coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अध्यक्ष सिफारिस अन्सारीको योग्यतामा प्रश्न

काठमाडौं – मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका समिम अन्सारीमाथि संसदीय सुनुवाइ समितिले छानबिन थालेको छ। समितिको मंगलबार बसेको बैठकले अन्सारीको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, पार्टी सदस्यताका विषयमा छानबिन थालेको हो। संवैधानिक परिषद्ले माघ ७ गते अन्सारीलाई आयोगको अध्यक्षमा सिफारिस गरेको थियो।

समितिका सभापति लक्ष्मणलाल कर्णले नागरिकताका हकमा जिल्ला प्रशासन कार्यालयबाट विवरण माग गर्ने, शैक्षिक प्रमाणपत्रका विषयमा संवैधानिक परिषद्बाट माग गर्ने, पार्टी सदस्य भए नभएको निर्वाचन आयोगबाट विवरण माग गरी छानबिन गर्ने निर्णय भएको बताए। समितिले सम्बन्धित ठाउँमा पत्राचार गरेर अन्सारीका विषयमा छानबिन गर्नेछ।

अन्सारीले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट वंशजका आधारमा नागरिकता लिएका छन्। उनको नागरिकता शंकास्पद भएको उजुरीकर्ताले दाबी गरेका छन्। ‘उनी भारतमा जन्मेको र नेपालमा नक्कली बाआमा बनाएर काठमाडौंबाट नागरिकता लिएका हुन्’, उजुरीकर्ताको आरोप छ।

अन्सारीले २०५५ साल पुस २२ मा काठमाडौंबाट नागरिकता लिएका छन्। जन्ममितिअनुसार २५ वर्षको उमेरमा नागरिकता लिनुलाई शंकास्पद मानिएको छ। उनले लिएको प्रतिलिपि नागरिकतामा प्रमाणित गर्नेको दस्तखत नभएको भन्दै सांसदहरुले छानबिन गर्नुपर्ने बताए। सुनुवाइ समितिका सदस्य योगेश भट्टराईले उनले २०६६ भदौ ४ मा लिएको प्रतिलिपिमा नागरिकता प्रदान गर्ने अधिकारीको दस्तखत नभएको बताए।

अन्सारीले भारत पटनाबाट स्नातक तहको प्रमाणपत्र समितिमा पेस गरेका छन्। तर उनले एसएलसी र प्रवीणता प्रमाणपत्र तहको कुनै पनि शैक्षिक विवरण पेस गरेका छैनन्। उनले भारतबाट उत्तीर्ण स्नातक तहको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट ‘इक्युभ्यालेन्ट’ गरेका छन्। उनले सन् २००४ अर्थात् २०६१ सालमा उत्तीर्ण गरेको भनिएको स्नातक तहको शैक्षिक प्रमाणपत्र २०७५ कात्तिक ३० मा ‘इक्युभ्यालेन्ट’ गरेको देखिएको छ। १४ वर्षपछि ‘इक्युभ्यालेन्ट’ गर्नुलाई पनि शंकास्पद मानिएको छ।

अन्सारी नेकपाका केन्द्रीय सदस्य रहेको निर्वाचन आयोगको नामावलीमा छ। उजुरीकर्ताले आयोगबाट प्रमाण लिएका छन्। कुनै पनि संवैधानिक आयोगको अध्यक्ष वा पदाधिकारीका लागि पार्टीको सदस्य त्यागेको हुनुपर्ने प्रावधान छ। तर, उनी अहिलेसम्म पार्टीको सदस्य रहेको उजुरीकर्ताको दाबी छ।

त्यसैगरी सांसद पूर्णाकुमारी सुवेदीले उजुरीमा गम्भीर विषय उठेकाले छानबिन नगरी अगाडि बढ्न नसकिने बताइन्। ‘आयोगको अध्यक्षमा स्वीकृत गर्ने खालको नदेखिएकाले छानबिन हुनुपर्छ’, समिति सदस्य सुवेदीले भनिन्, ‘उम्मेदवारकै विषयमा प्रश्न उठ्यो।’ सांसदहरू सुरेन्द्र पाण्डे, राजेन्द्र श्रेष्ठ, अमृता थापालगायतले एउटा संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरिएका व्यक्तिमाथि गम्भीर विषय उठेकाले छानबिन गर्नुपर्ने बताए।

परिषद्ले सिफारिस गरेका आयोगका अध्यक्षको विषयमा सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो। मुस्लिम आयोगका लागि सिफारिस गरिएका अन्सारीविरुद्ध समितिमा गम्भीर उजुरी परेका छन्। समिति बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित सांसद भने उपस्थित थिएनन्।

प्रकाशित: ८ फाल्गुन २०७५ ०१:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App