coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङमा पनि बन्दाबारीमा ट्याक्टर

धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ विशालटारमा लगाइएको तरकारी बिक्री नभएपछि ट्याक्टर लगाउँदै किसान। तस्बिर : सरिता/नागरिक

धादिङ - चितवनका किसानले बन्दामा डोजर चलाएको दुई महिना नहुँदै धादिङमा पनि त्यस्तै घटना भएको छ। बजार मूल्यभन्दा ९० प्रतिशत कममा पनि बिक्री नभएपछि बेनिघाट रोराङ गाउँपालिका–ं५ विशालटारका किसानले बारीको बन्दा ट्याक्टर लगाएर नष्ट गरेका हुन्। बारीमा लगाएको बन्दाकोभी, मुलालगायत तरकारीको मूल्य नपाएको स्थानीय किसान राजु बिसुरालले बताए। १५ वर्षदेखि कृषि पेसामा संलग्न बिसुराल तरकारी खेतीबाट अब हात धुनुपर्ने अवस्था आएको बताउँछन्।

‘तरकारीले बजार पाउने आसमा थियौं,’ बिसुरालले भने, ‘नपाएपछि बाध्य भएर ट्याक्टर लगाएर नष्ट ग¥यौं।’ उपभोक्ताले बजारमा प्रतिकेजी १५ रुपैयाँमा किनिरहेको मुला र ३० रुपैयाँ प्रतिकेजीमा किनिरहेको बन्दा बिचौलिया व्यापारीले प्रतिकेजी तीन रुपैयाँमा पनि नलगेपछि किसानले खेतमै नष्ट गरेका छन्। धादिङलाई तरकारी पकेट क्षेत्रका रूपमा चिनिन्छ। यहाँ उत्पादित तरकारी काठमाडौंको कालीमाटी, पोखरा, चितवनलगायत बजारमा पुग्छ।

बिसुरालले १६ रोपनी जग्गामा बन्दा, मुलालगायत खेती गरेका छन्। उनले फलाएको बन्दा एक किलो पनि बिक्री गरेको छैन। बन्दा नबिकेपछि बारीमै कुहिएको छ। ‘खेतीमा ५० हजार खर्च भइसकेको छ, बिक्री गर्दा प्रतिकिलो तीन रुपैयाँ पनि नआउने देखियो,’ बिसुरालले भने। उनले अघिल्लो वर्ष तरकारीबाट नौ लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिए। ‘अहिले उल्टै घाटा भएको छ,’ उनले भने।

सिजनअनुसारको तरकारी उत्पादन गरे पनि नबिक्ने भएपछि विशालटारका किसान चिन्तित छन्। अघिल्लो वर्ष पनि बिसुरालले ६ रोपनी जग्गामा लगाएको मुला यसरी नै नष्ट गरेका थिए। धान रोप्न छोडेर लगाएको तरकारीले डुबाएपछि तरकारीखेतीबाटै विस्थापित हुनुपर्ने अवस्था आएको उनले बताए। विगतमा तरकारीखेतीको आम्दानीले घरव्यवहार चलाउन र छोराछोरी पढाउन पुगेकोमा यसपालि ऋणको भारी बोक्नुपरेको उनको भनाइ छ।

अर्का किसान सुमित्रा शाहले पनि तीन रोपनी जग्गामा लगाएको मुला काटेर फालेकी छन्। स्थानीय बजारमा माग नहुँदा व्यापारीले लिन नमानेको किसान बताउंँछन्। केही किसान अझ मूल्य पाउने आसमा बसिरहेका छन्। ‘खेतमा धान नरोपी तरकारी लगायौं, अहिले बिकेन,’ शाहले भनिन्, ‘किसानको मेहनत माटोमा मिसिएको छ।’ अहिले बजारमा बन्दाकोभीको मूल्य प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म छ। तर, व्यापारीलाई सित्तैंमा उठाऊ भन्दा पनि नमानेको शाहले बताइन्। टिप्ने श्रमको ज्याला र ढुवानी भाडा पनि नउठ्ने भएपछि अर्को खेती गर्न किसानले तरकारी नष्ट गर्न थालेका हुन्।

विशालटारका अधिकांश किसानले तरकारी खेती गरेका छन्। त्यहाँका १२ घरधुरीले एकैपटक ट्याक्टर लगाएर तरकारी खेती नष्ट गरेका छन्। यहाँका स्थानीयले २२ रोपनी क्षेत्रफलमा बन्दाकोभी खेती गरेका छन्। बन्दासँगै मुला पनि बिक्री भएको छैन। स्थानीय किसान निर्मला बिसुरालले भनिन्, राज्यले खेतबारी बाँझो नराख्न किसानलाई आग्रह गरेको छ। खेती ग¥यो, उल्टै घाटा हुन्छ। किन खेती गर्नु अब ?’ धादिङ, काठमाडौं र नारायणगढको मागको ठूलो हिस्सा यहाँको तरकारीले धानेको छ। यसपालि यहाँका प्रत्येक किसानले तरकारीमा ५० देखि ६० हजार रुपैयाँ नोक्सानी बेहोरेका छन्। अब बर्खे तरकारी लगाउने सुरु भएको छ। भारतबाट भएको आयात र बजारसम्म किसानको पहुँच नहुँदा तरकारी नबिकेको उनीहरूको बुझाइ छ।

धादिङमा लगभग ६ हजार हेक्टर जमिनमा तरकारी खेती गरिन्छ। काठमाडौंमा बिक्री हुने तरकारीको १८ प्रतिशत धादिङ जिल्लाबाट जान्छ। स्थानीय किसानले उत्पादन गरेको तरकारीभन्दा भारतबाट ल्याएकोले बजार लिने भएका कारण किसानको मेहनत खेर गएको कृषि ज्ञान केन्द्र धादिङका प्रमुख केशव देवकोटाले बताए। काठमाडौंमा मात्रै २६ प्रतिशत तरकारी भारतबाट आउने गरेको छ।

प्रकाशित: ७ फाल्गुन २०७५ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App