coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

समालिएर खेल्ने थ्री स्टारको लक्ष्य

फुुुनसोलिङ, भुटान – रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसीले बुधबार कालिङपोङको क्लब युनाइटेड ब्रदर्सविरुद्ध हुने खेल टोलीको वास्तविक परीक्षण हुने बताएका छन्।

‘पहिलो खेलमा वर्षाका कारण हामीले स्वाभाविक खेल खेल्न सकेका थिएनौं र अघिल्लो चरण प्रवेशका लागि सडन डेथको सहारा लिन परेको थियो,’ प्रशिक्षक केसीले भने, ‘सोमबार युनाइटेड ब्रदर्सले पनि रोयल एफसीविरुद्ध पेनाल्टी सुटआउटमा जित हात पार्दै सेमिफाइनल भेट पक्का गरेको थियो। वर्षाका कारण उनीहरूले पनि स्वाभाविक खेल खेल्न सकेनन्। त्यसैले बुधबार अन्तिम ४ मा भेट्दा दुवै टोलीको वास्तविक परीक्षण हुनेछ।’

सोझै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेको थ्री स्टारले गत बुधबार भुटानको उर्गेन एकेडेमी फुटबल क्लबलाई सडन डेथमा ५–४ ले निराश पार्देै फुुुनसोलिङमा जारी जिङ्मे दोर्जे वाङ्चुक मेमोरियल गोल्डकप २०१९ को सेमिफाइलमा प्रवेश गरेको थियो।

फुुुनसोलिङ स्पोर्ट्स एकेडेमीको रंगशालामा भएको निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेलको नतिजाका लागि सोझै पेनाल्टी सुटआउटको सहारा लिइएको थियो। निरन्तर वर्षा र रंगशालामा खराब प्रकाशका कारण खेल अतिरिक्त समय नखेलाई पेनाल्टी सुटआउट गराइएको थियो। पेनाल्टी सुटआउटमा समेत खेल ४–४ को बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो। जसम थ्री स्टार भाग्यमानी बनेको थियो।

पेनाल्टी सुटआउटमा थ्री स्टारका रञ्जित धिमाल, बुद्ध लिम्बु, सुनील बल र रूपेश केसीले गोल गरेका थिए भने दिनेश राजवंशीको प्रहार उर्गेनका गोलकिपर ग्लित्सेन जोङ्पोले विफल पारेका थिए। त्यस्तै उर्गेनका किन्ले तेन्जिन, फुर्वा दोर्जे, यासी दोर्जेले गोल गरेका थिए भने थिन्ले दोर्जेको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले आकर्षक बचाउ गरेका थिए। सडन डेथम थ्री स्टारका अनन्त तामाङले बललाई जाली चुमाउँदा उर्गेनका जिङ्ले ग्याल्स्टेनको प्रहार एलनले रोकेका थिए।

‘उर्गेनले तीव्र गतिको खेल खेलेको थियो। जसका कारण हामीलाई बल होल्ड गर्न कठिनाइ भएको थियो,’ प्रशिक्षक केसीले थपे, ‘युनाइटेडले टेक्निकल खेल खेल्छ। त्यसैले हामीले सतर्क भएर खेल्न आवश्यक छ।’

युनाइटेडले सोमबार भएको अन्तिम क्वार्टरफाइनलमा रोयल एफसीलाई पेनाल्टी सुटआउटमा ५–३ ले निराश पार्दै थ्री स्टारविरुद्धको भेट पक्का गरेको थियो। केसीले सबै खेलाडी फिट भएको र उर्गेनविरुद्ध उतारेको पहिलो रोजाइलाई नै युनाइटेडविरुद्ध पनि निरन्तरता दिने बताए।

भुटान, नेपाल र भारतका टोली गरी कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगितामा थ्री स्टार र त्रिभुवन आर्मी क्लबले सोझै क्वार्टरफाइलमा प्रवेश पाएका थिए। भुटानकै पुरानो प्रतियोगितामध्येको एक जिङ्मे दोर्जे वाङ्चुक मेमोरियल गोल्डकप २००६ पछि पहिलो पटक आयोजना भएको हो।

प्रकाशित: ८ फाल्गुन २०७५ ००:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App