५ वैशाख २०८१ बुधबार
राजनीति

३२ कटेका हटाउन नेविसंघमा दौडधुप

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ३२ कटेका नेताहरू हटाउन पार्टीभित्र तेस्रो धार भनिएको समूहले दौडधुप सुरु गरेको छ।

नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेताहरूले ३२ कटेकालाई तदर्थ समितिमा राख्न नहुने भन्दै ‘लविङ’ सुरु गरेका हुन्। यसअघि पार्टीले विधान बनाउँदै गर्दा नेविसंघमा उमेर हद लगाउने भए पार्टीमा पनि लगाउनुपर्छ भन्दै आएको तेस्रो धारका विद्यार्थी नेताहरू पछिल्लो समय उमेर हद लगाउन सक्रिय भएको हो। उनीहरू विधान बनाएपछि कार्यान्वयन गर्नै पर्ने भन्दै पार्टीका नेताहरूको ध्यानाकर्षण गराइरहेका छन्।

‘विधान बनाइसकेपछि त्यसको रक्षा हामीले गर्नुपर्छ’, तेस्रो धारका विद्यार्थी नेता कुन्दनराज काफ्ले भन्छन्, ‘त्यसका लागि हामी जुनसुकै प्रयत्न बाँकी राख्दैनौँ।’ नेविसंघमा उमेर हद लगाउन माग गर्दै सिटौला समूहका निवर्तमान केन्द्रीय सदस्यहरूले बुधबार पार्टी सभापतिसहित तीन नेतालाई भेटेका छन्। उनीहरूले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता अर्जुनरसिंह केसीलाई भेटेका हुन्। तीन नेताहरूलाई तेस्रो धाराका विद्यार्थीहरूले नेविसंघको तदर्थ समितिमा उमेर हद लगाउन माग गरे।

यस्तै, उनीहरूले क्याम्पसका इकाई अध्यक्ष र स्ववियु सभापतिलाई पनि महाधिवेशनमा प्रतिनिधि बनाउन माग गरे। ‘यसअघि इकाई सभापति र स्ववियुसभापति स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो’, नेता भेट्न पुगेका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले भने, ‘अहिले ठूला कलेज र विश्वविद्यालयका मात्र प्रतिनिधि हुने व्यवस्था छ। यसले कलेजका हजारौँ विद्यार्थीको नेतृत्व गर्ने नेताहरूमाथि अन्याय भएको छ। अब विधान संशोधन गरेर यसलाई मिलाउनुस् भनेर हामीले नेताहरूलाई भनेका छौँ।’
आफ्नै निवास बूढानीलकण्ठमा भेट्न पुगेका विद्यार्थी नेतालाई सभापति देउवाले सबैसँग गरेर अघि बढ्ने भन्दै आश्वस्त पारे। ‘मैले तपाईंहरूको कुरा बुझेको छु’, देउवाले भने, ‘म यो विषयलाई छलफलमा लैजान्छु र सबैसँगको छलफलबाट निर्णयमा पुग्छु।’

अध्यक्ष नैैनसिंह महरले राजीनामा दिएपछि ‘भ्याकुम’ बनेको नेविसंघलाई कसरी अघि बढाउने भन्नेबारे सभापति देउवाले बैठकमा औपचारिक कुरा नउठाएको विद्यार्थीसँगको भेटका क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले दुखेसो गरे। ‘सभापतिजीले यो विषय छलफलमा लैजानुभएको छैन’, उनले भने, ‘ उहाँले छलफलमा ल्याएपछि म तपाईंहरूको कुरा राख्छु।’

आफू निकटका विद्यार्थी नेताहरू माग लिएर आएपछि नेता केसीले भने उनीहरूको माग पूरा गर्न साथ दिने आश्वासन दिए। उनले आफू नेविसंघ विघटनको पक्षमा नरहेको तर विघटन गर्नैपर्ने अवस्था आएका कारण अब विधान कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए। ‘म नेविसंघ विघटन गर्नुहुँदैन भन्ने पक्षमा हो। तर विघटन गर्नैपर्ने अवस्था आयो।

तर तदर्थ समितिमा विधान कार्यान्वयन गर्नुपर्छ।, विधानभन्दा माथि कोही हुँदैन’, उनले भने, ‘नयाँ बन्ने समितिलाई महाधिवेशन गर्न ६ महिनाको कार्याकाल दिनुपर्छ। यो नभए म पनि तपाईंहरूको आन्दोलनमा साथ दिन्छु।’

सिटौला समूहले ३२ वर्षमाथिको तदर्थ समिति आए समानान्तर समिति गठन गर्ने तयारीसमेत गरेको छ। तेस्रो धारका केही शीर्ष नेताहरूले ३२ वर्षमाथिको समिति आएमा समानान्तर समितिको तयारी गर्न पनि निर्देशन दिएको स्रोतले बताएको छ।

नेताहरूसँग भेट्दै तेस्रो धारका विद्यार्थी नेताहरूले यसको संकेत पनि गरेका छन्। ‘३२ वर्ष माथिको समिति आए हामी ३२ वर्षमुनिका देशभरका विद्यार्थी नेता भेला गछौँ र समानान्तर समितिको घोषणा गर्छौ’, निवर्तमान केन्द्रीय सदस्य भट्टले वरिष्ठ नेता पौडेलसँग भने, ‘त्यसको प्रमुख अतिथिको निम्ता तपाईंलाई गर्छौँ। आउनुहोला।’ त्यसक्रममा नेता पौडेलले पहिला छलफल गरौँ र त्यसपछि सल्लाह गरौँ भन्दै आश्वासन दिएका थिए। नेताहरूलाई भेट्न नेविसंघका नेताहरू सुशील भट्ट, निरञ्जन थापा, जानुका पन्त, नवराज त्रिपाठी, शैलेन्द्र गौडेल, मेली साहलगायत पुगेका थिए।

पछिल्लो समय सभापति देउवा ‘क्याम्प’मै केही नेताले तदर्थ समिति बनाउँदा उमेर हद लगाउन नहुने अडान राखिरहेका छन्। ११ औँ महानधिवेशनमा सबैभन्दा बढी मत तेस्रो धारका महामन्त्रीका उम्मेदवार कुन्दनराज काफ्लेले ल्याएको भन्दै यो समूहले तदर्थ समितिमा नेतृत्वको दाबी गर्दै आएको छ।

पार्टीको विधान र नेविसंघबारे छलफल गर्न बिहीबार पार्टी केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। तर उक्त बैठकमा पनि कांग्रेसले नेविसंघबारे निर्णय गर्नसक्ने सम्भावना कम छ। दुई महिनाअघि सम्पन्न महासमिति बैठकको विधान कार्यान्वयनको विषय नटुंगिएसम्म नेविसंघबारे निर्णय नहुने पार्टी स्रोतले जनाएको छ। 

 

प्रकाशित: ८ फाल्गुन २०७५ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App