६ वैशाख २०८१ बिहीबार
समाज

‘गरिबलाई के को दसैं’

न्युरोडबाट भारी बोकेर सुन्धारातिर हिडिरहेका रामेछापका मकरे लामा तस्बिरः खिलक बुढाथाेकी

काठमाडौं– दसैंले छपक्कै छोपिसक्यो । राजधानीबाट दसैं मनाउन घर फिर्नेको लर्को छ । घर फिर्ने तयारीमा रहेकाहरू किनमेलमा व्यस्त छन् । राजधानीका बजार, सडकपेटी सबैतिर घुइँचो छ । किनमेल गर्नेको भिड छिचोलिसक्नु छैन ।

व्यापारिक केन्द्र महाबौद्ध, न्युरोड, सुन्धारातिर पाइलो टेक्ने ठाउँ छैन । सरसामान किन्ने, छोराछोरीलाई नयाँ लुगा किनिदिने, मोलमोलाइ गर्ने, सामान च्यापेर हिँड्नेको लर्कोले ठेलेर छेउ पु¥याइदिन्छ । तर दसैंको यस्तो चहलपहल र रौनकले हाम्रो समाजका दैनिक मजदुरी गरि हातमुख जोर्ने, विपन्न र निमुखा तप्कालाई भने छोएको छैन ।

न्युरोड प्रवेशद्वारबाट महाबौद्ध जाने बाटोको रौनकले ५६ वर्षका मकरे लामालाई भने छोएको छैन । झुस्स फुलेका दारी, मलिन मुहार, सुर्किएको पाइन्ट, निलो ज्याकेट र चप्पल लगाएका उनको शिरमा नाम्लो अनि साहूको सामानको भारी । रामेछापका मकरेलाई दसैंमा कुनै किनमेल गर्नु छैन । बरु अरुले सामान किने आफूले बोक्न पाइएला वा नपाएला भन्ने पीर छ उनलाई ।
घर फिरेर परिवारसँगै दसैं मनाउने रहर मकरेलाई पनि नभएको होइन । रहर हुँदाहुँदै पनि उनी यसपाला दसैंमा घर जाने छैनन् । ‘घर जाने त भनेको तर कमाउनै सकिएन, कुन मुख लिएर जानु,’ मकरेले भने, ‘चाडपर्व भनेको पैसा भए हुने त हो । हामी जस्तालाई के को दसैं ?’ दसैंमा नगए पनि तिहारमा भने घर जाने सोचमा छन् उनी ।

मकरेले महाबौद्ध र न्युरोड क्षेत्रमा भारी बोक्न थालेकोे ६ वर्ष भयो । त्यसअघि उनी गाउँमै ज्यामी काम गर्थे । उनका एक छोरा र एक छोरी छन् । छोराछोरी दुवै चरिकोटमा काम गर्छन् । छोरा भरीया र छोरी अरुको घरमा काम गर्ने अनि पत्नी गाउँमै मजदुरी गर्छिन् ।

‘कहिल्यै राम्रोसँग दसैं मनाउन पाएकै छैन,’ मकरेले विगत सम्झिए, ‘यस वर्ष त घरै जान नसकिने भइयो, के मनाउनु ।’ ६ महिनाअघि मकरेले कमाएको पैसा घर पठाए । केही रकम चोरी पनि भयो । त्यसैले घर जान खर्च नभएको सुनाए उनले । दैनिक २ देखि ५ सय रुपैयाँ कमाउने मकरेले भने, ‘बुढो भनेर भारी बोक्न लगाउँदैनन् ।’ उनका अनुसार सबै पसलले काम गर्ने मान्छे राखेकाले फाट्टफुट्ट काम गर्नेले काम पाउन गाह्रो भएको छ ।

३० वर्षदेखि रिक्सा चलाउँदै आएका खोटाङका ५१ वर्षे रामबहादुर राईलाई पनि दसैंको कुनै चटारो छैन । बरु उनलाई रिक्सा चलाउने चटारो छ । ‘दसैं भन्दा काम पो ठूलो,’ राईले भने, ‘एक दिन काम नगरे खानै पाइँदैन ।’ राईको परिवार भने राजधानीमै भएकाले उनी गाउँ जानुपर्दैन ।

‘आवश्यक सरसामान किन्न घरमा १० हजार दिइसकेँ,’ राईले भने, ‘काम भेटिएसम्म गर्नुपर्छ ।’ टीकाको दिन पनि टीका लगाएपछि भेटे काम गर्ने विचारमा छन् उनी । उनले दैनिक सरदर हजार रुपैयाँ कमाए पनि महँगीले बचाउन नसकेको सुनाए ।

सिन्धुलीकी सरिता क्षत्री पनि सुन्धारा–तीनचुली रुटमा टेम्पो चलाउन व्यस्त छिन् । ‘हामीलाई के को दसैं लाग्नु ? दसैं त हुनेखानेका लागि हो,’ उनले भनिन्, ‘पीर त यात्रु पाइएला÷नपाएला भन्ने हुन्छ ।’

यसै वर्ष टेम्पो चलाउन थालेकी सरिता टेम्पोधनीले चलाऊ भने टीकाको दिन पनि टेम्पो गुडाउने सुरमा छिन् । दसैंको रौनकले छपक्कै छोपे पनि सरितालाई छुन सकेको छैन । सरिता मात्रै नभएर उनीजस्ता गरिखाने वर्गलाई भने दसैं आएको छैन् ।


 

प्रकाशित: २१ आश्विन २०७३ ०२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App