६ वैशाख २०८१ बिहीबार
समाज

भाटभटेनीले टिचिङमा अर्को भवन बनाइदिने

काठमाडौं - दस वर्षअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्ष निर्माण गरिदिएको भाटभटेनी सुपरमार्केटले सोही अस्पतालमा अर्को भवन बनाइदिने भएको छ। अस्पतालको आकस्मिक कक्षसँग जोडिएको स्थानमा भाटभटेनीले नौतले भवन बनाउने तयारी गरेको अस्पताल प्रशासनले जनाएको हो। यस विषयमा भाटभटेनीसँग लिखित सम्झौताको प्रक्रिया अघि बढेको अस्पतालका प्रशासक सूर्यप्रसाद अधिकारीले बताए।

‘भाटभटेनी सुपरमार्केटका मीन गुरुङसँग भवन बनाउने सम्बन्धमा सहमति भइसकेको छ। प्रक्रियागत काम अघि बढिरहेको छ,’ प्रशासक अधिकारीले नागरिकसँग भने। भवन निर्माणपछि अस्पताललाई हस्तान्तरण गर्नेगरी काम अघि बढेको उनले बताए। नयाँ भवनमा विस्तारित बहिरंग सेवा, आकस्मिक कक्षको विस्तार, औषधि पसल, भोजनालय र हेलिप्याड सुविधा रहनेगरी खाका तयार पारिएको छ। नयाँ भवन निर्माण गर्न निर्माणस्थलमा रहेका टहरा तथा पुरानो भवन भत्काउने काम सम्पन्न भइसकेको छ। ‘आठदस दिनमा भवन डिजाइनको अन्तिम चरणको काम अघि बढ्छ। अहिले टहरा भत्काउने र पुरानो ढल व्यवस्थापन गर्ने काम भइरहेको छ,’ अधिकारीले भने।

नयाँ भवनमा विस्तारित बहिरंग सेवा, आकस्मिक कक्षको विस्तार, औषधि पसल, भोजनालय र हेलिप्याड सुविधा रहनेगरी खाका तयार पारिएको छ।

भवन निर्माणका लागि त्रिवि शिक्षण अस्पतालका पूर्वनिर्देशक डा. दीपक महराकै पालामा दुई वर्षअघि प्रस्तावमाथि छलफल भएको थियो। सो छलफलका आधारमा प्रक्रिया अघि बढिरहेको अस्पतालका मेडिकल अफिसर कुमार केसीले बताए। यसअघि निर्माण भएको आकस्मिक कक्षको लागत १३ करोड थियो। अब बन्ने भवन सो आकस्मिक कक्षभन्दा बढी लागतको हुने केसी बताउँछन्। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले अस्पताललाई आकस्मिक कक्ष विस्तार, बिरामी कुरुवा कोठा, हेलिप्याडसहितको भवन निर्माण गर्ने इच्छा रहेको बताए। ‘तर यो दुई कुरामा अस्पताल सहमत भइरहेको छैन,’ सञ्चालक गुरुङले आइतबार नागरिकसँग भने। अस्पतालले चाहेको विस्तारित बहिरंग सेवा भवन अहिलेकै भवनमा चलिरहेका कारण आकस्मिक कक्षकै लागि प्राथमिकतामा राख्नु उचित भएको उनको तर्क छ।

सुपरमार्केटले सो प्रस्ताव दुई वर्षअघिदेखि नै राखेको भए पनि प्रशासक फेरिइरहेका कारण फरक मत आउँदा काम ढिला भइरहेको गुरुङले बताए। ‘हामी दस महिनामा भवन निर्माण कार्य पूरा गरी हस्तान्तरण गर्ने पक्षमा छौं,’ उनले भने, ‘अहिले पनि आकस्मिक कक्षमा एउटै शड्ढयामा तीनजना बिरामी सुतेको अवस्था छ। यही सेवालाई विस्तार गरे बिरामीलाई राहत हुन्थ्यो।’ कुरुवा पेटीमा सुत्नुनपरोस् भन्ने आफूहरुको इच्छा रहेको गुरुङले बताए। पहिलाको आकस्मिक कक्षभन्दा साँघुरो जग्गामा भवन निर्माण गर्नुपर्ने भएकाले धेरै तलाको बनाउनुपर्ने भएको उनले बताए। ‘नगरपालिकाले अनुमति दिए दस तलाकै भवन बनाउन तयार छौं,’ उनले भने। भवन निर्माणमा कति खर्च लाग्छ भन्ने विषयमा अस्पतालसँगको थप छलफल, निर्माण कम्पनीसँगको सम्झौतापछि यकिन हुने गुरुङले बताए।

एक वर्षअघि नै निर्माण प्रक्रिया थाल्ने भनिए पनि अस्पताल हातामा रहेका फार्मेसी भवनहरुको टेन्डर अवधि बाँकी रहेकाले भत्काउन मिलेको थिएन। यो वर्ष टेन्डर अवधि समाप्त हुनासाथ अस्पतालले टहरा र भवन दुवै भत्काउन सुरु गरेको हो। गुरुङले दस वर्षअघि आफ्ना स्वर्गीय मातापिता बृषबहादुर गुरुङ र धनमाया गुरुङको स्मृतिमा सो आकस्मिक कक्ष निर्माण गरी सफाइ व्यवस्थापन आफैं गर्दै आएका छन्।

प्रकाशित: ७ फाल्गुन २०७५ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App