coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सहज छैन अमेरिकामा अध्ययन

बर्नहार्टबाट कक्षा ११ र १२ मा ८५ प्रतिशत ल्याई उत्तीर्ण भएका सन्तोष ज्ञवाली उच्च शिक्षाका लागि अमेरिका गए। पढाइसँगसँगै काम पनि गर्न पाइने भएकाले अमेरिका आएको उनले बताए। उनी इभान्सभिले विश्वविद्यालयमा छात्रवृत्तिमा गणित विषय लिएर स्नातक गरिरहेका छन्।

‘छात्रबृत्ति पाइने र ठूलो देश भएकाले भविष्य उज्ज्वल हुने आशा राखेर यहाँ आएको हुँ,’ सन्तोषले भने, ‘आइएलटिएस र टोफेल गरेर मात्र भर्नाका लागि आवेदन दिँदा भिसा लाग्ने सम्भावना बढी हुन्छ।’ पढाइसँगसँगै  विद्यार्थी काम गर्न केही गाह्रो भए पनि पढाइपछि काम गर्ने मौका पाउँदा मासिक दुईदेखि तीन लाखसम्म कमाउन सक्ने उनको भनाइ छ। अमेरिकामा अरू देशमा जस्तो लुकेर काम गर्न पाइँदैन तर हप्तामा २० घन्टा काम गर्ने अनुमति हुन्छ। बिदाको बेला भने फुलटाइम काम गर्न पाइन्छ। 

नेपालमा उच्च शिक्षा हासिल गरेर पनि बरोजगारी बस्नेको संख्या धेरै छ। जसले गर्दा विद्यार्थीहरूको रोजाइमा नै ‘अब्रोड स्टडी’ आउने गर्छ। त्यहाँ जाने विद्यार्थीको मुख्य उद्देश्य सुरुमा पढाइ सक्ने र पछि राम्रो कमाइ गर्ने हुन्छ। त्यही उद्देश्यका साथ धेरै नेपाली विद्यार्थी अमेरिका आउने उनको बुझाइ छ। आफ्नो पनि त्यही नै उद्देश्य रहेका उनले बताए। 

आर्थिक वर्ष (आव) २०७३/७४ मा तीन हजार दुई सय ७० र २०७४/७५ मा एक हजार सात सय ९० जनाले ‘नो अब्जेक्सन लेटर’ बनाएका छन्। चालू आवको माघसम्म सात सय ११ जनाले ‘नो अब्जेक्सन लेटर’ बनाएको शिक्षा मन्त्रालय वैदेशिक अनुमतिपत्र शाखाले जानकारी दिएको छ। 

त्यसैगरी विज्ञान विषयमा कक्षा ११ र १२ सकाएकी सुनीता केसी अहिले टोफेल गरिरहेकी छन्। उनी अमेरिको टेक्सास स्टेट विश्वविद्यालयमा कम्प्युटर सफ्टवेयर विषय पढ्न जान खोजेका बताइन्। ‘सानैदेखिको चाहना अमेरिका गएर पढ्ने भएकाले दिनरात मेहनत गरिरहेकी छु,’उनले भनिन्। सेप्टेम्बर इन्टेकमा आफ्नो उच्च शिक्षा सुरु गर्ने चाहना रहेको उनले जानकारी दिइन्। ‘आफूमा नै कन्फिडेन्ट र सही प्रमाणपत्र भएपछि निश्चय नै भिसा लाग्छ,’ उनले भनिन्, ‘एकडेमिक स्टेटस पनि राम्रो छ र मिहिनेत पनि गरिरहेका छु र भिसा लागेर पढ्न पाउँछु भन्ने पनि विश्वास राखेको छु।’

कक्षा ११ र १२ पास गरेर अमेरिका जान ‘नो अब्जेक्सन लेटर’ लिन आउने विद्यार्थीको संख्या पछिल्लो समयमा बढेको वैदेशिक अनुमतिपत्र शाखाले जनाएको छ। पढाइका साथसाथै काम पनि गर्न मिल्ने र आफ्नो व्यक्तिगत खर्च र शिक्षण शुल्क तिर्न सक्ने भएकाले विदेश जान विद्यार्थी आकर्षित हुने ग्लोबल रिचका प्रमुख नारायण बजाजको भनाइ छ। ‘उच्च शिक्षाका लागि नेपाली जाने चौथो मुलुकको सूचीमा अमेरिका छ,’ उनले भने,  ‘विद्यार्थीहरूको रोजाइमा अस्ट्रेलिया पहिलो नम्बरमा छ भने दोस्रोमा जापान।’

केशरमहलस्थित शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा ‘नो अब्जेक्सन लेटर’ बनाउन लाइनमा उभिरहेका बेला प्रकाश यादवले भने, ‘आइइएलटिएस वा टोफेल कक्षा लिएर राम्रो स्कोर ल्याएपछि अमेरिकामा पढ्न पाइन्छ र पढाइ पूरा भएपछि राम्रो अवसर प्राप्त हुने भएकाले उतै जाने विचार गरेको हुँ।’ उच्च शिक्षाका लागि बाहिर जान चाहनुमा पढाइभन्दा पनि रोजगारी प्रमुख कारण रहेको विद्यार्थीहरू सुनाउँछन्। ‘अमेरिकामा कमाइ र पढाइ दुवै हुने भएकाले त्यहाँ जान लागेको हुँ,’ यादवले भने। अमेरिका जान साढे १० लाखदेखि १५ लाखसम्म तिर्नुपर्ने उनको भनाइ छ। 

‘अमेरिकी दूतावासले इन्टरभ्युमा विद्यार्थीलाई रिजेक्ट गर्ने सम्भावना बढी भएकाले अरू देशमा भन्दा अमेरिका जान कम विद्यार्थीले आवेदन दिने गर्छन्,’ अमेरिका जान तयारी अवस्थामा रहेकी केसीले भनिन्। इन्टरभ्यु दिन एक सय ६० अमेरिकी डलर तिरेर अगाडि नै समय लिनुपर्छ। आव २०७४/७५ मा ५८ हजार सात सय ५८ र चालू आवको माघसम्म ३९ हजार चार सय ४६ जनाले अनुमतिपत्र लिएको वैदेशिक अनुमतिपत्र शाखाका अधिकृत बमेश्वर राईले बताए। 

अस्ट्रेलिया, जापान, भारत, अमेरिका, क्यानडा र चीनलगायत मुलुक जान बढी विद्यार्थी आवेदन दिन आउने शिक्षा मन्त्रालय वैदेशिक अनुमतिपत्र शाखाले जनाएको छ।

प्रकाशित: ८ फाल्गुन २०७५ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App