७ वैशाख २०८१ शुक्रबार
विचार

‘लुट्न सके लुट कान्छा’ को मर्म

फागुनको ४ गते शनिबार मध्याह्नको १२ः४५ भएको थियो। हामी बिपी मार्ग हुँदै विराटनगरबाट काठमाडौँ आउँदै थियौँ। तराईतर्फको यात्रा सकिएर सिन्धुलीको ‘सेल्फी डाँडा’ भनिने ठाउँ आइपुगेका थियौँ, असिना पर्न थाल्यो। फागुन महिनामा हुरी, बतास, पानी र असिना पर्नु सामान्य भए पनि सेल्फी डाँडाबाट उकालो चढ्दै गर्दा असिनाले व्यापक र कहालीलाग्दो रूप लियो। कहिले जीवनमा नदेखेको असिना पर्‍यो र बिपी राजमार्ग झण्डै चारघण्टा अवरुद्ध भयो। बिपी राजमार्ग अवरुद्ध भएपछि गन्तव्यमा पुग्न हतारिएका हजारौँ यात्री बाटोमा अलपत्र परे। सडकमा असिनाको मोटो कार्पेट बिच्छिएको थियो। बाटोचिप्लो भएर गाडी गुड्न सम्भव भएन। मोटरसाइकलमा यात्रा गर्ने हजारौँ यात्री घण्टौँसम्म असिना र पानीको चुटाइमा परे। सार्वजनिक बस र निजी गाडीमा यात्रा गर्ने आकाशबाट बर्सिएको असिनाबाटकेही सुरक्षित थिए।
 
मलाई पशुपति शर्माको ‘लुट्न सके लुट’ गीत सडक खुलाउन सक्रिय एकजना युवाको मोबाइलमा बजिरहेको गाडीमा बसिरहँदा संक्षिप्तरूपमा सुन्ने पहिलोपल्ट त्यही मौका जुर्‍यो। ध्यान फिटिक्कै गएन। गीतले काठमाडौँमा धूम मच्चाइरहँदा विराटनगरमा शनिबारसम्म यसको सामान्य चर्चा पनि थिएन। पशुपति शर्मा र गण्डक प्रदेशबाट निस्कने यस्ता लोक भाषाको गीतसँग मेरो खास चिनजान र रुचि होइन। खासमा गण्डक प्रदेशको लोक संस्कृति पूर्वी नेपालको तराईमा जन्मे, हुर्केको म जस्ताका लागि अपवादवाहेक कहिले पनि रुचिको विषय थिएन।
 
असिना बिच्छिएको बाटो, आकाशबाट निरन्तर भइरहेको वर्षा र विजुली गर्जनलाई चिर्दै केही युवा बिपी राजमार्गको सडकमा सक्रिय देखिए। युवा नेपालीहरूको जोश र जाँगरले घण्टौँ अलपत्र परेका वृद्ध, वृद्धा, केटाकेटी, सबैले राहत पाए। युवाले सडकको असिना पन्छाउँदै पाड्ग्रा गुड्ने ट्रयाकखोले। यसमा हाइवे ट्राफिक प्रहरीको सक्रियता र परिश्रम कम थिएन। नेपाली समाज संकटमा सामूहिक प्रयत्नबाट सफलताको मार्ग निर्माण गर्न सक्छ भन्ने उदाहरण मैले बिपी राजमार्गमा देखे। यस्तै उदाहरणीय कार्य नेपाली युवाहरूको मैले भूकम्पमा देखेको थिएँ। रात्रिकालीन यात्रा साँघुरो र घुम्ती भएको पहाडी राजमार्गमा खतरापूर्ण लाग्थ्यो मलाई। तर यो पटक त्यस्तो अनुभूति भएन। बिपी राजमार्ग अगाडि, दायाँ र बायाँ झलमल्ल डाँडा र बस्तीहरू देखेँ। डाँडाका घरमा बलेका बत्तीहरूले बिपी राजमार्गमा यात्रा गर्नेहरूलाई साँच्चिकै मनमोहक दृष्य दिएको थियो। यो देश अलिकति इमान्दार प्रयत्न गर्दा समृद्धिको यात्रामा जान सक्छ भन्ने अनुभूति गराउँथ्यो। 
 
तराई जोड्ने धुलिखेल–बर्दिवास सडक निर्माणको सपना बिपी कोइरालाले ६ दशकअगाडि देखेका थिए। यो बाटो हिँड्दा मैले बिपी कोइरालाको सपना साकार हुन किन ६ दशक लाग्यो होला भनी सम्झेँ। यात्राक्रममा मलाई माओवादीबाट ऊर्जा मन्त्री भएका जनार्दन शर्मा र  कुलमान घिसिङको सम्झना आयो जसका कारण मेरा आँखाअगाडिका पहाडहरू रातको समय पनि डराउने भूतझँै थिएनन्, प्रकाशमय थियो। यी पहाडका डाँडाकाँडामा छरिएका उज्यालो मलाईदेशप्रति भरोसा र विश्वास गर्ने आधार बनिरहेको थियो। यही यात्राक्रममा खुर्कोटमा खाना खाँदा कतै नेपथ्यबाट लुट्न सके लुट भन्ने गीतको धून बजिरहेको मैले सुनेँ तर वास्ता गरिन। बुझिन पनि। आइतबार बिहान पशुपति शर्माको ‘लुट्न सके लुट’ गीत सरकारी दबाबमा ‘युट्युब’ बाट हटाएको चर्चा मर्निङवाक गरी फर्कँदाचिया पसलमा सुनेँ। अब गीतप्रति मेरो चासो बढ्यो। सरकारले वक्र दृष्टि लगाउने कुनै पनि समाचार, साहित्य, गीत, सिनेमा वा लेखलाई खतरा मोलेर खोजी खोजी पढ्ने र वितरण गर्ने अभ्यस्त पुस्ता म हुँ।
 
अहिलेको युवा पुस्ताका लागि स्वतन्त्रता नैसर्गिक अधिकार भएको छ। हाम्रो पुस्ताका लागि विचार र अभिव्यक्ति स्वतन्त्रताको लडाइँ राजनीतिक अभियान थियो। पशुपति शर्माको गीत लुट्न सके लुट दशपटक सुनेँ। युट्युबबाट हटाए पनि साथीभाइले लिंक गरेका रहेछन्, त्यही खोलेर सुनेँ। जतिपल्ट सुनेँ नेपालको यथार्थ चित्रण पाएँ।नेपालका सबै राजनीतिक दलको देश बनाउने साझा अजेन्डा गायक पशुपति शर्माले गीतमार्फत अभिव्यक्ति दिएको बुझँे। शासक र प्रशासकले यो गीतका बोलहरू संबोधन गरेमात्र पनि नेपाल समृद्धिको यात्रामा अगाडि बढ्छ भनी बुझ्नुपर्ने हो। के छ बोलहरू ? किन यो गीत यसरी आमजनतामा हिट भयो ? कुन मनोविज्ञानले आमनेपालीलाई यस्ता गीत हिट गर्न सघाउँछ ? सरकारमा बस्नेले सोच्ने यी र यस्तै कुरा हुन्। तबमात्र नीतिगत र शासकीय सुधारबाट देश समृद्धिको यात्रामा अगाडि बढ्छ।
 
पशुपति शर्माको गीतलाई राजनीति भाषामा भन्दा पहिलो नेपालका संस्थाहरू असफल छन् आफ्नो उत्तरदायित्व बहन गर्न, दोस्रो हाम्रो शासकीय प्रणाली असफल छ विकृति विसंगति रोक्न र तेस्रो हाम्रो देशमा राजनीतिक नेतृत्व सरकारी खजानालाई आफ्नो ठान्छ उपभोग गर्न। गीतका वाणीहरू यही हुन्। र, यसमा विगतमा मेरो पिता पुर्खाले आश गरे निराश भए, अब त पनि आदर्शको खेती नगर व्यावहारिक बन अर्थात भ्रष्ट बन कान्छा भन्ने नै छ। निश्चय नै यो गीत र मैले अनुभव गरेको बिपी राजमार्गको उज्यालो चित्र विराधाभाषपूर्ण छ। तर भन्नैपर्ने हुन्छ– दुवै सत्य हुन्। यो सत्य हो कि नेपालमा विरोधाभाषपूर्ण अवस्था छ। विकृति र विसंगति व्यापक छ। यसका लागि ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचीमा नेपाल कहाँ पर्छ भनी अध्ययन गर्नु पर्दैन। यो त दिन÷रात भोगिरहेको यथार्थ हो आमनेपालीको। पशुपति शर्माको गीतभन्दा कुनै पनि राष्ट्रिय अन्तर्राष्ट्रिय रिपोर्ट सजीव र सटिक हुन सक्तैन। त्यस्तै असमानतालाई बुझ्न अक्सफामको हालै प्रकाशित रिपोर्ट बुझ्नै पर्दैन, हाम्रो समाजमा भएको वर्गीय ध्रुवीकरण नांगो आँखाले नै देख्न सकिन्छ।
 
म पशुपति शर्माको गीत सुन्दै गर्दा झण्डै साढे चार दशकअगाडि पुगेँ र ‘निकाह’ भन्ने हिन्दी फिल्मको एउटागीत सम्झेँ– ‘दिल के अरमां आसुओं में बह गये हम वफा करके भि तनहाँ रह गये।’ निकाह फिल्मको यो गीतले भारतमा धूम मच्चाएको थियो तिनताका। यो गीत किन र कसरी बेजोड हिट भयो भन्ने जिज्ञासामा कैयन् अध्येतालेअनुसन्धान गरे। गीतका शब्दहरूमा तत्कालीन भारतीय राजनीतिले दिएको निराशाको अभिव्यक्ति छ भनी अध्येताहरूले भेटे। ती युवाहरूको वितृष्णा थियो, गीतमा जसले नयाँ वैकल्पिक राजनीतिको निर्माणमा आफ्नो ऊर्जा र जीवन दिएका थिए भारतमा। भारतमा संकटकालको समय थियो र लोकनायक जयप्रकाश नारायणले ‘सम्पूर्ण क्रान्ति’ को नारा दिएका थिए। नारा सफल भयो र लोकनायकको आशीर्वादमा नयाँ सत्ता निर्माण भयो जनता पार्टीको नाममा। यो सत्ता निर्माणमा भारतीय युवाहरू सक्रिय थिए नयाँ भारत निर्माणका लागि। भारतीय राष्ट्रिय कांग्रेसको विकल्पमा उदाएको जनता पार्टीबाट आमभारतीयको ठूलो आशा र अपेक्षा थियो। तर नारा र भाषणमा सीमित जनता पार्टी नेताहरूको महत्वाकांक्षाले टुटफुट भयो र बिलायो। युवाहरूको आशामा तुषारापात भयो।गीतले निराशालाई बोली दियो र हिट भयो।
स्वाभाविक छ, जब आशा निराशामा रूपान्तरित हुन्छ अनि गीत र साहित्यबाट त्यसको अभिव्यक्ति हुन्छ समाजमा। पशुपति शर्माको गीत लुट्न सके लुट नेपाली राजनीतिको चित्रण हो आजको। माओवादी ‘जनयुद्ध’, नेपालको कम्युनिस्ट एकता, कम्युनिस्ट पार्टीको झण्डै दुईतिहाइको सरकार निर्माण जस्ता आशालाग्दा घटनाहरू भएको जब एक वर्ष बित्छ र समाजमा फिटिक्कै कुनै परिवर्तन हुँदैन तब यस्तै पशुपति शर्माको सोचबाट गीतहरू जन्मन्छन्। यो समाज विज्ञान हो र स्वाभाविक पनि।
 
पशुपति शर्माको गीत एउट लयमा छ। सार्वजनिक शिक्षा र स्वास्थ क्षेत्रको विसंगति र विरोधाभाषपूर्ण अवस्था उद्घाटित गरिएको छ देशको। राजतन्त्र फाले तर सबै राजा बन्ने होडमा छन्। अर्थात राज्यको ढुकुटी लुट्ने उद्यममा सक्रिय छन् राजनीतिक नेताहरू। जसरी विगतमा राणा र शाहले गरे। मालिक र नोकरको झैँ सम्बन्ध छ नेता र कार्यकर्ताको भन्ने कुराले कम्युनिस्ट कार्यकर्तालाई किन पोलेको होला ? यो अवस्था त कांग्रेस, कम्युनिस्ट, मधेसी, राप्रपा सबै पार्टीमा छ। सबै नेताले कार्यकर्तालाई नोकर र आफन्तलाई अवसर र सुविधा दिएका छन्।  
 
सबैभन्दा डरलाग्दो भाका तीन पुस्ताको निराशाको अभिव्यक्तिमार्फत छ। यो मार्मिक छ तर यथार्थ छ। पिता, पुर्खा आदर्शवान थिए र देशमा केही हुन्छ कि भनी आशा गर्दै बिते। अब ‘कान्छा त आदर्शको खेती नगर’, लुट्न सके लुट कान्छा, लुटन सके लुट बडो दर्दनाक अभिव्यक्ति छ यो। यो नेता, कार्यकर्ता, आमनागरिक र प्रशासक सबैमाथि व्यंग्य गर्ने अभिव्यक्ति छ।  सरकारले पशुपति शर्माको लुट्न सके लुटलाई जानकारीमा लिएर जुन हर्कत गर्‍यो त्यसले म जस्तालाई पनि दशपटक गीत सुन्ने प्रेरणा दियो। सरकारको एक वर्षको कामको मूल्यांकन गर्दा मलाई सरकारले गीतलाई जानकारीमा लिएको काम नै श्रेष्ठ लाग्यो। भन्छन् नि कसैको पतन आउनु छ भने पहिला त्यसको दिमागमा दिवालियापन आउँछ, पतन त त्यसको सहउत्पादनमात्र हो। यो गीतप्रति सरकारको व्यवहारले त्यस्तै संकेत गर्छ। 
 
राष्ट्रपतिप्रति गरेको कटाक्षबाहेक गीतको भाकामा कांग्रेस, कम्युनिस्ट, शिक्षक, डाक्टर, राष्ट्रपति, पिता पुर्खा सबै  भेटिन्छन्। अनि किन टाउको दुखाएको हो सरकारले बुझ्न गाह्रो भयो। सरकारमा बस्नेहरू नचाहिने काममा अलमलिँदा नेपाली युवाहरूको पाखुरा देशभित्र र बाहिर पनि उज्यालो पार्ने काममा दत्तचित्त भएर लागेको छ। युवाहरूको सामूहिक प्रयत्नमा विश्वास गर्ने सोच नै भविष्यको नेपाल हो। बिपी मार्गमा देखिएको युवा जोश र जाँगरलाई असिनाले छेकेन। ट्रयाक खुल्यो र गाडी गुड्यो। सिंहदरवारको ट्रयाक अवरुद्ध छ, खोल्नलाई पशुपति शर्मा जस्ताको गीतका बोलीहरू नै पर्याप्त हुन्छन्। बुझ्नेलाई इशारा काफी छ। शासक÷प्रशासकहरू हो बुझ। नयाँ जमाना आया है। 

प्रकाशित: ७ फाल्गुन २०७५ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App