विकास र वातावरणको सन्तुलन किन ?

बुधबार, ०८ फागुन २०७५, ०८ : ११ डा. प्रभु बुढाथोकी

हरेक देशका नागरिक सुखी र समृद्ध जीवन बाँच्नका लागि आफ्नो देशमा विकास भएको देख्न चाहन्छन् र यो चाहना स्वाभाविक पनि हो। साधारणतया विकासको अर्थ भौतिक र आर्थिक प्रगाति भन्ने बुझाइ छ। त्यस्तै विकासका लागि भौतिक पूर्वाधारहरू जस्तैः सडक, नहर, विमानस्थल, विद्युत आयोजना, कल कारखानाहरूको निर्माण हुनु आवश्यक ठानिन्छ।

संसारमा विकासका नाममा जल, थल र नभका स्रोतहरूको व्यापक रूपमा उपयोग भइरहेको छ। हिमालका उच्च टाकुरा हुन् या समुद्रका गहिरा पीँध मानव पहुँच बाहिर छैन। पृथ्वीको एक चौथाइ भागमा मात्र मानव दोहनमुक्त होला भन्ने अनुमान छ। अन्धाधुन्द विकास र उच्च उपभोगको चापले गर्दा पृथ्वीमा गत साढे चार दशकभित्र मात्र हड्डीधारी जीवहरूको संख्यामा ६० प्रतिशत जति कमी आएको अनुमान छ। 

विश्व जनसंख्याको हालको औसत उपभोगलाई धान्न झण्डै २ वटा पृथ्वी चाहिने भइसकेको छ। यदि अमेरिकीहरूको जस्तै जीवनशैली संसारका सबै मानिसहरूले अपनाउने हो भने ४ वटाभन्दा बढी पृथ्वीको उत्पादनले पनि नपुग्ने हुन्छ। आज समुद्रहरू जलचरविहीन हुँदै छन् भने जमिन उर्वरविहीन र हिमालहरू हिउँविहीन। बढ्दो जैविक विविधताको ह्रास र पारिस्थितिकीय पतनको समस्यालाई विश्वले हाल भोगिरहेका १० प्रमुख संकटहरूमध्येको एक मानिन्छ र विश्वका थुप्रै मुलुकहरूले जलवायु परिवर्तनको असरबाट आउने समस्यालाई त राष्ट्रिय सुरक्षाको समस्याका रूपमा लिन थालिसकेका छन्। 

विकास भनेको गरिबको दोहन र प्रकृतिको विनाश गरी धनी व्यक्तिहरूको धन बढाउने कार्य मात्र हुन जानेछ। असमानता बढाउने र मुठ्ठीभर व्यक्तिहरूलाई फाइदा पुर्‍याउने विकासका मोडेलले समाजलाई समृद्धितर्फ नभई संघर्षतर्फ लैजान्छ। 

हालै प्रकाशित एक प्रतिवेदनअनुसार यदि विश्वको तापक्रम यही रफ्तारमा बढ्दै गएमा सन् २१०० सम्ममा हाम्रा हिमालका ६६ प्रतिशत हिउँ विलीन हुनेछ। यसबाट हाम्रा समृद्धिका आधार जस्तैः जलस्रोत, पर्यटन र कृषि आदिको विकासमा कस्तो असर पर्ला, कसरी व्यवस्थापन गर्ने आदि बारेमा गम्भीर भएर सोच्नु अति जरुरी छ। 

हामी नेपालीको वातावरणीय पदचाप (इकोलोजिकल र इनभारामेन्ट्ल फुटप्रिन्ट) खास धेरै छैन, विकसित देशहरूको भन्दा प्रतिव्यक्ति कार्बन उत्सर्जन न्यून छ, वन जंगल प्रशस्त छ भनिए तापनि वास्तवमा हाम्रो देशको वातावरणीय भार वहन शक्ति (बायो क्यापासिटी) भन्दा हाम्रो उपभोग ६९ प्रतिशतले बढी भइसकेको छ। 

स्तै वातावरणीय सम्पादन तालिका (इन्भारामेन्टल पर्फमान्स इनडेक्स) मा पनि नेपाल १८० देशमध्ये १७६ औँ स्थानमा पर्छ। हाम्रा सहरहरू संसारकै अति प्रदूषितमध्येमा पर्छन्। हाम्रा नदीनालाहरूमा व्यापक रूपमा प्रदूषण बढ्दो छ। हामी वातावरणीय र जैविक विविधता संरक्षणको हिसाबले अति संवेदनशील तराई र चुरेभावर क्षेत्रका वनजंगल फडानी गरी विमानस्थल र सहर बनाउने ध्याउन्नमा छौँ। केही समयदेखि हामी विकासको नाममा अर्बौं खर्च गरी देशका पहाडी र चुरे क्षेत्रमा जताततै जथाभावी रूपमा बाटो बनाउन तल्लीन छौँ र जसबाट व्यापक रूपमा भू–क्षय र पानीका मुहान सुक्ने समस्या विकराल हुँदै गइरहेको छ। 

हाल जताततै ‘पहाड पहाडमा बाटो, बेँसी खेतमा माटो’ भन्ने उखान सुनिन्छ। अझ यदि हामीले तराईको बचेखुचेको वनजंगल र भौगोलिक रूपमा कमजोर चुरियाको संरक्षणमा उचित ध्यान नदिई विकासका योजनाहरू सञ्चालन गर्दै गएमा भू–क्षय र बाढीबाट राष्ट्रको अनाजको मुख्य भण्डार तराईका उर्वर भूमि मरभूमीकरण हुने र भू–जल भण्डारमा ह्रास हुन गई तराईवासीको जीवन कष्टकर हुने प्रस्ट छ। जसबाट जल र जमिनका लागि प्रतिस्पर्धाको स्थिति सिर्जना हुन गई देश सामाजिक द्वन्द्व र अस्थिरताको चपेटामा पर्न सक्छ। 

यी तथ्यहरूले हामी दीगो विकास पथ अपनाइरहेका छैनौँ भन्ने प्रस्ट देखाउँछ। दीगो विकासपथ र वातावरणमैत्री जीवनशैली नअपनाई समृद्ध र सुखी समाजको निर्माणको आशा गर्न सकिँदैन र नेपाललाई दीगो विकास र समृद्धिको पथमा डोर्‍याउन अगुवाको भूमिकामा रहेका व्यक्ति वा संस्थाहरूले यसलाई समयमै गम्भीर रूपमा मनन गर्नुपर्ने देखिन्छ। यदि हामीले भावी पुस्तालार्ई राम्रो भविश्य दिएर जाने हो भने गहिरिएर र उत्तरदायीपूर्ण भएर सोच्नु जरुरी छ। 

रबर्ट चेम्बरका अनुसार ‘राम्रो परिवर्तन’ ल्याउने कार्य विकास हो। विकासबाट दीर्घकालीन फाइदा लिन विकासलाई दिगो बनाउनुपर्छ। संयुक्त राष्ट्र संघले पनि समृद्धिका लागि दीगो विकासको अपरिहार्यतालाई जोड दिन्छ। आर्थिक, सामाजिक र वातावरणीय रूपमा सन्तुलित विकास कार्यहरू मात्र दीगो हुन्छन्। 

बुझ्नुपर्ने कुरा के छ भने, प्रकृतिका शाश्वत सिद्धान्त र सीमाहरूबाट हाम्रा क्रियाकलापहरू जति टाढिँदै जान्छन्, त्यति नै सन्तुलनमा गडबड आउँछ र मानव क्रियाकलापहरूको दीगोपनमा ह्रास आउँछ। हाम्रा वैदिक शास्त्रहरूले पनि रित या प्राकृतिक सिद्धान्तअनुसार चल्ने कार्यहरू नै धर्म हो र धर्ममा नै पृथिवीको दिगोपन टिकेको हुन्छ भन्छ। ‘पृथिवी धर्मान् धारितम्’। सन्तुलन नै सत्य हो, सत्य नै दीगो हुन्छ। 

जसरी राजनैतिक स्थायित्व र सुशासनविना द्रुत विकास सम्भव छैन त्यस्तै वातावरण र विकासको सन्तुलनविना विकास दीगो हुन सक्दैन भन्ने कुरा आजको विश्व मान्यता हो। आजको विश्व विकास नीति तथा अवधारणा वातावरण या विकास होइन। विकास र वातावरणको सामञ्जस्यताको सिद्धान्तबाट निर्देशित छ। 

त्यसमा पनि नेपाल जस्तो भौगोलिक र वातावरणीय रूपमा संवेदनशील र कमजोर सामथ्र्य भएको देशमा ‘पहिला प्रदूषणपछि सफा गर्ने’ खालका परम्परागत विकासका तरिकाहरू उपयुक्त हुनै सक्दैनन्। विकास कार्यलाई वातावरणमैत्री बनाउनु विकासको हितमा छ। यसले विकासलाई दिगो र फराकिलो बनाउँछ, र यसका फाइदाहरूलार्ई समन्यायिक रूपमा वितरण गराउँछ। वातावरणमैत्री कार्यहरू नै साँचो अर्थमा विकासमैत्री हुन्छन्। तर विकासलाई सन्तुलित र दीगो बनाउनेतर्फ ध्यान पुगेन भने ‘विकासको इतिहास’ पुस्तकका लेखक गिल्बर्ट रिस्टले भने जस्तै विकास भनेको गरिबको दोहन र प्रकृतिको विनाश गरी धनी व्यक्तिहरूको धन बढाउने कार्य मात्र हुन जानेछ। 

असमानता बढाउने र मुठ्ठीभर व्यक्तिहरूलाई फाइदा पुर्‍याउने विकासका मोडेलले समाजलाई समृद्धितर्फ नभई संघर्षतर्फ लैजान्छ। पुँजी बढाउने प्रकृति खुम्चाउने विकासलाई राक्षसी या धुन्नकारी विकास भन्न सकिन्छ। त्यस्ता असमानता बढाउने विकासका मोडेल र क्रियाकलापहरूको राम्रो हेक्का नराखे समाजवादी सिद्धान्त बोकेर देशमा समावेशी र समन्यायिक समाज निर्माण गर्न लागिपरेका सरकार र राजनैतिक शक्तिहरूले नुन हालेर गुलियो चिया खान खोज्नु जस्तै हुन्छ।

(पूर्वसदस्य, राष्ट्रिय योजना आयोग)








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad