coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सिवाइसी अत्तरियाले काठमाडाैं गोल्डेन्ससँग क्वालिफायर्स खेल्ने

धनगढी – धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत सुदूरपश्चिमको घरेलु टोली सिवाइसी अत्तरियाले शीर्ष स्थानमा रहेर काठमाडाैं गोल्डेन्ससँग क्वालिफायर्स खेल्ने भएको छ।

लिगचरणको अन्तिम खेलमा काठमाडौंलाई ७ विकेटले हराउँदै अत्तरिया अंकतालिकाको शीर्ष स्थानमा रहेर काठमाडाैंसँग नै क्वालिफायर्स खेल्ने भएको हो। दुवै टोलीले बुधबार फाइनल प्रवेशका लागि खेल्नेछन्।

फाप्ला क्रिकेट मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा सबै विकेट गुमाउँदै ७५ रन मात्र बनाउन सक्यो। ज्ञानेन्द्र मल्लले बनाएको ३२ रन  नै काठमाडौंका लागि सर्वाधिक थियो। योगेन्द्रसिंह कार्कीले १३ र अंकित दबासले १० रन बनाए पनि काठमाडौंका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। टोलीलाई सस्तैमा समेट्न अत्तरियाका दीपेन्द्रसिंह ऐरीले २ ओभरमा ४ रन खर्चेर ३ विकेट लिए भने रामनरेश गिरीले २ विकेट लिए।

काठमाडौंले दिएको ७६ रनको सामान्य लक्ष्य अत्तरियाले १७ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। अत्तरियाका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ३३ रनको योगदान दिए । यस्तै कप्तान दीपेन्द्रले अविजित २० रन बनाए भने प्रेम तामाङले १० रन जोडे।

बुधबार अत्तरिया र काठमाडाैंबीच हुने क्वालिफायर्सको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर्स खेल्नेछ। इलिमिनेटरमा तेस्रो भएको रूपन्देही च्यालेन्जर्स र चौथो स्थानमा रहेको महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

उत्कृष्ट खेलाडी दक्षिण अफ्रिका जाने
आयोजक धनगढी क्रिकेट एकेडेमीले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) का उत्कृष्ट यु–१९ क्रिकेट टोलीलाई दक्षिण अफ्रिका लैजाने घोषणा गरेको छ। आयोजक धनगढी क्रिकेट एकेडमीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने यु–१९ खेलाडी सम्मिलित टोली डिपिएल इमर्जिङ स्टार्सले दक्षिण अफ्रिकाको भ्रमण गर्ने जानकारी दिएको हो।

डिपिएलले स्पोर्ट्स एडसँगको सहकार्यमा १४ खेलाडी रहने डिपिएल इमर्जिङ स्टार्सलाई दक्षिण अफ्रिकाको भ्रमण गराउने जनाएको छ। कुल ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ। १४ सदस्यीय टोलीको सम्पूर्ण खर्च आयोजक डिपिएलले व्यहोर्ने  एकेडमीका अध्यक्ष सुवास शाहीले बताए।

डिपिएल इमर्जिङ स्टार्सले दशैँपछि दुई साताका लागि दक्षिण अफ्रिका भ्रमण गर्नेछ। टोलीले केप टाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसँग ५० ओभर र २ दिवसीय क्रिकेट खेल्नेछ।  दक्षिण अफ्रिका भ्रमणका लागि आगामी आइतबार इमर्जिङ स्टार्स टोलीको घोषणा गरिने उनले बताए।

प्रकाशित: ८ फाल्गुन २०७५ ००:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App