१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जो ठेला व्यापारले धानिएका छन्

सवारी साधनको ट्वाँट्वाँटुँटुँ। आउजाउ गर्नेहरूको चहलपहल। युवाहरू चियाको चुस्की लिँदै गफिरहेका छन्। एक अधबैंसे महिला ठेलागाडामा चिया बनाउँदै थिइन्। ठेलागाडीमा मिलाएर राखिएको प्लास्टिकको गिलासहरू। यो दृश्य हो, केही दिनअघि सीतापाइलास्थित सडक छेउको। त्यहीँ बसेर कास्कीकी ३१ वर्षीय दुर्गा क्षेत्रीले तीन महिनादेखि चिया बेचिरहेकी छिन्।

उनले ठेलाको व्यापार गरेरै जीवन धानिरहेकी बताइन्। ‘म बिहानै उठेर यहाँ आउँछु र चिया बेच्ने गर्छु। दिउँसो चटपटे र पानी पुरी बेच्छु। यसबाटै दिनमा तीन÷चार हजार कमाइ हुन्छ,’ उनले भनिन्, ‘मासिक ६ हजार कोठाभाडा बुझाउँछु। यसको कमाइबाट एक छोरी र दुई छोरालाई सामुदायिक विद्यालयमा पढाइरहेकी छु।’

उनले दुःखले जीवनमा धेरै कुरा सिकाउने गरेको बताउँछिन्। ‘दुःखले संघर्ष गर्न सिकाउने रहेछ। ७ वर्षकी हुँदा बाबा पेटको क्यान्सरले बित्नुभयो। आमाले अर्कै बिहे गर्नुभयो। म १४ वर्षकै हुँदा पूर्णबहादुर क्षेत्री नाम गरेको व्यक्तिले ललाइफकाइ बिहे गरे। दुःखसुख राम्रैसँग घरबार चलिरहेको थियो। जब उनी विदेश गए तब उनी बदलिँदै गए,’ उनले भनिन्, ‘उसले पैसा पठाउन छोडेपछि घर धान्न नसकेर म छटपटाइरहेकी थिएँ। काठमाडौंमा एक डोको साग बेचेरै भए पनि पेट पाल्न सकिन्छ भन्ने सुनेकी थिएँ र बाँच्ने आधार खोज्दै यहाँ आइपुगें।’ 

‘काठमाडौं आएको तीन वर्षअघिदेखि घरघरमा गएर कुचो लगाउने र लुगा धुने काम गर्दै थिएँ। अचानक भदौमा बिरामी भएर तीन महिना पोखराको गण्डकी अस्पतालमा बसेर आएँ,’ उनले भनिन्, ‘मेरो समस्या बुझेर सीतापाइलाको उपासना महिला बचत तथा सहकारी संस्थाले ठेला व्यापार गर्न ३५ हजार रूपैयाँ रिन दिएपछि यो काम थालेकी हुँ।’ अहिले पहिले जस्तो कति बेला देलान् र खाऊँला भनेर आसे बन्नु नपरेको खुसी पनि उनले सुनाइन्। 

उनले श्रीमान्लाई मनाउन धेरै कोसिस गरेकोे पनि बताइन्। ‘म भर्खरै घर पुगेर आएँ। जे सोचेर गएकी थिएँ। ठीक उल्टो भयो,’ उनले भनिन्, ‘मैले उहाँलाई  तीन–तीन छोराछोरी छन्। उनीहरूको भविष्य सोच्नुपर्छ। काठमाडौं जाऔं भनेर कति सम्झाएँ। तर उहाँले तँ तेरो खुसी गर, म मेरो खुसी गर्छु भन्दै डिभोर्स दे भन्नुभयो। मैले न आमाबाबुबाट ओत पाएँ न श्रीमान्बाट साथ। तर म कहिल्यै हरेस खाँदिनँ।’

‘मैले धेरै कुराबाट धोका पाएँ। श्रीमान्ले समेत ममाथि खेलबाड गरें,’ उनले भावुक हुँदै भनिन्, ‘उपासना सहकारी संस्थाले ओत दिएपछि मेरो मनोबल बढेको छ। मैले त धोका पाएँ। तर, छोराछोरीहरूलाई यही काम गरेर सरकारी जागिर बनाउने लक्ष्य लिएकी छु।’

उनीजस्तै काभ्रेका विष्णु लामा ‐२८ ) पनि ठेला व्यापारबाटै घरव्यवहार धानिरहेका छन्। २०६६ सालमा काठमाडौं झरेका उनलाई दिनहुँ सुनधाराअगाडि भेटिन्छ। उनले पैसा कमाउन विदेश जानुभन्दा आफ्नै ठाउँमा मिहिनेत गर्न उपयुक्त हुने बताए। ‘विदेश जानुभन्दा आफ्नै ठाउँमा मिहिनेत गर्नु राम्रो हुन्छ। दुःख–सुखमा परिवारसँगै भइन्छ, उनले भने, ‘पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन। हामीले यही कामबाट तीन छोरालाई आवासीय विद्यालय पढाउँदै छौं।’

‘म र श्रीमती बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म खट्छौं। काम गर्न त्यत्ति सजिलो छैन। तर हामी हरेस खाँदैनौं,’ उनले भने, ‘कहिलेकाहीँ बोहोनी नहुँदै नगरपालिकाले लखेट्छ। नगरपालिकाले ठेलागाडा जफत गरेपछि तीन हजार रूपैयाँ बुझाएर उकास्नुपर्छ। राज्यले न काम दिन्छ न हामी जस्तो काम गरेर खानेलाई व्यवस्थित नै गर्न सक्छ।’

ठेला व्यापारबाट घर चलाउँदै आएका छन्, अनामनगरमा डेरा गरी बस्ने काभ्रेका सुवास तामाङ ‐२०)। यसकै कमाइबाट पढाइ खर्च जुटाइरहेको उनले बताए। ‘बेलुकी तीन घन्टा आलु चिप्स, मःमः, ससेज र सेकुवा बेचेरै पढाइ खर्च जुटाउँदैछु’, उनले भने, ‘कहिलेकाहीँ दुई हजारभन्दा बढी बस्छ। अरूको गाली खाएर काम गर्नुभन्दा आफ्नै काम गर्नु जाती सम्झेर भर्खरै यो काम थालेको हुँ। बाउआमाकोे कति आश गर्नु ?’ कहिलेकाहीँ बाबुआमालाई  घरखर्च पठाउने गरेको पनि उनले बताए।

काम गर्न लाज मान्ने युवाहरूलाई उनको सुझाव छ, ‘हामीले काम गर्न लजाउनु हुँदैन। लाजले न पेट भरिन्छ न त घरव्यवहार नै चल्छ। हल्लिएर कहाँबाट आउँछ पैसा ?’ ठेला व्यापारबाट धानिने अर्का व्यक्ति हुन्, टेकुमा डेरा गरेर बस्ने काभ्रेकी ४० वर्षीय देवकी फुयाल। उनले ठेला व्यापार गर्न थालेको १५ वर्ष भयो। उनलाई सिभिल मलअगाडि साँझपख चटपटे, पानी पुरी र मकै बेचिरहेको भेटिन्छ। उनले ठेलाव्यापारबाट रामै्र कमाइ हुने गरेको बताइन्। ‘ठेलाव्यापारबाट राम्रै कमाइ हुन्छ। नगरपालिकाले कहिलेकाहीँ ठेलागाडा लिएर  जान्छन् र एक पटकको ३ हजार लिएर सामान फिर्ता दिन्छन्। यति हुँदाहुँदै पनि मासिक २० हजार रुपैयाँ जति आम्दानी हुन्छ।’

उनले यहाँ कामको कुनै सम्मान नभएको गुनासो गरिन्। ‘यहाँ कामको सम्मान गर्न प्रवृत्ति छैन। सानो काम भनेर कामै नगर्ने र बेरोजगार भइयो भनेर बिलौना गाउने चलन छ। यस्ताहरूको अगाडि मैले उदाहरण बनेर देखाएकी छु।’

प्रकाशित: ७ फाल्गुन २०७५ ०२:५८ मंगलबार

सवारी_साधन ठेला_व्यापार अावाज