८ वैशाख २०८१ शनिबार
विचार

नवरात्र दशैं

डा. वासुदेवकृष्ण कोइराला

मष्टपूजक, वैदिक सनातन, बौद्ध बोन, शैव परम्पराका किराँत, प्रकृतिपूजक, शिख आदि धर्मका सम्पूर्ण ॐकार परिवारका साधनामा शक्तिको पूजाको पद्धति आप्mनो कूल परम्परादेखि चलिआएको छ । शक्तिविना कुनै पनि कार्य बन्न सक्दैन । संघे शक्ति कलौ युगे... कलियुगको शक्ति भनेकै संघ÷संगठन हो । आसुरी शक्तिको अत्याचारबाट राष्ट्र, समाज र सात्विक भावका उपासकहरुको कष्ट निवारणका लागि दैविक शक्तिको धर्तीमा आगमन हुने गर्छ ।  देवताहरुको पीडा हरण गर्न भगवती नवदुर्गाको प्रादुर्भाव भएको हो । देवताहरुको संगठित शक्ति महाशक्ति दुर्गा हुन् । चान्द्रमासअनुसार आश्विन शुक्लपक्षको प्रतिपदादेखि दशमीसम्म शक्ति उपासना गर्ने पद्धतिलाई दशैं भनिन्छ । ‘नवदुर्गा भवानी’ को शक्ति संगठित शक्तिको प्रतीक हो । घटस्थापना अश्विन शुक्ल प्रतिपदाको दिन शुद्ध माटो, गोबरले घर लिपी दियो कलश गणेशको विधिसहित पूजा गरी घटस्थापना गर्ने विधान छ । नवदुर्गा भवानीको आह्वान, स्थापना र पूजा गर्नुपर्छ ।

रावणमाथि रामले विजय प्राप्त गरेको, महिषासुर, रक्तबीज, चण्डमुण्ड प्रचण्डको अत्याचार समन गरी असत्यमाथि सत्यको विजयका रूपमा विजयादशमी पर्व मनाइन्छ ।

वर्षमा चारवटा नवरात्र पर्छन् । तीमध्ये आश्विन शुक्ल, चैत्र एवम् आषाढ शुक्ल, माघ शुक्ल प्रतिपदादेखि आरम्भ हुने दैवी शक्ति उपासनाको पद्धति नै नवदुर्गा भवानीको साधना पद्धति हो । गहुँ र जौ अन्य प्रकारका अंकुर आउने बीज मिसाएर जमरा राख्नुपर्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ । दशमीका दिन विजयाको पूजा गरी टीका जमरा प्रसाद लगाइन्छ ।   
षष्ठी तिथिमा बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन दशंैघरमा नवपत्रिका प्रवेश गराउने विधिलाई फूलपाती भित्र्याइ भद्रकाली, सरस्वतीको पूजा गर्नुपर्छ । अष्टमीमा कालरात्रिको विधिवत् पूजा गरी भगवतीको बाहन बाघको पनि पूजा गरिन्छ । खस मष्टपूजकले बाज उडाउने र बाज अंकित झण्डा आफ्नो घरमा राख्नुपर्छ । शस्त्रास्त्र (हात हतियार, बाहन) हरूको पनि पूजा गर्नुपर्छ । महानवमीमा नवदुर्गा स्वरूप नौ जना कन्या र भैरव स्वरूप बटुकको पूजा गर्नुपर्छ । भगवती दुर्गाले चण्डमुण्ड प्रचण्ड, शुम्भनिशुम्भ, रक्तबीज आदि दैत्यलाई वध गरेको हुनाले दुष्ट दानवको वध गरी सम्पूर्ण लोकको कल्याण गर्नुभएको सन्दर्भ, भगवान रामले रावणको वध गरेको प्रसङ्गलाई असत्यमाथि सत्यको विजयका रूपमा विजयादशमी मनाइन्छ । दशैंको आशीर्वाद मन्त्रको सार ः द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश गर्ने सामथ्र्य, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईँलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।

सनातन वैदिक हिन्दुहरूमा वसुधैव कुटुम्बकम्... विश्वभरका सम्पूर्ण प्राणी कुटुम्ब हुन् भन्ने भाव  
हुन्छ । मनुष्य, वनस्पति, कीटपतङ्गादिमा देवताको स्वरूप देख्छन् । आरोग्यताका लागि शिरमा जमरा लगाइन्छ । नवपत्रिकालाई बाजागाजासहित दशैं घरमा भित्र्याइन्छ । हविष्यान्न (सात्विक) भोजन गरी कुभिण्डो, नरिवल आदिको बली दिइन्छ । नवरात्र (दशैं) वैदिक सनातन धर्मावलम्बीहरूको विशिष्ट पर्वका रूपमा छ ।
जमरा  

घटस्थापनाका दिन शुभसाइतमा नयाँ फूलको स्वरूप गहुँ, जौको जमरा राखिन्छ । विजयादशमीको दिन भगवतीलाई अर्पण गरी प्रसादको रूपमा लगाइन्छ । गहुँ तथा जौको नवअंकूर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्यलाभ हुने शास्त्रीय मान्यता छ । नौ रात्रिसम्म पूजा गरेर अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुन्छन् । जमरालाई महौषधि भनिएको छ । निधारमा विजयस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोगव्याधि र कष्ट मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यका लागि अति उत्तम मानिएको छ ।

फूलपाती

नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा, आदि नौ प्रकारका पल्लवहरू दशैंघरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वर्षा ऋतु सिद्धिएर शरद् ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् । यी औषधियुक्त पालुवाहरूलाई फूलपातीपछि औषधीय गुणले युक्त भएका पालुवाहरूको लेप लगाउनाले रोगव्याधि निको हुन्छ ।
 

आयुध पूजा (हातहतियार)
वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र शौर्यताको संगम हो । वेदमा आयुधको बारेमा प्रसस्त चर्चाहरु पाइन्छन् । भगवान् शिवको हातमा रहेको त्रिशूल, वज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । शक्तिका उपासक जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छन् नै । हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका अठारवटै हातमा आयुध (हतियार)हरु छँदैछन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ । हिन्दु धर्मावलम्बीहरु अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्ध्याउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन् ।   
 

बली
बलीको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, इष्र्या, द्वेष, छल, कपट, यी दश प्रकारका विकार छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चूर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुण हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दशैंको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरुको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहंकारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनालाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले । महाअष्टमीको दिन महामाया अठार हात भएकी महिषासुर मर्दिनी भगवतीको पूजा गरी सौर्यता, पुरुषार्थ सिद्धिका लागि देवीको स्तूति तथा प्रार्थना गर्नुपर्छ ।

टीका
मानिसको मस्तिष्कमा रहेको विकार हटाइ पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाइको दूधको दहीले रङ्गाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ । अक्षताको टीका, अवीरको टीका, विभिन्न रंगहरुको प्रयोगबाट बन्ने रातो टीका, पुरुषार्थको, सेतो शान्तिको प्रतीक, नीलो आरोग्यताको र पहेंलो आध्यात्मिक भावको प्रतीक हो । आफ्नो परम्पराअनुसार कोजाग्रत पूर्णिमासम्म टीका, प्रसाद लगाउने शास्त्रीय विधान छ । आश्विन शुक्ल कोजाग्रत पूर्णिमाका दिन घटस्थापनाका दिन राखेका विसर्जन गरी दशैं विसर्जन गरिन्छ । रावणमाथि रामले विजय प्राप्त गरेको, महिषासुर, रक्तबीज, चण्डमुण्ड प्रचण्डको अत्याचार समन गरी असत्यमाथि सत्यको विजयका रूपमा विजयादशमी पर्व मनाइन्छ ।

प्रकाशित: २१ आश्विन २०७३ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App