coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

तिलोत्तमा गोल्डकप : च्यासल युथलाई सफलता

बल अघि बढाउँदै सिएमजी संकटा (नीलो) खेलाडी र पछ्याउँदै च्यासल । तस्बिर : नागरिक

रुपन्देही – सिएमजी क्लब संकटालाई २–० ले हराउँदै भ्याली च्यासल युथ क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको क्वार्टरफाइनलमा पुरेको छ। सोमबार बुटवल देवीनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा च्यासलले संकटालाई सजिलै पराजित गर्यो। पहिलो हाफ गोलरहित बराबरी खेलेको च्यासलले दोस्रो हाफ सुरु भएलगत्तै गोल गर्न सफल भएको हो।

च्यासलका लागि ४९औं मिनेटमा अर्मान्डले गोल गर्दै अग्रता दिलाए। उत्कृष्ट खेल खेलेका अर्मान्डले सजिन थापामगरलाई बल पास गरेर ४ मिनेपछि अर्को गोल थपे। यो नै निर्णायक गोल बन्यो। पहिलो हाफसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफपछि भने संकटा निरीह देखियो। खेल सुरु भएको ३ मिनेटमै च्यासलले फ्रिकिक पाएको थियो। अमिर श्रेष्ठको पासमा विदेशी खेलाडी अर्मन्डले हेडमार्फत गरेको प्रहार संकटाका गोलकिपरले बचाए । त्यसलगत्तै संकटाले पनि फ्रि किक पायो। लक्ष्मण रुचालले फ्रि किकलाई कमजोर प्रहार गरे।

संकटाले खेलको ३८औं मिनेटमा गोल गर्ने अवसर पाएको थियो। तर खेलाडी दीपेश आलेमगरको प्रहार फितलो हुँदा च्यासलका खेलाडीले रोक्न सफल भए। संकटाले गोलका लागि राम्रा अवसर पाए पनि खेलाडीका बीच समन्वय नहुँदा अवसर गुमायो। दोस्रो हाफपछि आक्रामक रूपमा च्यासलका खेलाडी मैदान उत्रे। विदेशी खेलाडी अर्मान्डले उत्कृष्ट प्रदर्शन गर्र्दै पटकपटक गोलको नजिक पुगेका थिए। उनकै कारण पनि च्यासलले खेललाई अग्रता दिलाउन सफल भयो।

दोस्रो हाफपछि दबाब परेको संकटाका लागि खेलको उतारार्धमा सञ्जोग राईले गोल गर्ने राम्रो अवसर चुकाए। लिगमा दोस्रो स्थानमा रहेको संकटालाई पहिलो पटक बुटवलको एन्फा मैदान टेकेको च्यासलले हराएको हो। च्यासलले अब फागुन ९ गते लिग च्याम्पियन मनाङको सामना गर्नेछ। ‘हाम्रो टोली सेट थिएन, थाकेका पनि थियौं,’ संकटाका कप्तान रवि सिलवालले भने। उनले नयाँ र केही विदेशी खेलाडीलाई यो पटक मौका दिएकाले पनि हार बेहोरेको बताए। च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले भने पहिलो पाइलामा राम्रो सफलता मिलेको बताए। ‘नयाँ खेलमैदान थियो, अलिकति डर थियो, तर खेलाडीले राम्रो प्रदर्शन गरे’ उनले भने, ‘आउँदो खेल पनि राम्रो गर्छाै।’

खेलमा च्यासलका लागि पहिलो गोल गरेका अर्मन्ड म्यान अफ दी म्याचसमेत घोषित भए। उनले नगद १० हजार पुरस्कार र पदक प्राप्त गरे। प्रतियोगिताअन्तर्गत मंगलबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली दार्जिलिङ युनाइटेड, भारतबीच हुने आयोजकले जनाएको छ।

प्रकाशित: ७ फाल्गुन २०७५ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App