७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेविसंघको नेतृत्वका लागि आआफ्नै दाउ

काठमाडौं - नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वका लागि विद्यार्थी नेताहरूले सक्रियता बढाएका छन्। नैनसिंह महर नेतृत्वको केन्द्रीय समितिले विधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न गर्न नसकेपछि पार्टीले महाधिवेशन गराउन नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो। पार्टी सभापति शेरबहादुर देउवालाई नेताहरूसँग परामर्श गरेर संघको नयाँ नेतृत्व टुंगो लगाउन केन्द्रीय समितिले जिम्मा दिएको छ।

आगामी ६ महिनाभित्र संघको महाधिवेशन सम्पन्न गर्नेगरी आयोजक समिति गठन गर्ने पार्टी केन्द्रीय समितिले निर्णय गरे पनि नयाँ नेतृत्व ३२ वर्ष उमेर ननाघेकाबाट बनाउने वा नाघेकाबाट ल्याउने भन्नेमा नेताहरूबीच एकमत छैन। सभापति देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच मात्र होइन, गुटभित्रै पनि नेताहरू आ–आफ्नो स्वार्थअनुसार संघको विधानअनुसार नयाँ नेतृत्व ल्याउनुपर्ने पक्ष र विपक्षमा उभिएका छन्। सभापति देउवा संघको विधानको नयाँ व्यवस्थाअनुसार ३२ वर्षभित्रैबाट नेतृत्व चयनको पक्षमा रहेको निकटहरूको दाबी छ। तर, देउवासँग नजिक रहेका नेताहरू नै ६ महिनाभित्र महाधिवेशन गराउनुपर्ने भन्दै आयोजक समिति ३२ वर्षबाहिरबाट ल्याउनुपर्ने पक्षमा उभिएका छन्। ३२ वर्ष उमेर हद १२औं महाधिवेशनबाट मात्र लागू हुने भन्दै सरोज थापा, ऋषिकेश साह, राजीव ढुंगानामध्येबाट नेतृत्वमा ल्याउनुपर्ने उनीहरूको भनाइ छ।

सहमहामन्त्री प्रकाशशरण महत, बालकृष्ण खाँणसहितका नेताहरू ३२ वर्ष उमेर हद अहिले नै लगाउनुपर्ने पक्षमा उभिँदै आएका छन्। ३२ वर्षभित्रैबाट नेतृत्व चयन गर्दा देउवा पक्षबाट प्रेम जोशी, अम्बिका चलाउने र प्रकाश घिमिरे नेतृत्वको दौडमा छन्। जोशी सहमहामन्त्री महत र घिमिरे नेता खाँणसँग नजिक छन्।

त्यस्तै, पार्टीभित्रको असन्तुष्ट समूहको नेतृत्व गर्दै आएका नेता रामचन्द्र पौडेल पक्ष संघको नयाँ नेतृत्व ३२ वर्षबाहिरबाट ल्याउनुपर्ने पक्षमा छन्। महरसँग संघको अध्यक्षका लागि प्रतिष्पर्धा गरेका मनोजमणि आर्चायलाई आयोजक समितिको संयोजक बनाउनुपर्ने पक्षमा छन्। आर्चायसँगै नेतृत्वको दौडमा पौडेल पक्षबाटै दीपक भट्टराई, लीलाबल्लभ दाहाल, नीलकण्ठ रिजाल, मनोज वैद्य, हिमालदत्ता श्रेष्ठसहितका छन्। उनीहरू सबै ३२ माथिका हुन् भने ३२ वर्षभित्रबाट नेतृत्व चयन भए शिव रिमाल र सागर परियारले उक्त समूहबाट संघमा प्रतिनिधित्व गर्नेछन्।
पार्टीभित्र आफूलाई तेस्रो धार बताउँदै आएको कृष्णप्रसाद सिटौला समूहभित्र पनि संघको नेतृत्व ३२ वर्षभित्र कि बाहिर भन्नेमा एकमत छैन। नेताहरु नै ३२ वर्ष उमेरहदको पक्ष र विपक्षमा देखिएका बेला आइतबार गगनकुमार थापासहित सिटौला पक्षीय नेताहरूको भेलाले ३२ वर्षभित्रैबाट नेतृत्व ल्याउनुपर्ने समझदारी गरेका छन्। सोहीअनुसार सोमबार उनीहरू निकट विद्यार्थी नेताहरुले राजधानीमा पत्रकार सम्मेलन गर्दै विधान व्यवस्था कार्यान्वयन हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्। संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेसहित नेताहरुको उपस्थीतिमा भएको पत्रकार सम्मेलन गर्दै ३२ वर्षे कार्यान्वयन नगरेर जालझेल नगर्न पार्टी नेतृत्वलाई सचेत गराएका छन्।

सिटौला समूहकै विद्यार्थी नेताहरू बलदेव तिमलसेना, युवराज पाण्डेसहितका ३२ वर्षबाहिरबाट संघको नेतृत्व ल्याउनुपर्ने पक्षमा छन्। सुशील भट्ट, गणेश सापकोटा, निरञ्जन थापासहितका विपक्षमा छन्। पार्टी विधानको धारा ४० ले भ्रातृ संगठनका विषयमा उल्लेख गरे पनि महासमिति बैठकबाट सुझावसहित पारित विधानलाई केन्द्रीय समितिले अझै पारित गरीनसक्दा संघको नयाँ नेतृत्व गठनमा केही विलम्ब हुन सक्ने नेताहरुको विश्लेषण छ।

प्रकाशित: ७ फाल्गुन २०७५ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App