coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

किन बढ्दै छ अस्ट्रेलियामा विद्यार्थी आकर्षण ?

काठमाडौं – पछिल्ला केही वर्षयता विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरूको संख्या बढेको छ। राम्रो विषयको खोजीमा नेपाली विद्यार्थीले वैदेशिक शिक्षामा जोड दिएको देखिन्छ। केही वर्षयता नेपाली विद्यार्थीको पहिलो रोजाइ नै अस्ट्रेलिया बन्दै गएको छ। विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ।

शिक्षा मन्त्रालयको अनुसार आर्थिक वर्ष (आव)  मा कुल २८ हजार एक सय २६ ले विभिन्न देशका लागि एनओसी लिएका थिए भने ०७१/७२ मा ३० हजार ६ सय ९६ ले विश्वका ६६ देशमा विभिन्न विषय अध्ययनका लागि एनओसी लिएका थिए। यसैगरी, आव ०७२/७३ मा ३२ हजार चार सय ८९ र आव ०७३/७४ मा ५० हजार ६ सय ५९ ले एनओसी लिएका थिए। 

शिक्षा मन्त्रालयको अधिकृत बमशेर राईले उपलब्ध गराएको तथ्यांकअनुसार ०७४ वैशाख २ गतेदेखि ०७५ माघ २९ गतेसम्मको तथ्यांक हेर्दा कुल ७७ देशका लागि एक लाख १२ हजार नौ सय ५९ ले एनओसी लिएका छन्। यही अवधिमा अस्ट्रेलियाका लागि एनओसी लिने विद्यार्थीको संख्या ६५ हजार चार सय ८७ पुगेको छ। मन्त्रालयमा एनओसी लिन आएकी मेनुका मानन्धरले यसै वर्ष बिएस्सी नर्सिङ पूरा गरेकी हुन्। उनी स्नातकोत्तर तहमा नर्सिङ अध्ययनका लागि अस्ट्रेलिया जाने तयारीमा छिन्। अस्ट्रेलियाको एक विश्वविद्यालयमा २५ प्रतिशत छात्रवृत्ति पनि पाइएकाले अध्ययन सहज बन्ने उनको विश्वास छ।

‘अस्ट्रेलियामा प्राप्त गरेको शैक्षिक डिग्री विश्वबजारमै बिक्ने र पढाइका साथै पार्टटाइम काम गर्न पाइने व्यवस्थाले म अस्ट्रेलियातिर आकर्षित भएकी हुँ,’ मेनुकाले भनिन्, ‘नेपालमा एक त शैक्षिक हडतालले समस्या भयो भने अर्कोतर्फ अध्ययनपछि अवसर नै नहुने भएकाले हामी दिक्क छौं।’ उनले गुनासो गरिन्, ‘बरु विदेशमा जस्तोसुकै काम गरे पनि नेपालमा परिवारको सामाजिक प्रतिष्ठा कायम हुने र आफ्नो जीवन पनि राम्रो हुनुका साथै आत्मनिर्भर बन्ने अवस्था छ।’

कलेज तथा विश्वविद्यालयमा उपलब्ध विषयहरूको विविधताले धेरै विद्यार्थीले उच्च शिक्षाका लागि अस्ट्रेलियालाई गन्तव्य बनाइरहेका उनको भनाइ छ। आफ्नो रुचिअनुसारको विषय छानेर विद्यार्थीले अस्ट्रेलियामा ज्ञान हासिल गर्न सक्ने भएकाले विगत केही वर्षयता अस्ट्रेलिया जाने विद्यार्थीको संख्या ह्वात्तै बढ्दै गएको छ। 

‘अस्ट्रेलियामा स्नातकोत्तर गरेपछि दुई वर्ष आफ्नो क्षेत्रमा काम गर्न अस्ट्रेलियन सरकारले नै दुई वर्षका लागि वर्क पर्मिट दिने व्यवस्था गरेको छ,’ मेनुकाले नागरिकसँग भनिन्, ‘अस्ट्रेलियामा पढेपछि हासिल गरेको शैक्षिक प्रमाणपत्र विश्वबजारमा बिक्ने भएकाले म अझ बढी उत्साहित भएकी हुँ।’ 

मन्त्रालयका एनओसी शाखाका अधिकृत बमशेर राईका अनुसार अस्ट्रेलिया अंग्रेजी माध्यमबाट पढाइने र पढाइपछि विद्यार्थीले सम्बन्धित क्षेत्रमा काम गर्न वर्क पर्मिट पाइने व्यवस्था भएकाले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीको आकर्षण बढ्दै गएको छ। 

उनले यस वर्ष अस्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूले विशेषगरी नर्सिङ, एकाउन्टिङ, होटेल म्यानेटमेन्ट, हेल्थ साइन्स, बिजिनेस, अंग्रेजी भाषा, आइटी, प्रोफेसनल एकाउन्टिङ, कमर्स, बिजिनेस म्यानेजमेन्ट, बायोमेडिकल, फार्मेसी, इन्जिनियरिङ , कम्प्युटर साइन्सलगायत विषयमा नो अब्जेक्सन लेटर लिने गरेको जनाए। 

विदेशी शिक्षामा विद्यार्थीलाई परामर्श दिँदै आएका नायारका पूर्वअध्यक्ष एवं ग्लोबल रिच शैक्षिक परामर्शका प्रमुख नारायण बजाजले हाल अमेरिकाले भिसामा गरेको कडाइका कारण पनि अस्ट्रेलिया उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि शैक्षिक गन्तव्य बन्दै गएको बताए।

सहज भिसा र पोस्ट स्टडी वर्कले विद्यार्थी तान्दै अस्ट्रेलिया
अमेरिकाले भिसामा गरेको कडाइ र अस्ट्रेलियाको सहज भिसा उपलब्धताका कारण विद्यार्थीहरू अस्ट्रेलियातिर तानिँदै गएको ग्लोबल रिचका प्रमुख बजाजको ठहर छ। अन्य देशमा जस्तो अस्ट्रेलियामा विद्यार्थीले भिसाका लागि तनाव लिनुपर्ने अवस्था छैन। तोकिएको  मापदण्डअनुसार कागजात सही छ भने भिसा सहजै लाग्ने अन्तरवार्ता दिनुनपर्ने उनको भनाइ छ।

‘विद्यार्थीको शैक्षिक प्रमाणपत्र सही र आर्थिक हैसियत बलियो छ भने त्यो विद्यार्थीले अस्ट्रेलियाका लागि भिसा सहजै पाउँछ,’ ग्लोबल रिचका प्रमुख बजाज भन्छन्, ‘अन्य देशभन्दा विद्यार्थीका लागि सुरक्षित स्थान र सर्वसुलभ शुल्कले पनि अस्ट्रेलिया विद्यार्थीको आकर्षण बन्दै गएको हो।’

पुतलीसडकमा रहेको कंगारु एजुकेसन फाउन्डेसनका कार्यकारी प्रमुख महेशबाबु तिमलसिनाले अस्ट्रेलिया सन् २०१६ देखि कार्यान्वयनमा ल्याएको सिम्लिफाइड स्टुडेन्ट भिस फ्रेमवर्क (एसएसभिएफ) नीतिले पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलियामा आकर्षित बनेको बताए। ‘अध्ययनपछि दुई वर्ष पूर्णकालीन पोस्ट स्टडी वर्क गर्न पाउने स्वीकृतिले विद्यार्थीलाई निकै सहज बनाएको छ,’ तिमलसिनाले भने, ‘अस्ट्रेलियन सरकारको क्षेत्रीय सहरमा जनसंख्या अभिवृद्धिका लागि त्यस सहरमा रोजगारी र स्थायी बसोबासको नयाँ नीतिले पनि विद्यार्थीको आकर्षण बढेको छ।’ 

विद्यार्थीका लागि अस्ट्रेलिया सही शैक्षिक गन्तव्य
इक्यानका पूर्वअध्यक्ष एवं मेट एजुकेसनका प्रबन्ध निर्देशक प्रकाश पाण्डेले अस्ट्रेलियामा उच्च शिक्षामा विद्यार्थी भित्र्याउने नेपाल मुख्य देश बनेको बताए। उनले उपलब्ध गराएको तथ्यांकअनुसार अस्ट्रेलियामा हाल विश्वका विभिन्न देशका सात लाख विद्यार्थी छन्। गत वर्ष मात्र १६ हजार नेपाली र २९ हजार भारतीयले अध्ययनका लागि भिसा पाएका थिए। 

‘अस्ट्रेलियामा संघीय राज्यअनुसार शिक्षा प्रणालीको व्यवस्था छ,’ पाण्डे भन्छन्, ‘सबै प्रकारका विद्यार्थी अट्ने भएकाले अस्ट्रेलिया हाल उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि रुचिको गन्तव्य बन्दै गइरहेको छ।’ 
पढाइ र कामको समन्वय 

अस्ट्रेलियाले व्यावहारिक तथा व्यावसायिक शिक्षा अवलम्बन गरेको छ। हजारभन्दा बढी शैक्षिक संस्थाले २२ हजारभन्दा बढी कोर्स पठनपाठन गराइरहेकाले पनि नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया सुरक्षित र भरपर्दो शैक्षिक गन्तव्य बनेको हब इन्टरनेसनलका प्रमुख उद्धव खड्का बताउँछन्। कुनै पनि विषयमा सैद्धान्तिकका साथै व्यावहारिक ज्ञानमा समेत अस्ट्रेलियन शिक्षाले जोड दिएकाले विद्यार्थीहरूले अध्ययन गरेका विषयवस्तु सहजै व्यवहारमा उतार्न सकिने उनी बताउँछन्। ‘स्नातक र स्नातकोत्तरपछि विद्यार्थीले सम्बन्धित विषयको फिल्डमा दुई वर्ष, अनुसन्धानका विद्यार्थीले तीन वर्ष र विद्यावारिधिपछि विद्यार्थीले चार वर्ष पोस्टस्टडी वर्क गर्नुपर्छ,’ खड्का भन्छन्, ‘त्यसपछि विद्यार्थीले आफ्नो शैक्षिक लगानी उठाउन सक्छन्।’ अस्ट्रेलियाको राष्ट्रिय भाषा अंग्रेजी भएकाले विश्वस्तरका शैक्षिक सामग्री पाइने भएकाले विद्यार्थीले अंग्रेजी सुधार्नसमेत सक्छन्। 

जानुअघि गर्नुपर्ने तयारी 
अस्ट्रेलियाका विश्वविद्यालय वा शैक्षिक निकायहरूमा आवेदन दिनुअघि विद्यार्थीहरूले विश्वविद्यालयलाई चाहिने आवश्यक न्यूनतम पूर्वाधार तयार गर्नुपर्ने हब इन्टरनेसनलका प्रमुख खड्का सुझाउँछन्। अंग्रेजी भाषामा राम्रो अंक ल्याएको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र भएपछि कलेज आवेदनका लागि योग्य मानिन्छ। त्यसपछि बैंक ब्यालेन्सको कागजात, सम्पत्ति विवरण, नाता प्रमाणितका कागजातलगायत पनि तयार पार्नुपर्छ। विद्यार्थीले अध्ययन गर्ने विषय, कलेज र अध्ययनपछिको अवसरबारे राम्ररी बुझेर मात्र कदम चाल्नुपर्छ। 

सीप सिकेर जाँदा राम्रो
विद्यार्थी अध्ययनका लागि विदेश जाँदा शैक्षिक योग्यताका साथै सीप सिकेर जानुपर्छ। हातमा सीप भएका विद्यार्थीले पढाइसँगसँगै काम गरेर आफ्नो शैक्षिक र बसोबास खर्च जुटाउन सक्छन्। त्यसले गर्दा आमाबुवामाथि आर्थिक बोझ थपिँदैन। 

छात्रवृत्तिको आकर्षण 
अस्ट्रेलिया विश्वकै सुरक्षित देश मानिने भएकाले त्यहाँ उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरूले कलेजहरूले उपलब्ध गराउने विभिन्नखाले छात्रवृत्तिमा तनावरहित वातावरणमा शिक्षा हासिल गर्ने गरेको ग्लोबल रिच नेपाल डिल्लीबजारका प्रमुख नारायण बजाज बताउँछन्। विशेषगरी स्नातक, स्नातकोत्तर तह, अनुसन्धान र विद्यावारिधिका लागि विद्यार्थी अस्ट्रेलिया जाने गरेका छन्। कलेजहरूले फरक–फरक विषयअनुसार शुल्क तोक्ने गरेको बजाजको भनाइ छ। 

‘कलेजहरूले विद्यार्थी भर्नाको समयमा प्रमोसनल छात्रावृत्ति साधारणतया ५ प्रतिशत हुन्छ,’ उनले भने, ‘यसैगरि विभिन्न खालका प्रतिष्ठित अवार्डका रूपमा छात्रवृत्ति दिने व्यवस्था पनि अस्ट्रेलियन सरकार र शैक्षिक निकायले गर्दै आएका छन्।’ प्रतिष्ठित अवार्डमा इन्डेवर अवार्ड र अस्ट्रेलियन लिडरसिप अवार्ड पर्छन्। केही विश्वविद्यालयले दिने भाइस चान्सलर छात्रवृत्ति, इन्टरनेसनल अन्डरग्राजुएट छात्रवृत्ति, मास्टर्स छात्रवृत्ति, अनुसन्धान छात्रावृत्तिलगाएतका सुविधाले विद्यार्थीलाई आर्कषित गरेको उनको भनाइ छ।
विद्यार्थी सचेत हुनुपर्छ 

अस्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीले आफूले अध्ययन गर्न चाहने विषय कुन विश्वविद्यालय वा कलेजमा छ, त्यसको आफैंले पनि इन्टरनेटबाट अनुसन्धान गर्नुपर्ने ग्लोबल रिचका प्रमुख नारायण बजाजको सुझाव छ। विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको शैक्षिक संस्थाको शैक्षिक वातावरण कलेजकै आधिकारिक वेबसाइडबाट बुझ्नुपर्छ। शुल्कबारे जानकारी लिएर मात्रै आफ्नो आर्थिक तयारी गर्न उनको आग्रह छ।

प्रकाशित: ८ फाल्गुन २०७५ ०३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App