coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हिमालयको जहाज ग्राउन्डेड गराइने

काठमाडौं – अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एअरलाइन्सले विमानस्थल प्रयोगबापतको शुल्क नतिरेपछि जहाज ग्राउन्डेड गराइने भएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार यो हप्ताभित्र बक्यौता रकम नबुझाए अर्को हप्ताबाट जहाज ग्राउन्डेड गराइनेछ। बक्यौता र विलम्ब शुल्क गरेर हिमालयले झण्डै २० करोड रुपैयाँ विमानस्थललाई बुझाउन बाँकी छ। एअरलाइन्सले २०१८ जुलाइदेखि विमानस्थल प्रयोगबापतको शुल्क तिरेको छैन। बक्यौता २६ करोडभन्दा बढी पुगेपछि विमानस्थल कार्यालयको बारम्बार ताकेतापछि ६ करोड ४० लाख रकम बीचमा बुझाएको थियो।

बाँकी रकम पनि तिर्न ताकेता गरे पनि आनकानी गरेपछि विमानस्थल कार्यालयले एअरलाइन्सलाई पछिल्लो सयम बक्यौता बुझाउन माघ ४ गते एक महिनाको समय दिएर पत्राचार गरेको थियो। पत्रअनुसार फागुन ४ गते पनि बक्यौता चुक्ता नगरेपछि जहाज ग्राउन्डेड गर्ने चेतवानीसहित फेरि पत्राचार गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
‘यसपटक हामीले बक्यौता बुझाउन मात्रै भनेका छैनौं,’ विमानस्थलका महाप्रबन्धक क्षत्रीले भने, ‘जहाज ग्राउन्डेडसम्मको चेतावनी दिएका छौं।’ उनका अनुसार एअरलाइन्स कम्पनीले रकम बुझाउन प्रतिबद्धता गरिरहने तर, रकम नबुझाउने गर्दै आएको छ। ‘आज (सोमबार) पनि एअरलाइन्स कम्पनीले बक्यौता रकम चाँडै बुझाउने मौखिक प्रतिबद्धता गरेको छ,’ उनले भने, ‘प्रतिबद्धता पूरा नगरे यो अन्तिम मौका हो।’ 

उनका अनुसार यो हप्ताभित्र बक्यौता रकम नबुझाए अर्को हप्ताबाट कानुनी कारबाही थालिनेछ। जहाज उडान डिले गराउनेदेखि जहाज ग्राउन्डेडसम्म कारबाही गराउने अधिकारी कार्यालयसँग छ।
नेपाल र चीनको संयुक्त लगानीमा २०१४ मा एअरलाइन्सको स्थापना भएको थियो। २०७३ जेठबाट उडान थालेको एअरलाइन्ससँग तीनवटा जहाज छन्। हिमालयले मलेसियाको क्वालालम्पुर, साउदी अरबको दमाम, युएईको दुबई र कतारको दोहामा नियमित उडान गर्दै आएको छ। 

बक्यौता रकम नबुझाएको खण्डमा भने सबै उडान बन्द गराएर जहाज ग्राउन्डेड गर्ने विमानस्थल कार्यालयले तयारी गरेको छ। एअरलाइन्स कम्पनीहरूले विमानस्थललाई सेवा शुल्कअन्तर्गत विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाइ परिवहन सञ्चालन उपकरण प्रयोग शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क बुझाउनुपर्छ। 
यसअघि पुस २० गते मात्रै विमानस्थल प्रयोगबापतको शुल्क नतिरेको भन्दै सौर्य एअरलाइन्सको जहाज ग्राउन्डेड गराइएको थियो। विमानस्थल कार्यालयलाई चार करोड बक्यौता तिर्न नसक्दा आन्तरिक उडान गर्ने सौर्यका दुइटा जहाज थन्किएर बसेका छन्।

बक्यौता नतिर्नेमा आधा दर्जन एअरलाइन्स
विमानस्थल प्रयोगबापत बक्यौता नतिर्नेमा चालु अवस्थामा हिमालय र सौर्य एअरलाइन्स मात्रै छैनन्। बन्द अवस्थामा रहेका झण्डै आधा दर्जन एअरलाइन्स कम्पनीले झण्डै आधा अर्ब बक्यौता बुझाउन बाँकी छ।
विमानस्थललाई बक्यौता नतिर्नेको अग्रपंक्तिमा मलेसियाको एअर एसिया छ। एअर एसियाले असोज अन्तिम साता नेपालको उडान बन्द गरेको छ। विमानस्थल प्रयोग शुल्क भने चुक्ता गरेको छैन। एअर एसियाले २१ करोड १८ लाख रुपैयाँ बुझाउन बाँकी छ।

बक्यौता नबुझाएपछि नेपालबाट अन्तिम उडान गर्दा विमानस्थलले जहाज नै रोक्ने प्रयास पनि गरेको थियो। कम्पनीले बक्यौता चुक्ताको प्रतिबद्धता तथा नेपालस्थित मलेसियन दूतावासले रकम उठाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपछि जहाज छोडिएको थियो। विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार एअर एसियाको बक्यौता विलम्ब शुल्क हो। कम्पनीले अहिलेसम्म उक्त शुल्क बुझाएको छैन।

त्यसैगरी, गल्फ एअर, किङफिसर एअरलाइन्स, बहराइन एअरलाइन्स, बन्द भइसकेको कस्मिक र नेकोन एअरलगायतले पनि विमानस्थललाई बक्यौता तिरेका छैनन्। यी कम्पनीले बारम्बार ताकेता गर्दा पनि अटेर गरिरहेको विमानस्थल कार्यालयको भनाइ छ।
कस्मिकले तीन करोड ३३ लाख रुपैयाँ तिरेको छैन। नेकोनले चार करोड ६३ लाख र गल्फ एअरले दुई करोड २२ लाख रुपैयाँ बुझाउन बाँकी छ। किङफिसरले एक करोड ११ लाख तिरेको छैन। सबैभन्दा कम बहराइन एअरलाइन्सले २४ लाख रुपैयाँ बुझाउन बाँकी छ।

महाप्रबन्धक क्षत्रीका अनुसार कतिपय कम्पनी सम्पर्कमै छैनन्। सम्पर्कमा भएका कम्पनीलाई ताकेता गरिरहेको उनले बताए। ‘सम्पर्कमा हुनेसँग ताकेता गरिरहेका छौं,’ उनले भने, ‘एअरलाइन्स बन्द भए पनि बक्यौता कसैलाई छुट हुँदैन।’ उनका अनुसार पछिल्लो समय ताकेता गरेरै धेरै एअरलाइन्सको बक्यौता उठाउने काम भइरहेको छ।

प्रकाशित: ७ फाल्गुन २०७५ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App