काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको सांगठनिक एकता टुंगो लगाउन एकता प्रक्रिया टुंग्याउन गठित कार्यदल सदस्यहरुसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले बिहीबार एकता कार्यदलसँग छलफलपछि सांगठनिक एकीकरण टुंगो लगाउने निष्कर्ष निकालेको हो।
कार्यदलको प्रतिवेदन टुंग्याउन बसेको सचिवालय बैठकमा एकीकरण प्रक्रिया अघि नबढेसम्म स्थायी कमिटीले तय गरेका कार्यक्रमहरु अघि बढ्न नसक्ने धारणा आएपछि कार्यदलका सदस्यहरुसँग छलफल गर्न लागिएको हो। कार्यदलले बुझाएको प्रतिवेदन टुंगो लगाउन कार्यदलका सदस्यहरुसँगै सामूहिक छलफल गर्नुपर्ने भएकाले आगामी बिहीबार बस्ने बैठकमा सदस्यहरुसँग छलफल गर्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिएका थिए। बैठकले सांगठनिक एकीकरणसम्बन्धी आवश्यक नीति र निर्णय लिने निर्णय गरेको पनि उनले बताए।
गृहमन्त्री रामबहादुर थापा नेतृत्वको कार्यदलभित्र विवाद भएपछि पार्टी एकतासम्बन्धी टुंगो लगाउने काम अघि बढेको थिए। विवादकै बीचमा कार्यदलका संयोजक थापाले प्रतिवेदन बुझाएका थिए। पार्टीको सांगठनिक एकताको कामलाई टुंगो लगाउने जिम्मेवारी पाएको सचिवालय सदस्य थापा, महासचिव विष्णु पौडेलसहितको कार्यदलले अधुरो प्रतिवेदन बुझाएपछि त्यसलाई पूर्णता दिन सचिवालय बैठकले कार्यदलका सदस्यहरुसँग पुनः एकपटक छलफल गर्ने निर्णय गरेको हो। प्रदेश कमिटी गठनको विषयमा पार्टीभित्र व्यापक आलोचना भएपछि कार्यदलभित्र पनि विवाद भएको थियो। पुस १२ गते सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले एकताको टुंगो लगाउन कार्यदल बनाएको थियो।
कार्यदललाई पुस मसान्तसम्मको समयसीमा दिएर प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको थियो। तर सो समयभित्र कार्यदलले प्रतिवेदन बुझाउन सकेको थिएन। केही दिनअघि मात्रै कार्यदलका संयोजक थापाले दुई अध्यक्षलाई प्रतिवेदन बुझाएका थिए।
प्रकाशित: ७ फाल्गुन २०७५ ०२:३५ मंगलबार