१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विकल्प बन्दै न्युजिल्यान्डको पढाइ

कक्षा ११ र १२ उत्तीर्ण नहुँंदै हिजोआज धेरै विद्यार्थीको मुख्य योजना विदेशको पढाइ हुने गर्छ। उच्च शिक्षाका लागि विदेशमै गएर पढ्न जाने विद्यार्थीको सपनालाई साकार रूप दिन राजधानीमा धेरै एजुकेसन कन्सल्टेन्सी खुलेका छन्।

केही समयअघि वैदेशिक शिक्षाका लागि अस्ट्रेलिया धाउनेहरूको लहर थियो। आजभोलि अस्ट्रेलियापछि अर्को गन्तव्य न्युजिल्यान्ड बनेको छ। स्तरीय पढाइ र फुर्सदमा पार्ट टाइम काम गर्न चाहनेका लागि न्युजिल्यान्ड शिक्षा सहज बन्दै गएको छ।

ल्यान्ड मार्क एजुकेसन कन्सल्टेन्सी पुतलीसडक काठमाडौंका प्रबन्ध निर्देशक कुमार कार्की हिजोआजका विद्यार्थीको यही इच्छालाई साकार पार्न आफूहरूले सहयोगीको भूमिका खेल्दै आएको बताउँंछन्। ‘विद्यार्थीलाई न्युजिल्यान्डमा अध्ययनका लागि पठाउन हामीले कन्सल्ट गरिरहेका छौं,’ उनले  भने, ‘विद्यार्थीले न्युजिल्यान्डमा उच्च शिक्षा लिएर नेपाल र नेपालीका लागि केही गरून् भन्ने हाम्रो ध्येय हो।’

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मात्र न्यूजिल्यान्डका लागि एक हजार ६ सय ४२ विद्यार्थीले एनओसी लिएका छन्। विदेशमा उच्च शिक्षा हासिल गर्न जाने देशहरूमा न्युजिल्यान्ड दसौं स्थानमा पर्छ।

प्रबन्ध निर्देशक कार्कीका अनुभवमा विश्वका प्रतिष्ठित शैक्षिक संस्थाबाट गुणस्तरीय शिक्षा लिनु विदेशमा गई पढ्न जाने विद्यार्थीको मुख्य उद्देश्य रहेको देखिन्छ। विदेशमा काम गर्दै पढ्ने योजनासहित विद्यार्थी उच्च शिक्षाका लागि बिदेसिने देखिएको उनको अनुभव छ।  विज्ञान र व्यवस्थापन संकाय लिएर १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थी विदेशमा गई गुणस्तरीय उच्च शिक्षा लिने योजना बनाउने गरेको देखिन्छन्। विशेष गरेर काठमाडौंका माध्यमिक विद्यालय उत्तीर्ण विद्यार्थीको योजना विदेशमा गई पढ्न जाने रहेको देखिन्छन्। दुर्गम गाउँंहरूमा मानविकी र शिक्षाशास्त्र लिएर कक्षा ११ र १२ उत्तीर्ण विद्यार्थीको योजना भने स्वदेशमै रहेर पढ्ने रहेको देखिन्छ।

कंगारु एजुकेसन फाउन्डेसन काठमाडौंका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेशबाबु तिमल्सिना विश्वमै नाम चलेका प्रतिष्ठित शैक्षिक संस्थामा रहेर गुणस्तरीय शिक्षा लिने उद्देश्य रहेका कारण कक्षा ११ र १२ उत्तीर्ण भएपछि धेरै विद्यार्थी विदेशमा गई पढ्न चाहने देखिएको अनुभव साट्छन्। सीईओ तिमल्सिना भन्छन्, ‘विदेशतिर प्राक्टिकल बेसमा रहेर काममा आधारित शिक्षा दिन्छन्, जुन विद्यार्थीलाई मन पर्छ।’ पढाइ सकेर स्वदेश फर्के पनि प्रतिष्ठित शिक्षण संस्थाबाट राम्रो शिक्षा लिएर आएका हुनाले आफूहरूले नेपालमा राम्रो पोस्ट अनि कमाइको काम पाउने भएकाले विद्यार्थीको आकर्षण विदेश गएर पढ्नै नै हुने उनी बताउँछन्।

जसले जे भने पनि विदेशमा गई पढ्न जान चाहने विद्यार्थीको मुख्य ध्येय भनेको सेटलमेन्ट हुने नै हो। ‘विद्यार्थीको अन्तिम लक्ष्य विदेशमै बस्नेगरी व्यवस्था मिलाउने नै हुन्छ,’ विदेश पढ्न जाने तयारीमा रहेका मिलन श्रेष्ठ भन्छन्। विदेश जान सक्ने वा पाउने विद्यार्थी सफल भनी निर्धारण गर्ने तत्व बनेको उनको बुझाइ छ। यही कारण पनि कति विद्यार्थी नचाहेर पनि विदेश गई पढ्न जाने इच्छा राख्ने उनको बुझाइ छ।

सिभिल मलस्थित एजुकेसन पार्कका विराज पाण्डे विदेशमा गई पढ्न रुचाउने देशहरूको लिस्टमा न्युजिल्यान्ड पनि एक रहेको जानकारी दिन्छन्। ‘पछिल्ला वर्ष न्युजिल्यान्ड गई पढ्न चाहने विद्यार्थीको संख्या बढ्दो छ,’ उनले भने।
नेपालबाट धेरैजसो विद्यार्थी अस्ट्रेलियाप्रति आकर्षित रहे पनि न्युजिल्यान्डलगायत देशमा पुग्नेहरूको संख्या पनि कम छैन। त्यसो त विदेशमा गई अध्ययन गर्न खर्च पनि धेरै लाग्छ। बढी पैसा लगाएरै भए पनि विद्यार्थीको आकर्षण विदेश गई पढ्न जाने गरेको देखिन्छ।

नेपालका शैक्षिक संस्थाहरूले विद्यार्थीको चाप थेग्न नसक्नु, विद्यार्थीको चाहना र आवश्यकताअनुसारका सुविधासम्पन्न तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको अभाव हुनु, नेपालमा रोजगारीको अवसर नहुनुजस्ता कारणहरूले पनि विदेश पढ्न जाने विद्यार्थीको आकर्षण बढेको देखिन्छ।

अहिलेको राष्ट्रिय आवश्यकता भनेको विदेशमा नेपाली विद्यार्थीले सिकेको ज्ञान, सीप, प्रविधि, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा लगाउने अवस्थाको सिर्जना गरिनु हो। राष्ट्रवादको नाराले मात्र कुनै योग्य व्यक्ति नेपाल फर्किन सक्ने अवस्था अहिले नरहेकाले त्यसका लागि राज्यसँग दक्ष जनशक्ति परिचालन गर्ने स्पष्ट दृष्टिकोण हुनु जरुरी छ। भारत, चीन र कोरिया जस्ता मुलुकको प्रगतिमा विदेशमा अध्ययन गरेका विद्यार्थीको ठूलो योगदान छ भन्ने गरिन्छ तर यी देशले अवसर प्रदान गरेकाले विद्यार्थी आफ्नो देशमा फर्केका हुन्। नेपालबाट न्युजिल्यान्ड पढ्न जाने विद्यार्थीबाट राष्ट्रले सोही खालको अपेक्षा राख्नुपर्ने परामर्शदाताहरू बताउँछन्।

प्रकाशित: ८ फाल्गुन २०७५ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App