coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

चल्तीमा भाडाका पार्टी वेयर

पाटनकी शावी मालीलाई भोज र पार्टीमा जान भ्याइनभ्याई छ। बिहीबार पाटनमा भेटिएकी उनी मामाकी छोरीको सुपारीमा जाँदै थिइन्। शावीले मोतीले भरिएको लेहेंगा लगाएकी थिइन्। शिरदेखि पाउसम्म मिलेको पहिरनमा उनी निकै राम्री देखिएकी थिइन्। ‘हामी नेवारहरूको चलन अनुसार बिहेको समारोह धेरै दिनसम्म हुन्छ, प्रत्येक पटकको कार्यक्रममा एउटै लुगा लगाउन कसलाई पो मनपर्ला र ?’ उनले भनिन्। आफू उत्सव अनुसार फरक–फरक पहिरनमा सजिने गरेको उनले बताइन्।विशेष भोज तथा विवाहमा जानुपर्‍यो भने आफूलाई मनपर्ने रंग तथा डिजाइनको लुगा भाडामा लिने गरेको उनले सुनाइन्। 

हरेक कार्यक्रममा फरक लुक्स मनपराउने उनी भन्छिन्, ‘भाडाको लुगा ल्याउँदा कम खर्चमा नयाँ लुक्स दिन सकिन्छ। तसर्थ म यस्ता समारोहमा जानु परे प्रायः भाडामा लुगाहरू लिने गर्छु।’ पहिला आवश्यक लुगाहरू किन्ने बानी भए पनि अचेल लुगामा धेरै पैसा खेर नफाल्ने गरेको उनले बताइन्। एउटा डिजाइनको पहिरन अर्को कार्यक्रममा लगाउँदा नरमाइलो महसुस हुने उनले बताइन्। ‘कोहीभन्दा कम किन हुनु ?’ उनी भन्छिन्। भाडामा लिएर पैसा बचाउने र फेसनेबल बन्न सुरु गरेको उनले बताइन्। ‘पार्टी वेयर ड्रेस किन्दा वा बनाउँदा सामान्यतया १० हजार रूपैयाँ खर्चनुपर्छ, हामीले किनेको ह्याबी पहिरन दैनिक प्रयोग पनि हुँदैन, समालेर राख्न हाम्रो स्याहार पनि पुग्दैन, त्यसकारण पार्टी अनुसारको रोजेर भाडामा ल्याउनु नै बुद्धिमानी उपाय हो जस्तो लाग्यो।’

विवाहको मौसम जो छ, आफन्त तथा साथीभाइको विवाह, पार्टीलगायत विभिन्न समारोहमा खुसी साट्न सामेल हुनु अनिवार्यजस्तै भएको छ। हरेकको चाहना अरुभन्दा फेसनेबल र युनिक देखिने हुन्छ। प्रायः यस्ता कार्यक्रम तथा समारोहमा महिलाहरूलाई के लगाउने भनेर चिन्ताले पिरोल्ने गर्छ। एक ठाउँमा लगाएर गएको पहिरन अर्को कार्यक्रममा लगाएर जान न खोज्नेहरूको लागि राम्रो विकल्प हुन सक्छ भाडामा पाइने कपडाहरू। 

सरिता कार्की विद्यार्थी हुन्। काभ्रेकी उनी काठमाडौं अध्ययनको लागि आएकी हुन्। स्नातक पढ्दै गरेकी उनी २७ गते साथीको भोजमा जाने योजनामा छिन्। साथीको बिहेमा के पहिरन लगाउने भन्नेबारे उनी ढुक्क छिन्। ‘सामान्य विद्यार्थी हामी एकछिनको पार्टीको लागि कहाँ महँगो परिहन किन्न सक्छौं र ? त्यसकारण भाडामा लुगा लिएर नै काम चलाएकी हुन्छु।’ भाडामा कपडा लिँदा कम खर्चमा काम बन्ने उनी बताउँछिन्। ‘लङ गाउन, लेहेंगा र सारीसमेत गरेर भाडामा लिई साथीको विवाह, पार्टीमा गएकी छु,’ उनले भनिन्।

‘कपडा रेन्ट’मा अनलाइनमा विभिन्न डिजाइनका कपडा भाडामा पाइन्छ। सुरुवाती चरणमा राधेराधेमा सप स्टोर भए पनि ग्राहकलाई पाइक नपरेपछि सार्न योजनामा रहेको सञ्चालक समुद्रराज अर्यालले बताए। ‘ग्राहकको सुविधालाई ध्यानमा राखी पाइक पर्ने ठाउँ खोज्दै छौं,’ उनले भने। विगत ५ महिनादेखि पार्टी वेयरका लुगा भाडामा व्यापार गर्दै आएका अर्याल भन्छन्, ‘सहरमा के व्यापार गर्दा राम्रो हुन्छ भन्ने रिसर्च गर्दा कपडा भाडामा दिने व्यापार राम्रो र नयाँ आइडिया हुने जस्तो लागेर व्यापार थालेका हौं, व्यापार पनि राम्रै छ।’ 

दुईजना साथीहरू मिलेर सञ्चालनमा ल्याइएको कपडा रेन्टमा अनलाइनमार्फत् कपडा भाडामा लिन सकिने उनले बताए। अनलाइनमा कपडा रेन्टमा राखिएको कपडा अनुसार साइजबारे जानकारी दिए कपडा चाहेको ठाउँमा ल्याइदिने उनी बताउँछन्। पार्टी र भोजको समयमा खास पुरुषभन्दा महिलाका लागि धेरैथरि कपडा आवश्यक पर्ने भएकाले महिलाका डिजाइनका पार्टी ड्रेसहरू राखिएको अर्याल बताउँछन्। ‘तीन दिनको लागि आफूले चाहेको कपडा लैजान सकिने छ, जसको मूल्य १२ सय रूपैयाँ पर्छ,’ उनले भने। कपडाकोे क्वालिटी अनुसार रेट लगाउनुपर्ने उनी बताउँछन्। भाडामा कपडा लिन आउनेमा १५ वर्षदेखि ४० वर्ष नकाटेका महिलाका उमेर समूह आउने गरेको उनले जानकारी दिए। भाडामा कपडा दिँदा विशेष साइजमा समस्या आउने गरेको उनी अनुुुभव सुनाउँछन्। आगामी दिनहरूमा राम्रो डिजाइनका कपडा भाडामा दिने योजनाका लागि विभिन्न ड्रेस डिजाइनरहरूसँग सहकार्य गरेको उनी बताउँछन्। 

यसरी कपडा भाडामा लिएर जाने टेन्ड अहिले निकै चलेको छ। पार्टी वेयर मात्र नभएर  सांस्कृतिक पोसाकहरूको पनि निकै माग रहेको संगिता श्रेष्ठ बताउँछिन्। थापाथलीस्थित श्रेष्ठ भेषभूषा सञ्चालनमा आएको चार वर्ष भइसकेको छ। सञ्चालिका संगिताका अनुसार प्रायः स्कुले विद्यार्थीहरूले कार्यक्रमको लागि लैजाने गरेको उनले जानकारी दिइन्। श्रेष्ठ भेषभूषामा विभिन्न जातिका भेषभूषा पाइन्छ। आफूलाई आवश्यक मनपर्ने पहिरन लिन आउनेको संख्या खासै वृद्धि नभएको उनको भनाइ छ। उनी भन्छिन्, ‘मानिसहरू विभिन्न जातीय भेषभूषामा आकर्षित भए पनि भाडामा कपडा पाइने पसलहरू धेरै खुलेको छ, जसले गर्दा व्यापार खासै सन्तोषजनक भने छैन।’ 

मन्टेश्वरीका साना नानीहरूलाई आवश्यक विभिन्न पोशाकदेखि ल्होसारमा लगाइने विभिन्न जातीय पहिरन खोज्न आउने गरेको उनी अनुभव सुनाउँछिन्। ‘सामान्यतया दुई सय पचास रूपैयाँमा पोशाक भाडामा पाइन्छन्, विशेष स्कुलको कार्यक्रम, सांस्कृतिक कार्यक्रमका लागि लुगाहरू लिन आउँछन्,’ उनले भनिन्। मन्टेश्वरीका बच्चाहरूका लागि एनिमल पिन्टेड र नृत्यका लागि लगाइने पहिरनको विशेष माग हुने उनी बताउँछिन्। नेवारी पोसाक लिन आउनेहरूको संख्या पनि निकै रहेको उनले बताइन्।

प्रकाशित: ७ फाल्गुन २०७५ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App