८ वैशाख २०८१ शनिबार
विचार

चीनलाई कसले भरपेट खुवाउने ?

हु आङगन
चीन आज संसारकै सबभन्दा ठूलो कृषि अर्थतन्त्र भएको देश हो। सन् २०१८ मा चीनले ६५ करोड ७९ लाख मेट्रिक टन अन्न उत्पादन गर्‍यो। यो संसारको कुल अन्न उत्पादनको २२ प्रतिशत हुन आउँछ। चीनले विश्वको औसत अन्न उत्पादनभन्दा १.२ गुणा बढी अन्न उत्पादन गर्नु उल्लेखनीय कुरा हो। संसारको कुल खेतीयोग्य जमिनको १० प्रतिशत जमिन मात्र चीनमा पर्छ। विश्वको कुल स्वच्छ पानी (सिँचाइमा प्रयोग गर्न सकिने) मध्ये ६.६ प्रतिशत चीनसँग छ। तर, चीनले संसारका १८.४ प्रतिशत मानिसलाई खाना खुवाउँदै आएको छ। त्यति मात्र होइन, चीनले खाद्य गुणस्तरमा ठूलो प्रगति गरेको छ। खाद्य गुणस्तरमा प्रगति भन्नुको अर्थ तुलनात्मक रुपमा उच्च पौष्टिक तत्वयुक्त खाद्य सामग्री उत्पादन गर्नु हो। 

अरुको भार नबनी समस्याको समाधान 
कुनै पनि कुरामा सत्यता मापण गर्ने आधार भनेको अभ्यास नै हो। समय त्यो अभ्यासको सबभन्दा उत्तम साक्षी हो। सन् १९४९ मा अमेरिकाका तत्कालीन विदेश सचिव डिन एचनसनले अमेरिकी राष्ट्रपतिलाई १४ पृष्ठको एउटा पत्र बुझाएका थिए। सो पत्रको शीर्षक थियो– चीनबारे अमेरिकी श्वेतपत्र। पत्रमा विदेश सचिव एचनसनले लेखेका थिए, ँहरेक चिनियाँ सरकारले सामना गर्ने पहिलो चुनौती भनेको आफ्ना जनतालाई भरपेट खुवाउनु हो। आजसम्मका कुनै पनि सरकारले यो काममा सफलता हासिल गर्न सकेका छैनन्।”

एचनसनको तर्क थियो–११ करोड टन अन्न उत्पादन गरेर चीनले कसरी आफ्ना ५० करोड मानिसलाई भेरपेट खुवाउन सक्ला ? त्यसमाथि सन् १९४९ ताका चीनमा खडेरी परेको थियो। खानाको अभावमा भोकमरीले भयावह रुप लिएको थियो। तर, माओ त्से तुङले एचनसनको तर्कको खण्डन गरे। माओले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा जनता भएसम्म कुनै पनि प्रकारको चमत्कार सम्भव भएको दाबी मात्र गरेनन्, ‘क्रान्तिबाट सबै कुरा परिवर्तन हुन सक्ने र धेरै चाँडै ठूलो जनसङ्ख्या र प्रशस्त उत्पादनसहित नयाँ चीनको उदय हुने’ कुरा पनि बताए। त्यो नयाँ चीनमा जीवन सुखी र सुसंस्कृत हुने उनको भनाइ थियो। अनि सबै खाले निराशाजनक विचारले माथ खाने भनी माओले प्रतिवादी तर्क प्रस्तुत गरे। 

सन् १९९४ को सेप्टेम्बरमा वल्र्डवाच इन्स्टिच्युटका प्रमुख लेस्सर आर.ब्राउनले ‘चीनलाई कसले भरपेट खुवाउँछ ?’ शीर्षकमा एउटा लेख लेखे। त्यो लेखमा पनि ब्राउनले एचनसनकै तर्कमा आवाज भरे। उनको तर्क थियो– चीनको वार्षिक जनसङ्ख्या वृद्धि १ करोड ४० लाखको दरमा बढिरहेको छ। चिनियाँ बजारमा अन्नको माग र त्यहाँ उत्पादन हुने अन्नको परिमाणबीचको भिन्नता संसारले यसअघि कहिल्यै नदेखेको अनुपातमा हुनेछ। ब्राउनले भने, ँचीनको अन्न उत्पादन खस्किरहेको छ। तर माग भने बढिरहेको छ।” सन् १९९० देखि २०३० को बीचमा चीनको अन्न उत्पादन कम्तीमा एक पञ्चांश (अर्थात् वार्षिक ०.५ प्रतिशत)ले घट्ने उनले पूर्वानुमान गरे। चीनमा अन्न फल्ने भूमि ४७ प्रतिशतले घटेको छ। सन् १९९४ मा कुल अन्न उत्पादन ३४ करोड टनबाट झरेर २७ करोड ४० लाख टनमा झर्ने उनको अनुमान थियो। 

चीनमा उत्पादन हुने अन्नले त्यहाँको कुल मागको ४२.५ प्रतिशत मात्र पूर्ति हुने थियो। चीनको कुल माग ६४ करोड ५० लाख टन थियो। बाँकी ५७.५ प्रतिशत अन्न पूर्तिको लागि आयातमा भर पर्नुपर्ने हुन्थ्यो। समयान्तरमा चीन आयातमा निकै निर्भर रहनुपर्नेछ। जसले संसारभरिकै अन्नको मूल्य बढाउनेछ। ब्राउनका अनुसार त्यो अवस्थाले संसारका नेताहरूसमक्ष एउटा गम्भीर प्रश्न उठ्नेछः चीनलाई कसले भरपेट खुवाउने ?  ब्राउनको सो लेख प्रकाशन भएको केही समयपछि मैले उनको सो मिथ्या पूर्वानुमानप्रति आफ्नो प्रतिक्रिया जनाएको थिएँ। मेरो पहिलो लेख ‘द स्ट्राइट्स टाइम्स’मा प्रकाशित भएको थियो भने दोस्रो लेख चिनियाँ भाषाको ‘युनाइटेड मर्निङ न्युज’मा प्रकाशित भएको थियो। ती दुवै लेखमा मैले लेखेको थिएँ–चीनले  अमेरिकाको तुलनामा १.१ गुणा बढी अन्न उत्पादन गर्छ जबकि  अमेरिकाको तुलनामा चीनसँग आधा मात्र कृषि योग्य जमिन छ। तर  अमेरिकाको तुलनामा चार गुणा बढी जनसङ्ख्यालाई चीनले भरपेट खुवाइरहेको छ। 

अन्न उत्पादनबारे ब्राउनको पूर्वानुमान वैज्ञानिक थिएन। सन् २०३० मा उत्पादन हुने अनुमान गरिएको २६ करोड ७० लाख टन अन्न त चीनले सन् १९७३ मै उत्पादन गरिसकेको थियो। सन् १९७३ देखि १९९३ सम्ममा अन्न उत्पादन वृद्धि दर ७२.२ प्रतिशतसम्म पुर्‍याएर चीनले अन्न उत्पादन क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्‍यो। आजभोलि चीनले गर्ने शुद्ध आयात भनेको उसको कुल उपभोगको मात्र २ प्रतिशत हो। चीनले आज अरु कुनै पनि देशलाई बोझ नदिई आफ्नै बलबुत्तामा आफ्नो ठूलो जनसङ्ख्यालाई भरपेट खुवाइरहेको छ।

अनुसन्धान र सुधार नै समाधान 
वास्तवमा चीनले गएका बीस वर्षमा प्रमुख कृषि उत्पादनमा संसारको औसत प्रतिव्यक्ति उत्पादनलाई समेत उछिनेर अघि बढेको छ। भटमास, उखु, फलफूल, दुध र ऊनमा भने चीनले सकेको छैन। ग्रामीण क्षेत्रमा सुधार र कृषिमा ल्याएको प्रगतिकै कारणले चीनमा यी सफलता हासिल गर्न सम्भव भएको हो। चीनको यो प्रगतिले विश्वको अन्न उत्पादन र कृषिको विकासमा पनि ठूलो योगदान गरेको छ। सन् २००६ देखि यता चीन संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमको प्रमुख दाता देश बन्दै आएको छ। 

संसारको कुल खेतीयोग्य जमिनको १० प्रतिशतभन्दा कम र ६.६ प्रतिशत स्वच्छपानीको स्रोत मात्र भएको चीनले कसरी आफ्ना १ अर्ब ४० करोड जनताको पेट भर्न सकेको छ, आज संसार यो कुरा जान्न निकै उत्सुक छ। चीनको तुलनामा अमेरिकामा १.३ गुणा बढी कृषि भूमि छ।  पहिलो कारण, कृषि क्षेत्रमा अनुसन्धान। विज्ञान र प्रविधिको अनुसन्धान, प्रतिस्पर्धा, दिगो विकास र प्राकृतिक स्रोतको संरक्षणमार्फत अन्नको मात्रामा होइन, मात्रा र गुणस्तर दुवैमा वृद्धि गर्न चीनले आफ्नो ध्यान केन्द्रित गरेको छ। 

दोस्रो कारण, चीनको ग्रामीण क्षेत्रको सुधारले पनि कृषि उत्पादनमा निकै वृद्धि गर्न सहयोग पुगेको छ। सन् १९७८ देखि सन् २०१७ सम्ममा चीनको औसत वार्षिक कृषि उत्पादन दर ४.४ प्रतिशतले बढेको छ। यो संसारकै सबभन्दा उत्कृष्ट वृद्धिदर हो। आजभोलिको डलरको भाउको आधारमा सन् १९८१ मा चीनले आफ्नो कुल कृषि उत्पादनको ७.६ प्रतिशतमा मान (भ्यालु) बढाउन सकेको थियो भने सन् २०१७ सम्ममा २८.९ प्रतिशत कृषि उत्पादनको मान बढाउन सफलता प्राप्त गर्‍यो। कृषि उत्पादनमा मान वृद्धि गर्न सबभन्दा अग्रपंक्तिको देश  अमेरिकालाई पनि चीनले उछिनेको छ।तेस्रो कारण, चीनको उच्च बहुखेती प्रणालीले जमिनको स्रोत वृद्धि बराबरको योगदान पुर्‍याएको छ। बढ्दो बहुखेती प्रणालीले कृषि भूमिका एक तिहाइले वृद्धि भएको बराबरको उत्पादनमा योगदान गरेको छ। संसारको कुल खेतीयोग्य जमिनको १० प्रतिशतभन्दा कम खेतीयोग्य जमिन भएको चीनमा संसारको कुल अन्न बालीको १३.४ प्रतिशत ओगटेको छ।

चौथौ कारण, कृषि प्रणालीमा चीनले गरेको प्रगतिको कारण भारतले गर्ने गरेको अन्न उत्पादनभन्दा चीनको उत्पादन बढी छ। संसारको कुल अन्नबाली लगाउनेमा भारत चीनभन्दा झिनो प्रतिशतले अघि छ। संसारको अन्नबालीमध्ये १३.७ प्रतिशत भारतमा लगाइँदै आएको छ। तर, प्रति बोट उत्पादनको हिसाब गर्दा भारतले ५२.४ प्रतिशत मात्र अन्न उत्पादन गर्दै सकेको छ। भारतको कुल अन्न उत्पादन चीनको कुल अन्न उत्पादनको तुलनामा ५०.७ प्रतिशतमात्र छ। 
पाँचौँ कारण, चीन सरकारले आफ्नो राष्ट्रिय परिस्थितिअनुसार अन्न सुरक्षा रणनीति बनाउँदै आएको छ। आफूलाई मनग्य अन्न पुर्‍याउन चीनले राष्ट्रिय अन्न सुरक्षा रणनीतिलाई  केन्द्रीकरण र समन्वय गर्दै आएको छ।  चीनमा १८ हजार वटा मात्र अन्न प्रशोधन उद्योगहरू छन्। तथापि चीनले ४ करोड ८० लाख टन अन्न उत्पादन गरेको छ। यो चालु वर्षको कुल अन्न उत्पादन (६६ करोड टन) को ७२.७ प्रतिशत हुन आउँछ। यो उत्पादनको मूल्य २.८ त्रिलियन (४ खर्ब ४१ अर्ब ७ करोड अमेरिकी डलर) हुन आउँछ। चीनको कुल गार्हस्थ उत्पादनको यो रकम झण्डै ३.८ प्रतिशत हुन आउँछ।

अनुभवको आदानप्रदान
चीनले आफ्ना घरेलु कृषि उद्योग र लगानीकर्ताहरूलाई आफूले हासिल गरेका विकसित अनुभव विदेशमा निर्यात र हस्तान्तरण गर्न उत्साहित गर्दै आएको छ। अन्य विकासशील देशहरूमा कृषि प्रविधिबारे तालिम सञ्चालन गर्न, कृषिमा आधुनिकीकरण गर्न र व्यापार उदारीकरणका लागि चीनले यसरी उत्साहित गर्ने काम गर्दै आएको हो। खाद्य सुरक्षा र खाद्य उत्पादनबारे सचेत चीनले आफ्ना जनताको खाद्य आवश्यकता पूरा गर्दै जानेछ। आधुनिक कृषि विकासमा आफ्नो उपलब्धि र अनुभव चीनले संसारको हितमा प्रयोग गर्दै जानेछ।  यसको निम्ति चीनले विश्वव्यापी कृषि विकासका लागि आफ्नो प्रयास जारी राखेको छ। साथै अरु देशमा आधुनिकीकरणका उपलब्धि साट्दै आएको छ। अन्न सुरक्षा र अन्न उत्पादनमाथि गहिरो चासो र सावधानीबीच चीनले आफ्नो ठूलो जनसङ्ख्याले निम्त्याएको आँधीहुरीलाई अनुकूलतामा ढाल्नेछ। आधुनिक कृषि विकासमा चीनले हासिल गरेका अनुभव र उपलब्धि बाँकी संसारसँग आदानप्रदानलाई जारी राख्नेछ। (लेखक : सिन्ह्वा विश्वविद्यालयअन्तर्गत चीन अध्ययन केन्द्रका निर्देशक। स्रोतः चाइना डेली। नेपाली अनुवादः नीरज लवजू।) 

प्रकाशित: ७ फाल्गुन २०७५ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App