coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

‘गफाडी नेतृत्वले सहर बिगार्‍यो’

ऋषि धमला, पत्रकार

तपाइँको विचारमा सहर भनेको के हो ?
सबै कुराले सम्पन्नता भएको सुविधायुक्त बस्ती नै सहर हो। त्यहाँ आर्थिक, सामाजिक, राजनीतिकलगायतका अन्य आधारभूत संरचना व्यवस्थितरूपले बनेका हुन्छन्। जनसंख्या धेरै भए पनि सहरको व्यवस्थापकीय पक्ष निकै मजबुत र चुस्त हुन्छ। सहरको सरकार पनि त्यतिकै परिपक्व हुन्छ। अर्को कुरा, सहर हरेक हिसाबमा अगाडि नै हुन्छ। त्यहाँ नागरिकका अधिकार अग्रपंक्तिमा राखिएको हुन्छ। सहरलाई हेर्न लायक, मनमोहक, सुव्यवस्थित, सुन्दर र सफा पारिएको हुन्छ।

विश्वका अरु सहर हेर्ने हो भने त्यहाँ संरचना कति सुन्दर छन्। कति आर्कषक छन्। त्यो सबै कुरा हाम्रा नेताहरूलाई थाहा छ तर, उनीहरू नेपालमा केही गर्न चाहँदैनन्। राजनीतिमै ओलटपोलट भएर सत्ताको पछि मात्रै लम्कन खोजिरहन्छन्। नेताहरूमा भिजन नहुँदा नेपालका सहर अति नै अव्यवस्थित भए। अरु देशका सहर हेरेर हामीले हाम्रा सहरलाई कसरी परिभाषित गर्ने टुंगो छैन। जता गयो गञ्जागोल मात्रै छ। ट्राफिक व्यवस्था अस्तव्यस्त छ। सहरमा ढुक्कले ओहोरदोहोर गर्न सक्ने अवस्था छैन। पैदलयात्रु यात्रुलाई बाटो काट्ने ठाउँ छैन। बनिरहेका सडकमा पनि बजेटको दुरुपयोग भइरहेको छ। कोटेश्वर–कलंकी सडक हेर्दा चिटिक्क देखिन्छ। तर, त्यहाँ यात्रुलाई बाटो काट्ने ठाउँ छाडिएको छैन। साइकल लेन बनाइएको छैन। त्यसकारण सहरको विकास सुहाउँदो भएन। 

सहरमा के–के सुविधा हुनुपर्ला ?
सहरवासी स्वभाविकरूपमा सहरमा बसेको महसुस गरेको हुनुपर्छ। राज्यले प्रदान गरेका सेवा सुविधा समान किसिमले पाएको हुनुपर्छ। खानेपानी, स्वास्थ्य, शिक्षा, यातायातलगायत आधारभूत आवश्यकता सहजै पाउनुपर्छ। यससँगै आधुनिकता र पौराणिक पक्षलाई सहरले राम्रोसँग झल्काएको हुनुपर्छ। तर, हाम्रा सहर हरेक हिसाबमा पछि परेका छन्। पुर्खाले यति धेरै सम्पति दिँदा पनि त्यसको संरक्षण हामीले गर्न सकेनौं। प्रकृतिले दिएको वरदानलाई अपमान गर्‍यौं। 

तपाइँ लामो समयदेखि नेताहरूसँग राजनीतिक परिवर्तन र विकासको बारेमा वहस र पैरवी गर्दै आउनुभएको छ, हाम्रा नेताहरुमा विकासको भिजन नभएको हो ? 
भिजन पनि छैन, आत्मविश्वास र दृढता पनि छैन। त्यसैले अहिलेसम्म कुनै राम्रो काम गर्न सकेनन् नेताहरूले। उनीहरूमा क्षमता पनि भएन। भाषण गरेर र विदेशी मुलुकसँग दाजेर मात्रै यतिका समय गुजारे। अब त विकास गर्लान् भनेर जनताले आस गर्छन्। तर, नेताहरूको चाला उस्तै छ। ‘मेरो मुलुकलाई म बनाउँछु’ भन्ने सपना नेताहरूमा छँदै छैन। भरौटे कार्यकर्ता मात्रै पालेर बसे नेपालका नेताले। सबैभन्दा ठूलो कुरा हाम्रा नेताको बोलीमा विश्वास भएन। उहिलेका नेता पनि गफाडी थिए, अहिलेका पनि उस्तै छन्। मेरो विचारमा नेताहरूमा गफै मात्रै बढी भयो, विकासको नाममा सिन्को पनि भाँचेनन्। विकास नहुनुको मूल कारण नेतृत्वमा विकास गर्ने सोच नहुनु हो। लोभ लालच बढ्नु हो। भ्रष्टाचार गर्नु हो, जनतालाई दुःखमात्रै दिनु हो। नेताहरु आज जुन किसिमले चल्नुपथ्र्यो, त्यही अनुसार चल्न सकेनन्। त्यसकारण नेपालमा विकासको युग नै सुरु भएको छैन। 

‘नेताहरूमा भिजन पनि छैन, आत्मविश्वास र दृढता पनि छैन। त्यसैले अहिलेसम्म कुनै राम्रो काम गर्न सकेनन्। उनीहरूमा क्षमता पनि भएन। भाषण गरेर र विदेशी मुलुकसँग दाजेर मात्रै यतिका समय गुजारे। अब त विकास गर्लान् भनेर जनताले आस गर्छन्। तर, नेताहरूको चाला उस्तै छ।’

भनेपछि राजनीतिक परिवर्तनका लागि लडेका नेताहरूमा विकासको भिजन भएन, अब उनीहरुले विश्राम लिनुपर्छ र नयाँलाई पालो दिनुपर्छ, भन्ने तपाइँको विचार हो ?
त्यो पनि हो। तर, सबै नेताले विश्राम लिनु पर्दैन। हामीकहाँ एकदमै भिजन भएका नेताहरू पनि छन्। तर, उनीहरूले ठाउँ पाएनन्। राणाकाल, राजतन्त्र र त्यहीपछि आएको जननिर्वाचित नेतृत्वको सरकारले पनि विकासको कुनै गुरुयोजना बनाउन सकेन। राजनीति पेरिफेरीमा मात्रै रमाउन चाह्यो। यद्यपी केही नेताहरूले भने काम गरेका छन्। तर, समय र परिस्थितिसँगै राजनीतिक परिवर्तन भइरहँदा विकासका योजनालाई निरन्तरता दिइएन। पार्टीपिच्छे विकासका योजना फरक–फरक ल्याइए। पूराना योजनालाई निरन्तरता दिनुको साटो चटक्क छाडिए। विकासका काम गर्दा एक–अर्कामा समन्वय गरिएन। दुरदर्शिता राखेर योजना सञ्चालन भएनन्। सहरीया जनजीवनलाई सहज बनाउने व्यवस्था हामीकहाँ भएन। 

सहर किन अव्यवस्थित भए ?
हामीकहाँ पुरानो शैलीको पूर्वाधार विकास भयो। अहिले पनि पूर्वाधार निर्माणका काम गर्दा सहरको मौलिकता र ऐतिहासिक पक्षलाई हेरिएकै छैन। राज्यले सहरलाई उचित किसिमबाट विकास गर्न नसक्दा सहर अव्यवस्थित भएको हो। 

घुमेकामध्ये मनपरेको सहर कुन हो ?
मलाई जापानको टोकियो ज्यादै राम्रो लाग्यो। त्यहाँ अनुशासन छ। कोही पनि अराजक देखिँदैनन्। सबैखाले सुविधा छन् त्यहाँ। चारैतिर सफा पारिएको छ। सहरमा देखिने हरेक कुरा नयाँ लाग्छन्। 

नेपालभित्र मनपरेको सहर ?
नेपालभित्र त्यस्तो मैले सहर नै देखेको छैन। सबैतिर अस्तव्यस्त र भद्रगोल मात्रै लाग्छ।

भनेपछि तपाईँलाई मनपर्ने सहर नेपालमा बनेका छैनन् ?
त्यति साह्रै मन नपर्ने पनि होइनन्। तर, यहाँका सहरको नीति नियम हेर्दा त्यस्तो सहर छैन भनेको हुँ। अहिलेसम्मको अवस्था हेर्दा पोखरा सफा छ। पोखरालाई नेपालीमात्रै नभएर विदेशीले पनि मन पराउँछन्। यो सहरमा छुट्टै दृश्य र मनोरञ्जन लिन पाइन्छ। प्राकृतिक सुन्दरता, फेवाताल, प्याराग्लाइडिङ, गुफा पोखराका मुख्य आकर्षण हुन्। यी चिजले धेरैलाई पोखरामा तानेको छ। पोखरामा घुम्ने र आनन्द लिने पर्याप्त ठाउँहरू छन्। 

काठमाडौं कस्तो लाग्छ ?
काठमाडौं आफैंमा फरक सहर हो। यहाँको हावापानी, ऐतिहासिकता संसारका अरु सहरमा पाइन्न। तर, यति सुन्दर ठाउँलाई हामीले ‘कवाड’ बनायौं। सरकारकै गैर–जिम्मेवारीका कारण काठमाडौं फोहर बनेको हो। धराप सडक, पार्किङ सुविधा, बिजुलीका तार, ट्राफिक जामलगायत विषयमा सहरवासीका मुख्य समस्या हुन् अहिले। 

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ? 
मेरा परिकल्पनाको सहरभित्रको विमानस्थल व्यवस्थित होस्। विदेशीहरुको पहिलो पाइला पर्ने ठाउँ एयरपोर्ट भएकाले नेतृत्वको ध्यान त्यसमा पुगोस्। सडकको संरचना राम्रो होस्। टाफिक व्यवस्था राम्रो होस्। सहरी संरचनामा एकरूपता होस् ताकि त्यहाँ मौलिकता झल्कियोस्। म बसेको सहरले आम नागरिकका आवश्यकता पूरा गर्न सकोस्। कसैलाई पनि अन्याय नहोस्। सहरको नेतृत्व इमान्दार र नैतिकवान होस्, जसले कुशल कार्य प्रर्दशन गर्न सकिरहोस्। 

विदेशका सहर घुम्दा कस्ता सुविधाहरू देख्नुभयो ?
सपिङ सेन्टर, ठुल्ठूला हरियाली पार्क, व्यववस्थित सार्वजनिक यातायात, सबैतिर सफा–सुग्घर, मौलिक शैलीको संरचना निर्माणलगायत पक्ष मलाई मनपर्‍यो। त्यहाँका सहर नीति नियमले चलेका छन्। प्रविधिको भरपूर प्रयोग भएको छ। समयको परिपालना पनि त्यहाँ राम्ररी गरिएको छ। अधिकांश सहर आधुनिक सहरको अवधारणा अनुरूप विकास भएका छन्। मौलिकतालाई जतन गरेर राखिएको छ। 

सरकारले कसरी काम गर्दा सहर व्यवस्थित होला ?
यहाँको सडक व्यवस्थित पार्ने, ट्राफिक व्यवस्थापन गर्ने, फोहोर समयमै उठ्ने गरी नियम बनाउने, सरकारी सेवा सुविधालाई चुस्त बनाउने, देशभित्र भएका सम्भावनाको अध्ययन गर्नेलगायत कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो भने हाम्रा सहर पनि व्यवस्थित नै बन्छन्। 

उपत्यकाको मनपर्ने पक्ष के हो ? 
उपत्यका मौलिक र ऐतिहासिक सहर हो। यहाँका मानिसका संस्कृति मलाई मनपर्छ। ज्यापु जातिको संस्कृतिप्रति मेरो झुकाव छ। मौसम र ऐतिहासिक मठ–मन्दिर, पाटी पौवा ज्यादै मनपर्छ। मठ–मन्दिर हाम्रा मुख्य सम्पत्ति पनि हुन्। 

यहाँको मन नपर्ने पक्ष के हो ? 
फोहर, धुवाँधुलो, ट्राफिक जाम, खाल्डाखुल्डी सडक, अव्यवस्थित पार्किङलगायत पक्ष मन पर्दैन। 

घुम्न मन लागिरहने सहर ?
भक्तपुर मलाई राम्रो लाग्छ। बेला–बेलामा त्यहाँ पुगेको हुन्छु। पोखरा पनि राम्रो लाग्छ। 

सहरकोे मनपर्ने स्वाद के हो ? 
मलाई नेपाली खाना दाल, भात र तरकारी नै मनपर्छ। त्यसमाथि गुन्द्रुकको अचार अझ मिठो लाग्छ। कहिलेकाहीँ ढिडो पनि खान्छु। 

मन भएर पनि पुग्न नपाएको ठाउँ ? 
मलाई घुम्न मन लागेको सहर स्पेनको ‘मेड्रिड’ सहर हो। समय र अवसर जुर्‍यो भने त्यहाँ पनि पुुग्ने सोच राखेको छु। एकपटक त्यहाँ पुगेको थिएँ। फेरि जान मन लागेको छ। स्पेनका युवतीहरू एकदमै सुन्दर हुन्छन्। ‘हाइटी’, ‘स्लिम’ र ‘ब्युटी’ हुन्छन्। उनीहरूको ‘लुक्स’ मलाई मनपर्छ। 

पछिल्लो समय घुमेको सहर ?
बेइजिङ पुगेको थिएँ। धेरै राम्रो लाग्यो। 

प्रस्तुति  : शिवहरि घिमिरे

प्रकाशित: ७ फाल्गुन २०७५ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App