरुद्ध भद्र अवज्ञा गर्ने बताएका छन्।

प्रकाशित: ८ फाल्गुन २०७५ ०९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App